माघीमय बन्दै लुम्बिनीका थारु बस्ती – Nepal Press

माघीमय बन्दै लुम्बिनीका थारु बस्ती

रुपन्देही । माघी पर्वसँगै लुम्बिनी प्रदेशका थारु समुदायका बस्तीहरु माघीमय बन्दै गएका छन् ।

थारुहरुको सबैभन्दा ठूलो पर्व माघीलाई नवलपरासी, रुपन्देही, कपिलवस्तु,दाङ, बाँके र बर्दियाका थारु व्स्तीहरुमा धुमधामका साथ मनाउने गरिन्छ । यो पर्वले यी जिल्लाका थारु समुदायका विभिन्न बस्ती यतिबेला माघीमय बन्दै गएका छन् ।

थारु बस्तीमा माघी पर्वको तयारीले छपक्कै छोपेको छ । थारु समुदायका महिलाहरु अहिले घर लिपपोतका साथै जाँड, ढिक्री, रोटी तयार गरिसकेका छन् ।

नयाँवर्षको रुपमा उल्लासका साथ मनाइने यो पर्वको चहलपहल थारु बस्तीमा सुरु भइसकेको छ । पर्व नजिकिएसँगै थारु बस्तीमा चहलपहल बढेको छ ।

माघी पर्वलाई भव्यरुपमा मनाउने थारु समुदायका मानिसहरु अहिले माघीको तयारीमा जुटेका छन् ।

रोजगारीका लागि आफ्नो घरपरिवारबाट टाढा रहेका यो समुदायका नागरिकहरु घर पुग्न थालेको रुपन्देहीका थारु अगुवा खुसीराम चौधरीले बताए ।

पुरुषहरु माघीका लागि मासुको जोहो गर्न जुटिरहेका छन् । अधिकांश थारु बस्तीमा माघीका लागि नदी, कुलोमा माछा मार्नेलगायत कामको चटारो छ । माघीका लागि जाँड र मासु खानका लागि दुना, टपरी बनाउन थारु महिलालाई भ्याइनभ्याई भएको छ ।

माघी थारु समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी गरेको लमही नगरपालिका वडा नम्बर ७ प्रेमलाल चौधरीले बताए । माघीमा आफन्त आउने भएको हुनाले उनीहरुको सत्कारका लागि तयारी सुरु गरेको उनले बताए ।

‘माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्दैछौं, चौधरीले भने, ‘एक महिना अघिदेखि नै माघीको तयारी सुरु हुने थारु समुदायमा खानाका परिकारहरू पकाउन काठ, दाउरा अनादि चामलको गुलियो जाँड, रक्सी बनाउनुका साथै दुना, टपरी गाँस्ने तोरीको खाने तेल पेल्ने काम गरिन्छ ।’

पुस अन्तिम दिनबाट सुरु भई माघ दुई गतेसम्म उल्लासपूर्वक मनाइने माघी पर्वमा पुसलाई विदाइ गर्दै माघ एक अर्थात् नयाँ वर्षलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारु अगुवा तथा थारु कल्याणकारी समिति रुपन्देहीका उपसभापति बुद्धि चौधरी बताउँछन् ।

उनका अनुसार यो पर्वमा थारु समुदायले विगतको गतिविधिको समीक्षासमेत गर्ने गर्छन् । बालबालिकादेखि वृद्धवृद्धासम्म रमाउने माघी पर्व नै थारु समुदायको मुख्य पर्व भएकाले भव्यरुपमा मनाउने तयारी गरेको चौधरीले बताए ।

माघीमा आफन्तहरु आउने भएकाले उनीहरुको सेवा सत्कारका लागि तयारी भइरहेको उनले बताए । दाङको गढवा गाउँपालिका वडानम्बर २ का वडाध्यक्ष भक्तु चौधरीले पनि आफुहरु माघी पर्वको तयारीमा जुटेको बताए ।

उनले भने, ‘थारु समुदायको मुख्य पर्व भनेको माघी हो । गाउँघरमा यसपर्वको तयारी भइरहेको छ । विशेषगरी अझ थारु समुदायका बस्तीहरुमा माघिको रौनक चलिरहेको छ ।’

कोरोना संक्रमणको बढ्दो त्रासका कारण यी जिल्लाका विभिन्न थारु वस्तीमा आयोजना गरिएका माघी मेला भने स्थगित भएका छन् ।

रुपन्देहीको सैनामैनाका थारु अगुवा खुसीराम चौधरीका अनुसार मेलामहोत्सव स्थगित गरिएपनि पारिवारिकरुपमा मनाउने यो पर्वको सबै तयारी गरिएको छ ।

थारु कल्याणकारी सभाका केन्द्रीय पार्षद रामबली चौधरीका अनुसार कोरोना महामारीले सामुहिक जमघटका कार्यक्रम स्थगित गरिएको र सबैलाई पारिवारिकरुपमा मनाउन आग्रह गरिएको छ ।

पहिले यो पर्वमा वर्षदिनको टोली नेता बडघर छान्ने चलन भएपनि रुपन्देहीमा यो परम्परा हराईसकेको र दाङदेखि पश्चिमका जिल्लामा कायम रहेको उनको भनाइ छ ।

‘पहिले मसान्तमा जम्मा हुने, १ गते खाने रमाइलो गर्ने र २ गते बडघर छान्ने चलन थियो, अहिले हाम्रोतिर बडघर छान्ने चलन हराइसकेछ ’ चौधरीले भने ।

के हो माघे संक्रान्तिको महत्व ?

माघी पर्व थारुका लागि मात्र होइन अन्य समुदायमा पनि आआफ्नो ढंगले मनाउने गरिन्छ । माघ १ गते नेपालको पश्चिम तराईमा विशेष दिनका रुपमाा लिने गरिन्छ । तराईका थारु समुदायमा माघी पर्वका नाममा मनाइने यो दिन एक प्रकारले सो समुदायका लागि मुक्तिको दिन जस्तै हो ।

माघे संक्रान्ति सबैको चाड भए पनि यो मूलतः माघी भनेर थारु समुदायले बडो महत्वका साथ मनाउने गर्छन् । थारु समुदायको यो दिन नव वर्ष पनि हो । थारु समुदायले आफन्त र मान्यजनबाट नयाँ दिनको सुरुवात गर्ने दिनका रुपमा हर्षोउल्लासकासाथ रमाइलो गर्दै मिठामिठा खानेकुरा खुवाउने चलन छ ।

बाह्र संक्रान्तिमध्ये माघे संक्रान्ति हो । माघे संक्रान्ति हाम्रो महत्वपूर्ण पर्व हो । यो सबै जातिको साझा पर्व हो ।

माघीमा थारु समुदायमा जिम्दारको घरमा कमैया बस्ने वा नबस्ने भनेर छिनोफानो गर्ने दिनका रुपमा पहिले व्यापक थियो । कमैया प्रथाको अन्त्यपछि त्यो परम्परा हटेको छ तर निर्मूल भएको छैन । थारु समुदायले कमैया र कम्लरी बस्ने दास व्यवस्थाको दुखद संस्कारको लामो संघर्षपछि अन्त्य भएको छ ।

सांस्कृतिक संस्कार र पर्वका रुपमा रहेको माघीलाई थारु समुदाायको मुक्ति पर्वका रुपमा लिन थालिएको थारु अगुवाको भनाइ छ ।

माघ महिनाको प्रथम दिन सूर्य धनुराशिबाट मकर राशिमा प्रवेश गर्छन् । यसलाई तिलुवा संक्रान्ति या मकर संक्रान्ति पनि भनिन्छ । विभिन्न जातीय समुदायले यसलाई विशेष महत्वका साथ मनाउने गर्छन् ।

तिलुवा संक्रान्तिको दिन तिललाई सख्खरमा मिसाएर लड्डु बनाएर खाइन्छ । तिलमा विभिन्न तत्वहरु पाइन्छ । यो दिन घीउ, चाकू तिल, मह, सख्खर, तरुल, सख्खरखण्ड, पिडालु खाने गरिन्छ । मैथिली भाषिक समुदायले दही, पापड, घीउ अनि अचार खाने गर्छन् । यी सबै खानाले शरीरमा न्यानो प्रदान गर्छन् । नेवार समुदायले घीउ, चाकू, सँल्हु, खाने गर्छन् । काठमाण्डौ नजिकको पनौतीमा ठूलो मेला लाग्छ । यो लिच्छिवी मानदेवको पालादेखि शुरु भएको हो ।

मगर जातिमा तारो हान्ने खेल खेलिन्छ । तारोमा निशाना लगाउनेलाई जयजय गर्दै गाउँमा डुलाइन्छ । यस पर्वमा मगरहरुले धूमधामका साथ पितृहरुको पूजाआजा गर्छन् ।

माघे संक्रान्ति मीठो खाने पर्व हो । यो सबै जात जातिका समुदायको अलग अलग तर सबैले मनाउने चाड हो । यसको पौराणिक, ऐतिहासिक, साँस्कृतिक तथा सामाजिक महत्व छ । यो वैज्ञानिक तथा अर्थपूर्ण संस्कारको रुपमा स्थापित भएको छ । यसबाट मानिसलाई चर्म रोग, बाथ रोगबाट पनि मुक्ति पाउन सकिन्छ । जसले शरीरलाई जाडोबाट बचाउन सक्छ । त्यसैले यसलाई तिलुवा संक्रान्ति पनि भनिएको छ । तिललाई पवित्र खाद्यान्न मानिन्छ । विभिन्न पूजा आजामा यसको प्रयोग गरिन्छ ।

भौगोलिक रुपमा भन्दा अब सूर्य भूमध्य रेखाबाट उत्तरतिर लाग्छ । माघ १ गतेबाट हिंउँदको कठोर जाडो कम हुँदै जान्छ । यस ऋतुपछि वसन्तको बहार आउने हुनाले यसलाई विशेष महत्वका साथ मनाइएको छ ।

पौराणिक मान्यता अनुसार माघ १ गते महाभारतका पात्र भीष्मले इच्छा मृत्युको वरदान पाएको दिन हो । यस दिनमा विभिन्न घाटहरुमा स्नान गर्ने गरिन्छ । रिडीमा निकै ठूलो मेला लाग्छ ।

तीर्थालुहरु स्नान गर्न आउँछन् । देवघाटमा पनि मेला लाग्छ । कोरोनाका कारण यस वर्षको माघे संक्रान्ति मेला प्रभावित हुने भएका छन् । ठाउँठाउँमा लाग्ने मेला तथा स्नान कार्यक्रमहरु स्थगित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *