राज्यकोषमा भीआईपीको दोहन- झलनाथदेखि रामवरणसम्म कसले कति लिए (सूचीसहित) – Nepal Press

राज्यकोषमा भीआईपीको दोहन- झलनाथदेखि रामवरणसम्म कसले कति लिए (सूचीसहित)

काठमाडौं । नाम र दाम कमाएका ‘भीआईपी’ ले राज्यको कोषमा र्‍याल काढ्ने र सरकारमा रहेकाहरूले मन फुकाएर बाँड्ने क्रम फेरि सुरू भएको छ । राज्यकोषबाट नेताहरूले उपचार खर्च लिने कुराको तीब्र विरोध भएपछि केही समय यो रोकिए पनि यो आर्थिक वर्षमा मात्रै ३ करोड रूपैयाँभन्दा बढी आर्थिक सहायता बाँडिएको छ ।

राज्य कोषबाट साउनदेखि मंसिरसम्म बाँडिएको आर्थिक सहायता लिनेमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पहिलो नम्बरमा छन् । खनालले दुईपटक गरेर उपचार खर्चबापत ५८ लाख ५३ हजार रूपैया लिएका छन् ।

अर्थ मन्त्रालयले विविध खर्च शीर्षकमा रकमान्तर गरेर परराष्ट्र मन्त्रालयमार्फत दिल्लीस्थित नेपाली दूतावासमा सो रकम खनालको उपचार खर्च व्यवहोर्न पठाएको हो । खनाल अब फेरि उपचारका लागि चीन जाने तयारीमा छन् । उनले आफूसँग पैसा नभएको भन्दै राज्यकोषबाट खर्च लिने यसअघि नै बताइसकेका छन् ।

पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई नपुग्दो केही पनि छैन । उनी आफैं सम्पन्न व्यक्ति हुन् भने सरकारले दिएको घरमा बसिरहेका छन् । पटक-पटक सरकारबाट आर्थिक सहायता बुझ्दै आएका यादवले यही मंसिरमा थप १० लाख रूपैयाँ गृहमन्त्रालयमार्फत आर्थिक सहायता शीर्षकमा बुझेका छन् ।

वागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंसिर महिना नै उपचार खर्च शीर्षकमा कुरुवाको खर्चसमेत बुझेका छन् । उनले बिलबमोजिम पहिलो चरणमा १२ लाख ९० हजार बुझेको अर्थमन्त्रालयले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ ।

त्यस्तै पूर्वमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तसहित तीनजनाले २७ लाख रूपैयाँ आर्थिक सहायता लिएको अर्थको विवरणमा उल्लेख छ । नेकपा एसका नेता तथा पूर्वमन्त्री प्रदीप नेपाल र रामेछाप गेलुकी मैया भुजेलका नाममा गृहमन्त्रालयमार्फत एकैपटक १४ लाख रूपैयाँ निकास भएको छ ।

अरु कसले कति बुझे ? यो लिंकमा गएर हेर्न सकिन्छ ।

१. झलनाथ खनाल-५८ लाख ५३ हजार

२. डा.रामवरण यादव- १० लाख

३. यादवचन्द्र शर्मा- १२ लाख,९० हजार

४. प्रदीप नेपालसहित २ जना-१४ लाख

५. रघुजी पन्तसहित ३ जना-२७ लाख

६. बोधप्रसाद घिमिरे,झापा दमक-१ लाख

७. राजबहादुर शाही मुगु-७ लाख

८. पदम बुढा, जुम्ला- ७ लाख

९. जीवनकुमार राई, विराटनगर-तीन लाख

१०. निर्भिका टुहुरे- ८ लाख ३० हजार

११. गुरुमा धम्मासति ४६ हजार ८२३

१२. खरिदार रिना लामा ४५ हजार

१३. रामबहादुर साउँदसमेत ५९ लाख ९ हजार

१४. कुमार खड्कासमेत १४ लाख

१५. घन कटवालसमेत १० लाख

१६. ज्ञानबहादुर रोकायासमेत ८ लाख

१७. नानिबाबु खड्का ५ लाख


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर