कजाकिस्तान संकट गहिरियो : हिंसामा उत्रने प्रदर्शनकारीलाई गोली हान्न राष्ट्रपतिको आदेश – Nepal Press

कजाकिस्तान संकट गहिरियो : हिंसामा उत्रने प्रदर्शनकारीलाई गोली हान्न राष्ट्रपतिको आदेश

इन्धनको मूल्यविरुद्ध कजाकिस्तानमा चर्किएको आन्दोलन उग्र बनेको छ । प्रदर्शन मत्थर पर्न रुसी सेना पनि मुलुक प्रवेश गरिसकेको छ । यस्तोमा परिस्थिती बिग्रिँदै गएपछि राष्ट्रपति कसिम जोमार्ट तोकायेवले हिंसामा उत्रने प्रदर्शनकारीलाई देख्ने वित्तिकै गोली हान्न आदेश दिएका छन् । उनले अपराधी र हत्यारासँग संवाद हुन नसक्ने बताएका छन् ।

‘हामीलाई स्थानीय र हतियारबद्ध डाँकुहरुविरुद्ध लड्नु छ । यसकारण उनीहरुलाई खतम गर्नु आवश्यक छ’ राष्ट्रपतिले भने । त्यहाँको सरकारका अनुसार हिंसामा अहिलेसम्म २६ प्रदर्शनकारी र १८ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । अहिलेसम्म ३ हजारभन्दा बढीलाई हिरासतमा लिइएको छ ।

राष्ट्रपति तोकयेवले कजाकिस्तान सेनाले मुलुकका अधिकांश क्षेत्र नियन्त्रणमा लिएको समेत बताएका छन् । यी क्षेत्रमा संवैधानिक व्यवस्था समेत लागू गरिएको छ ।

सबैभन्दा ठूलो विरोध प्रदर्शन अलमाटी सहरमा भैरहेको छ । जब सुरक्षाकर्मीले सहरको एक चोकलाई खाली गर्न आदेश दिएपछि सर्वसाधारण एउटा भवनमा भेला भएका थिए । त्यहाँको भित्तामा लेखिएको थियो –हामी अलमाटीबासी हौं, आतंकवादी होइनौं ।’

तर, सरकारले उक्त चोक खाली गराएको बताएको छ । राष्ट्रपति तोकायेवले एक बयानमा शान्ति र स्थिरताको लागि राष्ट्रिय एकताको जरुरी रहेको बताएका छन् ।

देशको परिस्थिती बिग्रँदै गएपछि राष्ट्रपति तोकायेवले कलेक्टिभ ट्रिटि अर्गनाइजेसन (सीएसटीओ)सँग मद्दत मागेका छन् । यो अर्गनाइजेसनमा रुस, अर्मेनिया, बेलारुस, कजाकिस्तान, किर्गिस्तान र ताजिकिस्तान सहभागी छन् ।

गत मंगलबार सरकारले एलपीजी ग्याँस खरिदमा लाग्दै आएको सीमालाई हटाएर कम्पनीलाई जिम्मा दिएको थियो । जसलाई लिएर मुलुकभर प्रदर्शन सुरु भएको हो । मांगिस्ताऊ प्रान्तदेखि सुरु भएको आन्दोलन क्रमशः मुलुकभर फैलिएको थियो ।

प्रदर्शन चर्किएपछि बुधबार प्रधानमन्त्री अस्कर ममिनले राष्ट्रपति तोकायेवसमक्ष राजीनामा दिएका छन् । राष्ट्रपतिले अलीखान समाईलोवलाई कार्यवाहक प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । ५ जनवरीदेखि १९ जनवरीसम्म मुलुकमा संकटकाल लागू गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर