एमालेका जिल्ला अधिवेशनमा सहमतिको सकस, चुनावमा प्यानल बनाउन नपाइने – Nepal Press

एमालेका जिल्ला अधिवेशनमा सहमतिको सकस, चुनावमा प्यानल बनाउन नपाइने

काठमाडौं । शुक्रवार एकैपटक उद्घाटन भएको नेकपा एमालेका जिल्ला अधिवेशनमा नेतृत्वको लागि सहमतिको प्रयास भइरहे पनि धेरै ठाउँमा निर्वाचनको तयारी भएको छ ।

नेकपा एकताका कारण लामो समयदेखि जिल्ला अधिवेशन नभएकाले नेतृत्वका लागि एकैपटक धेरै आकांक्षी देखिएपछि सहमति सकसपूर्ण बनेको छ ।

हालसम्म दाङ र पाल्पामा सर्वसम्मत नेतृत्व चयन भए पनि अरु जिल्लामा औपचारिक घोषणा भइसकेको छैन । शुक्रवार अध्यक्ष केपी शर्मा अ‍ोलीले एकैपटक ६३ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए ।

धेरैजसो जिल्लामा शनिवार बन्दसत्र र सहमतिको प्रयास सँगै चलिरहेको उपमहासचिव बिष्णु रिमालले जानकारी दिए । शनिवार रातिसम्म सहमतिबाट धेरै ठाउँमा नेतृत्व चयनको प्रयास हुने र नभएका ठाउँमा आइतवार चुनावी प्रक्रिया शुरु हुने उनको भनाइ छ ।

एमालेले यसपटक जिल्ला अध्यक्षदेखि पदाधिकारीसम्म सर्वसम्मतिको प्रयास गर्न सम्बन्धित जिल्ला इन्चार्जसहितका नेताहरुलाई निर्देशन दिएको छ । पदाधिकारी सहमति हुन सके जिल्ला कमिटी सदस्यमा भने खुला प्रतिस्पर्धा गराउने नीति पार्टीले लिएको छ ।

चुनाव हुने ठाउँमा प्यानल बनाउन नपाइने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । व्यक्ति चुनावमा लड्न सक्ने तर कुनै पनि समूहवन्दी गर्न नपाइने रिजालले बताए ।

यसपटक गुटका आधारमा चुनाव नहुने भएकाले प्यानलबन्दी नहुने उनको भनाइ छ । पदाधिकारीमा अध्यक्ष,उपाध्यक्ष,सचिव र दुई उपसचिव निर्वाचित हुने व्यवस्था छ । उपसचिव एकजना महिला अनिवार्य गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर