तीन वर्षमा ४० स्थानीय तहले बनाए प्रशासकीय भवन (सूचीसहित)
चालु आर्थिक वर्षमा ४० भवन थप्ने लक्ष्य
काठमाडौं । ‘स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम’मार्फत तीन वर्षमा मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये ४० वटाले कार्यालय सञ्चालनका लागि प्रशासकीय भवन निर्माण गरेका छन् ।
स्थानीय पूर्वाधार विभागले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ देखि सञ्चालन गरेको उक्त कार्यक्रममार्फत ४० प्रमुख प्रशासकीय भवन निर्माण भएको हो । कार्यक्रम सञ्चालन भएको पहिलो आर्थिक वर्ष २०७६/०७७ मा ११ स्थानीय तहले स्थानीय तहको प्रशासकीय भवन निर्माण गरेका थिए भने दोस्रो आर्थिक वर्ष २०७७/०७८ मा २९ वटाले भवन बनाएका हुन् ।
विभागका अनुसार गत आर्थिक वर्षदेखि दुई सय ४० स्थानीय तहमा प्रशासकीय भवन निमार्णको काम भइरहेको छ । यस वर्ष थप ५० वटा स्थानीय तहमा गरेर जम्मा दुई सय ९० स्थानीय तहमा प्रशासकीय भवन निर्माणको काम भइरहेको विभागका सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिए ।
उनका अनुसार कतिपय स्थानीय तहमा कार्यविधि अनुसार निरन्तर काम भइरहेको, कतिपय स्थानीय तहमा यसै वर्ष सकिने र कतिपय अर्को वर्ष सकिने अवस्था छन् । कतिपय स्थानीय तहले भर्खरै मात्र ठेक्का आह्वान गरेर भवन निर्माणको प्रक्रिया सुरु गरेका सूचना अधिकारी पौडेलले बताए ।
दुई वर्षमा करिब डेढ अर्ब निकासा
भवन संघीय सरकार र स्थानीय तहको संयुक्त खर्चमा निर्माण हुन्छ । विभागका अनुसार यो पाँचवर्षे कार्यक्रम हो । प्रशासकीय भवन निर्माण गर्नका लागि मन्त्रालयबाट एकमुष्ट रकम विनियोजन हुँदै आएको छ ।
विभागका अनुसार कार्यक्रम सञ्चालन भएको पहिलो आर्थिक वर्ष २०७६/०७७ मा ३० करोड ५२ लाख, दोस्रो आर्थिक वर्ष २०७७/०७८ मा ८० करोड रुपैयाँ विनियोजन भएको थियो । अन्य क्षेत्रबाट ५० करोड बजेट रकमान्तर गरेर एक अर्ब २६ करोड र चालु आर्थिक वर्ष २०७८/०७९ मा ९९ करोड ५४ लाख रुपैयाँ विनियोजन भएको छ ।
पहिलो आर्थिक वर्षको सबै रकम र दोस्रो आर्थिक वर्षमा ९० करोड ९९ लाख रुपैयाँ खर्च भइसकेको छ । गत असारमा रकमान्तमार्फत बजेट थप गरिएको भए पनि कोभिड–१९ का कारणले सबै रकम खर्च हुन सकेन ।
पहिलो वर्षमा ११ स्थानीय तहले बनाए
विभागका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ६ प्रदेशका ११ स्थानीय तहले प्रकाशकीय भवन निर्माण गरेका छन् । जसमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा चार स्थानीय तहले प्रशासकीय भवन निर्माण गरेका छन् ।
त्यस्तै दोस्रोमा बागमती प्रदेश र गण्डकी प्रदेशका दुई/दुई स्थानीय तहले प्रशासकीय भवन निर्माण गरेका छन् । सबैभन्दा कम प्रदेश एक, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा एक/एक स्थानीय तहले भवन निर्माण गरेका छन् ।
सुदूरपश्चिममा बाजुराको हिमाली गाउँपालिका, डडेल्धुराको अमरगढी नगरपालिका, कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको लम्कीचुहा नगरपालिका, बागमती प्रदेशमा ललितपुरको कोंज्योसोम गाउँपालिका, चितवनको राप्ती नगरपालिका, गण्डकी प्रदेशमा गोरखाको पालुंङटार नगरपालिका र स्याङजाको भिरकोट नगरपालिका प्रशासकीयक भवन निर्माण गरेका छन् ।
यस्तै भवन निर्माण गर्नेमा प्रदेश एकमा इलामको इलाम नगरपालिका र लम्बिनी प्रदेशमा रुपन्देहीको कञ्चन गाउँपालिका र कर्णाली प्रदेशमा सल्यानको कुमाख गाउँपालिका रहेका छन् ।
दोस्रो वर्षमा २९ स्थानीय तहले बनाए
आर्थिक वर्ष २०७७/०७८ मा २९ स्थानीय तहले प्रमुख प्रशासकीय भवन निर्माण गर्न सफल भएका छन् । जसमा सबैभन्दा बढी लुम्बिनी प्रदेशका ८ स्थानीय तह र दोस्रोमा बागमती प्रदेशका ६ स्थानीय तह रहेका छन् । यस्तै प्रदेश एकका पाँच स्थानीय तह, गण्डकी प्रदेश र कर्णाली प्रदेशका चार÷चार स्थानीय तह तथा सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशका एउटा÷एउटा स्थानीय तहले मात्रै प्रशासकीय भवन निर्माण गरेका छन् ।
जसमा लुम्बिनी प्रदेशमा दाङका बंगलाचली, बबई र राप्ती गाउँपालिका, बर्दियाको मधुवन नगरपालिका, प्यूठानको सरुमरानी गाउँपालिका, गुल्मीको रेसुंगा नगरपालिका, रुपन्देहीको सैनामैना नगरपालिका, कपिलवस्तुको मायादेवी गाउँपालिका रहेका छन् ।
यस्तै बागमती प्रदेशमा नुवाकोटको दुप्चेश्वर, शिवपुरी र तादी गाउँपालिका, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका, रामेछापको रामेछाप नगरपालिका र सिन्धुलीको मरिन गाउँपालिका रहेको छ । प्रदेश एकमा झापाका कनकाइ नगरपालिका र हल्दीबारी गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका, उदयपुरको बेलका नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी गाउँपालिका रहेका छन् ।
यस्तै गण्डकी प्रदेशमा स्याङजाको गल्याङ नगरपालिका र अधिखोला गाउँपालिका, गोरखाको बारपास सुलिकोट गाउँपालिका र लम्जुङको राईनास नगरपालिका रहेका छन् ।
कर्णाली प्रदेशमा सुर्खेतको पंचपुरी नगरपालिका, दैलेखको दुल्लु नगरपालिका, जाजरकोटको भेरी नगरपालिका र सल्यानको कपुरकोट गाउँपालिका रहेका छन् । मधेस प्रदेशमा सप्तरीको खडक नगरपालिका र सुदूरपश्चिम प्रदेशमा कैलालीको बर्दगोरिया गाउँपालिकाले प्रशासकीय भवन बनाएका छन् ।
आर्थिक वर्ष २०७८/७९ मा ४३ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माणाधीन अवस्थामा नै रहनेछन् भने ३० वटा भवन निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भएको छ । त्यस्तै २३ स्थानीय तहले भवन निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी गरिरहेका छन् ।
१५ स्थानीय तहले भवन निर्माणका लागि एकमुष्ठ ठेक्का आह्वान नगरी आंशिकरुपमा टेण्डर आह्वान गरेका छन् । चालु आर्थिक वर्षमा ५० स्थानीय तहले भवन निर्माणका लागि बजेट मागेका छन् ।
स्थानीय तह प्रशासकीय भवन कार्यविधि २०७८ अनुसार गाउँपालिकाले बढीमा नौ करोड रुपैयाँसम्मको प्रशासकीय भवन निर्माण गर्न सक्नेछन् । जसका लागि सरकारले ६० प्रतिशत अनुदान दिने कार्यविधिमा उल्लेख छ ।
नगरपालिकाको हकमा बढीमा १२ करोडसम्म लागतमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने व्यवस्था छ । यस्तै उपमहानगरपालिकाले १५ करोडसम्मको प्रशासकीय भवन निर्माण गर्दा ४० प्रतिशत अनुदान दिने व्यवस्था छ । महानगरपालिकाको हकमा भने कार्यविधिमा केही उल्लेख गरिएको छैन ।
पर्याप्त संरचना भएको कारण रकम विनियोजन गरिरहनुनपर्ने स्थानीय तह दुई वटा रहेका छन् । जसमा गण्डकी प्रदेशमा स्याङजाको वालिङ नगरपालिका रहेको छ भने सुदूरपश्चिम प्रदेशमा अछामको मंगलसेन नगरपालिका छ ।