थपिँदै आशाको उज्यालो, प्रदेश सरकारको निर्ब्याजी ऋण सुविधाले व्यवसायी उत्साहित
पोखरा । कोरोना भाइरस महामारी फेलिन नदिन नेपाल सरकारले चैतको ११ गतेबाट लकडाउन घोषणा गर्यो । करिब ९ महिना लामो लकडाउनले प्राय सबै क्षेत्र बन्द भए । आर्थिक क्रियाकलपसमेत ठप्पप्रायः भयो ।
कोरोना महामारी र लकडाउनले प्रत्यक्ष रुपमा सबैभन्दा बढी क्षति पर्यटन उद्योगले व्यहोर्यो । चैतको दोस्रो साताबाट लकडाउन भएपनि पर्यटन क्षेत्रमा भने असर अघिबाटै देखिँदै आएको थियो ।
चीनको बुहान सुरु भएको कोरोनाको विश्वयात्राले विदेशी पर्यटक नेपाल भित्रिन छाडेपछि नै नेपाली पर्यटन बजारमा त्यसको प्रभाव देखिन थालेको थियो । पर्यटनमा लगानी गरेका नयाँ तथा पुराना लगानीकर्ताका अर्बौंको लगानी डुब्ने जोखिममा पुग्यो ।
कोरोना महामारीको समयमा पर्यटनको ‘राजधानी’ दाबी गरिएको पोखराको लेकसाइड क्षेत्रसमेत सुनसान बन्यो । आन्तरिक तथा बाह्य पर्यटकले सधैं भरिभराउ हुने उक्त क्षेत्र खाली हुन पुग्यो । यस वर्ष अघिल्ला वर्षहरु झैं मेलामहोत्सव पनि सञ्चालन हुन पाएनन् ।
लामो समयको लकडाउन मंसिरमा अन्त्य भएसँगै पोखरेली पर्यटन बजारमा केही चहलपहल सुरु हुन थालेको छ । विदेशी पर्यटकको उपस्थिति हुन नसके पनि आन्तरिक पर्यटकको चहलपहल सुरु भइसकेकाले व्यवसायी खुसी छन् । लामो समय शिथिल बनेको पर्यटन क्षेत्रमा केही चलायमान हुन थालेपछि पर्यटन व्यवसायी आशावादी बनेका हुन् ।
लकडाउन खुलेसँगै पोखरामा आन्तरिक पर्यटनको घुइँचो बढ्न थालेपछि आफूहरु पनि हौसिएको व्यवसायीको भनाइ छ । ‘अझै पनि कोभिड महामारी अन्त्य हुन सकेको छैन । नेपालमा लकडाउन खुले पनि धेरै देशले खुला गरेको छैन,’ पश्चिमाञ्चल होटल व्यवसायी संघ (हान) अध्यक्ष विकल तुलाचन भन्छन्, ‘तर, यस्तोबेला पनि आन्तरिक पर्यटनको उपस्थितिले केही सकारात्मक आश भने दिइरहेको छ ।’
तुलाचनका अनुसार लकडाउन खुलेपछि पनि छोटो समयमै यसरी आन्तरिक पर्यटकको चहलपहल सुरु होला भन्नेमा व्यवसायीको शंका थियो । ‘व्यापार, व्यवसाय, उद्योग सबै बन्द थियो । विदेशी पर्यटक आउलान् भन्ने अवस्थै रहेन,’ तुलाचनले नेपाल प्रेससँग भने, ‘तर अघिल्ला वर्षहरु जति नभएपनि छोटो समयमै पोखरामा आन्तरिक पर्यटकको उपस्थिति बढ्यो ।’
अघिल्लो वर्षको जनवरीतिर होटलमा ८० प्रतिशतसम्म अकुपेन्सी हुने भएपनि यो वर्ष ३० प्रतिशतसम्म मात्रै पुगेको तुलाचनको भनाइ थियो । ‘पर्यटकको बहाव भनेको जनवरीसम्म धेरै हुन्छ । त्यसपछि विस्तारै जाडो पनि बढ्ने, टे«किङ रुट पनि बन्द हुन थाल्ने भएकाले पर्यटक घट्न थाल्थे,’ उनले भने । चालु महिनामा २० प्रतिशतसम्ममात्रै होटल अकुपेन्सी रहेको उनले जानकारी दिए ।
ट्रेकिङमा छैन रौनक, चिन्तामा व्यवसायी
आन्तरिक पर्यटकको आगमनले होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई केही राहत दिएपनि ट्रेकिङ व्यवसायीलाई भने खुुसी दिन सकेको छैन । पदयात्राका लागि विदेशी पर्यटककै भर पर्नु परेकाले पनि व्यवसायी सन्तुष्ट हुन नसकेका हुन् ।
‘हाम्रो व्यवसाय भनेको विदेशी पर्यटकले नै धान्दै आएको हो । नेपालीहरुबाट पदयात्राको बानी नपर्दासम्म उनीहरुकै भर पर्ने अवस्था छ,’ ट्रेकिङ एजेन्सिस एसोसियसन नेपाल (टान) गण्डकी प्रदेश अध्यक्ष लक्ष्मण बराल भन्छन्, ‘अहिलेको स्थिति हेर्दा सबैभन्दा बढी प्रभावित हामी नै हुने भयौं ।’
पर्यटन वर्ष २०२० लाई लक्षित गरेर ठूलो लगानी गरेको र हाल लगानी नै डुब्ने खतरामा आफूहरु पुगेको ट्रेकिङ एजेन्सिस एसोसियसन नेपाल (टान) गण्डकी प्रदेश हध्यक्ष लक्ष्मण बरालले सुनाए । कोरोना कहका कारण थला परेको ट्रेकिङ व्यवसाय २०२२ सम्म उठ्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘पर्यटन वर्षका लागि हामीले ठूलै लगानी गरेका थियौं । त्यो अनुसार नै हाम्रो अपेक्षा थियो, योजना थियो । तर, कोभिड महामारीले सुरु नहुँदै पलायन हुनुपर्ने अवस्था आयो,’ उनले भने ।
सरकारले पर्यटनका लागि पहिले हिमाल आरोहण र पदयात्रालाई खुल्ला गर्ने भनेता पनि त्यसअनुरुप स्पष्ट नीति नबनाइदिँदा ईच्छुक पर्यटक पनि अलमलमा रहेको बरालको गुनासो छ । ‘अहिले पनि धेरै विदेशी पर्यटक नेपा पदयात्रामा आउन रुचि देखाइरहेका छन् । तर, नेपालका तर्फबाटै स्पष्ट विधान नबनाइँदा आउन सकेका छैनन्,’ उनले भने ।
बरालले पदयात्रा व्यवसायीलाई पलायन हुन नदिन सरकारले समयमै सहज वातावरण बनाउनुपर्ने धारणा राखे । सहयोगको लागि सरकारको मुख ताकेर बस्न सक्ने स्थितिमा नरहेको र बरु व्यवसाय नै चलायमान बनाउन स्पष्ट योजनाको पर्खाइमा रहेको उनी बताउँछन् । नेपाल प्रेससँग उनले भने, ‘सधैं सरकारसँग हात थापेर पनि हुँदैन । व्यवसायीलाई बचाउन पोलिसी मेकिङ तहबाटै केही योजना आउन जरुरी छ ।’
‘प्रदेश सरकारको ‘निर्ब्याजी ऋण’ले उत्साहित छौं’
व्यवसायीको जीवन रक्षा गर्ने भन्दै गण्डकी प्रदेश सरकारले निब्र्याजी ऋणको व्यवस्था गरेको छ । साना तथा मझौला व्यवसायीलाई लक्ष्य गरी नेपाल राष्ट्रबैंकको सहकार्यमा प्रदेश सरकारले ५० हजारदेखि १५ लाख रुपैयाँसम्मको निब्र्याजी ऋणको व्यवस्था गरेको हो ।
३ वर्षे अवधिसहितको उक्त निब्यार्जी कर्जा व्यवस्थाले आफूहरुमा उत्साह थपेको पर्यटन व्यवसायीले बताएका छन् । ‘संघ सरकारले सधैं ठूला व्यवसायीलाईमात्रै हे¥यो । पर्यटन व्यवसाय भनेको साना, मझौला, ठूला सबैको उत्तिक्कै महत्व हुन्छ,’ पोखरा पर्यटन परिषद् निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेलले भने, ‘यस्तोबेला प्रदेश सरकारले अभिभावकीय भूमिका निभाएको छ । हामी उत्साहित छौं ।’
प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमै उल्लेख गरी १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोषको स्थापना गरेको थियो । प्रदेशले मंगलबारबाट उक्त कोष कार्यान्वयन सुरुआत गरेको छ ।
कोरोना महामारी प्रभावका कारण पोखराको जति पर्यटक क्षमता छ, त्यसको आधा पर्यटक पनि नआइरहेको समयमा निब्र्याजी ऋण व्यवस्थाले व्यवसायीलाई पलायन हुनबाट रोक्ने आशा पोखरेलको छ । उनले भने, ‘केही आन्तरिक पर्यटकको फाटफुट आगमन हुँदैछ । यतिले पनि हामी कन्फिडेन्ट हुन सक्ने अवस्था छैन । यस्तोबेला सहयोगका लागि प्रदेश सरकारसँग गुहार मागेका थियौं । सरकारले हाम्रो भावना बुझेको छ ।’
पश्चिमाञ्चल होटल व्यवसायी संघ अध्यक्ष विकल तुलाचन पर्यटकीय होटल व्यवसायका लागि कोष थोरै रकम भएपनि त्यसले सकारात्मक प्रभाव पार्ने बताउँछन् । ‘१ वर्ष त हामी पूरा थलियौं । उठ्न अझै २, ३ वर्ष लाग्छ । यस्तोबेला कोष रकम थोरै हो । तर, पनि नहुनुभन्दा हुनु राम्रो कुरा हो,’ उनले भने ।