पौरखी पात्रः महिला सशक्तीकरणको उत्प्रेरक दस्तावेज – Nepal Press
पुस्तक समीक्षा

पौरखी पात्रः महिला सशक्तीकरणको उत्प्रेरक दस्तावेज

चुरा महिला बन्धनको एउटा प्रतीक मानिन्छ । तर, त्यहीं चुरा लगाइ मुठ्ठी कस्दै अगाडि बढेका महिलाहरुका चित्र र रातो रङले ‘पौरखी पात्र’ लेखेको आवरण कला देख्दा किताब पक्कै महिला सशक्तीकरणका बारेमा लेखिएको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ । पुस्तक पढ्न बस्दा सशक्तीकरणका खोक्रा आश मात्र नभइ हाम्रै गाउँघरमा आमा, दिदी–बहिनीले गर्नुभएका संघर्ष र समाजका लागि दिनुभएको उदाहरण प्रशस्तै भेटिन्छन् ।

समाजमा धेरैजसो ठूला परिवार र नाम चलेका व्यक्तिहरुका संघर्ष र सफलताका कथा पढ्ने गरिन्छन् । त्यसैलाई प्रेरणाको स्रोतका रुपमा लिने गरिन्छ । आम जनजीवनमा महिलाहरुले न्यून लगानीबाट नै आफ्नो आर्थिक स्तरोन्नति गरेका कथाहरु न धेरै संगालिन्छन् न तिनलाई कतै छाप्न ईच्छा जाहेर गर्छन् ।

साहित्यकार एवम् लेखक दलबहादुर गुरुङ र अध्यापक माधवकुमार पौडेलको संयुक्त सहकार्यमा तयार पारिएको यस पुस्तक निकै प्रशंसनीय छ । पुस्तकले अबको पुस्ताले प्रेरणा केलाई मान्ने भन्ने प्रश्न खडा गरिदिएको छ ।

मनग्ये धन सम्पत्ति भएर एकाध उद्योग खोलेर सशक्त बन्न त सजिलो छ । तर, यसै किताबभित्र कि एक पात्र आविदा खातुनजस्तै तमाम सामाजिक चुनौतीलाई छिचोलेर अघि बढिरहन निकै गाह्रो छ । विभिन्न जात, धर्म र वर्गका साथै विविध क्षेत्रका उद्यमलाई समावेश गरिनु यस पुस्तकको प्रमुख विशेषता मान्नुपर्दछ ।

व्यवसाय, कृषि र उद्योगमा बढी जोड दिइएको छ । यो किताब जानकारीमूलक खुराक मात्र नभइ विश्वविद्यालयका विद्यार्थीका लागि पाठ्य सामग्रीका रुपमा आइपुगेको छ । समृद्धि सानै पाइलाबाट सुरु गर्न सकिन्छ भन्ने पुस्तकको मूल सन्देश हो ।

यस किताबको सन्दर्भमा दलबहादुर गुरुङ ज्यूले लेख्नु भएझैं नेपालमा महिला सशक्तीकरणका विषयहरु पढाइन्छन्– ती विषयहरुका लागि यो किताब केस स्टडीका रुपमा प्रयोग गर्न सकिन्छ । यस किताबबाट महिलाहरुले भोगिरहेका सांस्कृतिक, धार्मिक, सामाजिक, पारिवारिक,आर्थिक र राजनीतिक अप्ठ्याराहरुका बारेमा चर्चा गरिएका छन् । कति फरक छ– पुरुष र महिलाको आत्मनिर्भरतातर्फका यात्रा भन्ने आभास यस पुस्तकभित्रका पात्रहरु पढ्दै जाँदा सजिलै महसुस हुन्छ ।

हामी समानताका कुरा गर्छौ तर के साँच्चै महिलालाई जागिर गर्न दिएर वा व्यवसाय गर्न दिएर समानता कायम होला ! यो किताबमा भएका पात्रहरुमा केही विवाहित महिलाहरु छन् । केही विधवा र अविवाहित छन् । यसले के देखाउँछ भने महिलाका जीवनमा पुरुष हुनु र नहुनुसँगको सरोकार भन्दापनि परिवारका साथ र सहयोगको खाँचो वा महत्व स्पष्ट पार्छ ।

प्राकृतिक हिसाबले हेर्ने हो भने पुरुषभन्दा महिलाको काँधमा बढी जिम्मेवारी रहने गरेको छ । परिवारको हेरचाह गर्ने जिम्मेवारी महिलाको मात्र हैन । करेसाबारीमा फलेका तरकारी महिलाले मात्र खाने होइन । किन यी सबै कामलाई महिलाकामात्रै भनी घरमै सीमित गरिन्छ ? यावत् कुराहरु एक्लैले सम्हाल्दा सम्हाल्दै, महिलाहरु आफ्नो आर्थिक हकबाट बञ्चित भएर हेपाईमा पर्ने गर्छन् । त्यहीं हेपाइलाई आफ्नै बलमा परिणत गर्दै अघि बढेका पौरखी पात्रहरु अनुकरणीय छन् । उदाहरणीय छन् । स्तूतियोग्य छन् ।

सानैदेखि रोगले अल्झिएर, मृत्युको मुखबाट फर्केकी सफल व्यवसायी जमुना सुवेदी पोखरेल, परिवारको सहयोगमा आधुनिक कृषि गरेर आफ्नोमात्र नभई गाउँघरमा अरुलाई समेत रोजगार दिन सफल सीता पाण्डे, किशोर अवस्थामा सिकेको सीपलाई आम्दानीको केन्द्रमा परिणत गर्न र त्यसैमार्फत रोजगार दिन सफल प्रभा पौडेल गौतम, एकल (विधवा) भएपछि आँशुलाई आँटमा परिणत गरेर आधुनिक मेसीनको प्रयोग सिकेर सफल बेकरी उद्यमी बनेकी रेनू काफ्ले, ६२ वर्षको उमेरमा समेत पोल्ट्री फर्मलाई कर्मको मस्जिद बनाएकी आविदा खातुनजस्ता यस पुस्तकमा समेटिएका ३७ सम्मानित पात्रहरु नेपाल आमाका पौरखी सन्तानहरु हुन् । यी सफल उद्यमीहरुलाई आत्मबल र उर्जा प्रदान गर्ने मार्गनिर्देशकहरुलाई सम्मानको पात्र ठानेकी छु ।

सामाजिक सञ्जालमा दिनहुँजसो कहिले समाजको, कहिले विभिन्न खोजहरुको,कहिले स्मृतिबारे लेखिरहने साहित्यकार तथा लेखक दलबहादुर गुरुङज्यूले आफ्नो अमूल्य समय दिएर तयार पार्नुभएको यो सामग्री कुना–काप्चामा लुकेर बसेका संघर्षशील महिलाहरुका सफलताका पौरख हुन् । समाजका लागि निकै महत्वपूर्ण योगदान हो ।

यस पुस्तकमा सूचिक्रम पनि भएको भए पाठकलाई सजिलो हुने थियो । यस पुस्तक प्रकाशनका लागि महिला उद्यमशीलता प्रवद्र्धन–नेपाल नामक संस्थाले गरेको सहयोग उदाहरणीय छ । सञ्चार गृह तथा सञ्चारकर्मीको नजर र कलममा यस्ता उद्यमी महिलाहरुले स्थान पाएमा प्रेरणाका दियो निरन्तर प्रज्ज्वलन हुन सक्ने थिए !

पौरखी पात्र पुस्तकमा समेटिएका उद्यमी महिलाहरु नै समृद्ध नेपाल, सुखी नेपाली अभियानका खास अभियन्ता हुन् । उनीहरुका संघर्ष र सफलताका कथाहरु नै समाजवादका आधार स्तम्भ हुन सक्दछन् । पुस्तक पठनीय र संग्रहणीय छ ।

 


प्रतिक्रिया

2 thoughts on “पौरखी पात्रः महिला सशक्तीकरणको उत्प्रेरक दस्तावेज

  1. यसले के देखाउँछ भने महिलाका जीवनमा पुरुष हुनु र नहुनुसँगको सरोकार भन्दापनि परिवारका साथ र सहयोगको खाँचो वा महत्व स्पष्ट पार्छ ।

  2. A small step towards women empowerment. Case studies for business studies , an epitome of small is beautiful. We are pleased to have such acknowledgements as Rinku sister has highlighted through this review.

Leave a Reply

Your email address will not be published. Required fields are marked *