भोलि रातीदेखि उपत्यकामा चल्ने सवारी साधनमा जोर बिजोर लागू हुने
भोलि मध्यरातदेखि काठमाडौं उपत्यकामा संचालन हुने सार्वजनिक र निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । आज बसेको उपत्यकाका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोनाभाइरसको तेस्रो लहरलाई रोकथाम गर्न स्मार्ट लकडाउन कार्यविधिअनुसार जिल्ला प्रशासनहरुले १६ बुँदे आदेश जारी गरेका हुन् । जोर गते जोर नम्बरका सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन चल्न पाउने गरि सीडीओहरुले आदेश जारी गरेका हुन् ।
सवारी साधनले सिटभन्दा बढी यात्रु राख्न नपाउने निर्णय गर्दै तीनै जिल्ला प्रशासनले लामो दूरीमा चल्ने सवारी साधनले बीचबाट यात्रु चढाउन नपाउने र लामो दूरीको सवारी साधनका यात्रुले एन्टिजेन परीक्षण गर्नुपर्ने निर्णय पनि भएको छ ।
यो आदेश भोलि मध्यरातदेखि अर्को आदेश जारी नभएसम्म लागू हुने जनाइएको छ ।