सहरमा क्याफेसहितका स्मार्ट शौचालय (भिडिओ रिपोर्ट)
काठमाडौं । राजधानीका सार्वजनिक शौचालय भन्नेबित्तिकै दिमाग दिग्मिगाउँछ । मानसपटलमा यस्तो चित्र बन्छ कि- फोहोर, दुर्घन्धित र पानीविहीन शौचालय । तर, राजधानीमा केही यस्ता शौचालय पनि छन्, जुन सुन्दर, आकर्षक र शौचकर्म गर्दा पनि आनन्द अनुभूत हुने खालका छन् । जसलाई ‘स्मार्ट शौचालय’ भनिएको छ ।
कुनै पनि सहरको सभ्यता मापनको मानक पनि मानिन्छ, सार्वजनिक शौचालय । ज्यादै कम र भएका शौचालयहरु पनि दुर्गन्धित हुनुले हाम्रो सभ्यतामाथि नै प्रश्न उठिरहेका बेला सरसफाइ अभियन्ता प्रकाश अमात्यले ‘स्मार्ट शौचालय’को अवधारणा ल्याएर काम थालेका हुन् ।
रोशान सस्टेनेवल स्यानिटेशनका कार्यकारी प्रमुखसमेत रहेका उनकै पहलमा राजधानीमा लोभलाग्दा ‘स्मार्ट शौचालय’ बनिरहेका छन् ।
ललितपुरको पाटनढोका र मंगलबजार तथा काठमाडौंका बानेश्वर, स्वयम्भु र त्रिपुरेश्वरमा पनि उनले यस्ता शौचालय संचालनमा ल्याइसकेका छन् । पोखरा, विराटनगरलगायत सहरमा पनि उनी यस्तै सार्वजनिक शौचालय बनाउने योजनामा छन् ।
यस्तो छ, स्मार्ट शौचालय
शौचालयको ढोकैनेर छ, ‘रिसेप्सन डेस्क’ । दिसा वा पिसाव जे गर्ने भए पनि १० रुपैयाँ तिरेपछि त्यहाँ कार्यरत कर्मचारीले टोकन वापत एउटा सिक्का उपलब्ध गराउँछन् ।
सिक्का लगेर एउटा मेसिनमा खसालेपछि महिला र पुरुषका लागि आ-आफ्नै गेट खुल्छन् । सफा र चिटिक्क पारिएको शौचालयमा ग्राहकले सुविस्तापूर्वक दिसा-पिसाव गर्न सक्छन् । दिसा-पिसाव गरि सकेर धारा नजिक जाँदा पानी आंफै आउँछ । धारा खोल्ने झन्झट गर्न पर्दैन । धोएर हात एउटा मेसिनअघि राख्नेवित्तिकै हावा आउँछ । र हात सुख्खा बनाउँछ ।
महिलाका लागि झन् धेरै सुविधा छन् । महिलाले शौचालय भित्रै सेनिटरी प्याड पाउँछन् । दुई रुपैयाँ सिक्का वा टोकन खसाउनेवित्तिकै प्याड निस्कन्छ । बच्चालाई डाइपर पनि शौचालयभित्रै पाइन्छ । स्तनपान गराउनका लागि पनि व्यवस्थित ठाउँ बनाइएको छ ।
क्याफेसहितको शौचालय, बायो ग्याँसको उत्पादन
लतिपुरको पाटनढोकास्थित स्मार्ट शौचालय पुग्दा धेरैलाई पत्यार लाग्दैन कि, यो शौचालय हो । यहाँ एउटा मिनी क्याफे पनि छ । क्याफेमा कफी, पानीपुरीलगायतका खानेकुरा पाइछ । क्याफेका हरेक आइटम शौचालयबाट निस्केको बायो ग्याँसबाट पकाउने गरिएको छ । शौचालय संचालनका लागि थप रकम जोहो हुने भएकाले क्याफे संचालन गरिएको अमात्य बताउँछन् ।
पानी अभावको समस्या समाधान गर्न उनले आकाशेपानी प्रशोधन गरी प्रयोग गर्ने प्रबन्ध मिलाएका छन् । ‘शौचालयमा धेरै पानी आवश्यक पर्छ, यसका लागि आकाशेपानी संकलन गरी प्रशोधन गरेर प्रयोग गर्ने गरेको छ’, अमात्यले भने ।
अमात्यका अनुसार बायो ऊर्जा र वातावरणसम्बन्धी अध्ययन गरिरहेका विद्यार्थीका लागि यो शौचालय एउटा अध्ययन केन्द्र बनिरहेको छ । काठमाडौं र ललितपुर महानगरले सार्वजनिक जग्गा उपलब्ध गराइदिएपछि केही संस्थाको सहयोगसँगै आफ्नै लगानीमा आमात्यले शौचालय बनाउँछन् । उनका अनुसार एउटा स्मार्ट शौचालय बनाउन ५० देखि ६० लाख रुपैयाँसम्म लाग्छ ।
शौचालय संचालनमा आएपछि रोजगारी पनि सिर्जना भएको उनी बताउँछन् । बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म शौचालय संचालनमा आउँछ । त्यसका लागि दुई सिफ्टमा कर्मचारी काम गर्छन् । यहाँ तीनदेखि चार जना कर्मचारीले रोजगारी पाएका छन् । सहकारी मोडेलमा कर्मचारी खटाउने गरेको आमात्य बताउँछन् ।
केही प्रश्न, केही समस्या
लामो समयदेखि खानेपानी तथा सरसफाइको अभियानमा लागेका आमात्यले सहरी क्षेत्रमा सार्वजनिक शौचालय संचालनका लागि केही समस्या देखेका छन् । ती बढी नीतिगत र केही व्यवहारिक समस्या छन् । अमात्यका यसप्रति केही प्रश्न पनि छन् ।
महानगरको बाहालमुखी टेन्डर प्रक्रियाले सार्वजनिक शौचालय संचालकर्तालाई उत्साहित नगर्ने अमात्य बताउँछन् । सरकार आफैंले सार्वजनिक शौचालय बनाउन नसक्ने र संचालन गर्न चाहनेहरु पनि बाहाल शुल्कले थिचिने गरेको उनको भनाइ छ ।
‘रत्नपार्क आसपासका शौचालयबाट वार्षिक ६० लाखसम्म बहाल कर उठाएको देखियो,’ अमात्यको भनाइ छ, ‘ ५-१० रुपैयाँ शुल्कले ६० लाख उठाउन सम्भव छैन । त्यो कुरालाई तोड्न सक्यौं भने शौचालय, शौचालयको रुपमा संचालन हुन सक्छ ।’
शौचालय संचालन र व्यवस्थापनको स्पष्ट कार्यविधि नहुनु तथा राजनीतिक इच्छाशक्ति न्यून हुनुलाई नै सार्वजनिक शौचालय सेवा विस्तारको समस्या ठान्छन् अमात्य ।
उनका केही प्रश्न:
- शौचालय ठेक्कामा लगाएर राज्यले लाखौं आम्दानी गर्ने ? अनि शौचालय सेवा विस्तारमा चाहिँ लगानी नगर्ने ?
- जनताले अस्तव्यस्त शौचालय प्रयोग गरेवापत शुल्क तिरिरहनु पर्ने ? त्यो आम्दानीबाट राज्यले के गर्छ ?
- खै त सरसफाई नागरिकको मौलिक हक भनेर गरेको व्यवस्था कार्यान्वयन भएको ?
भिडियाे रिपाेर्ट हेर्नुहाेस्
भिडिओ/फोटो: उमेश कार्की ।
सर्हानीय काम ! साधुबाद छ प्रकाश अमात्य ज्यूलाई ! यस्तो रचनात्मक काममा राज्यले उचित साथ र सहयोग गर्नु पर्छ!