हजुरआमाको ऊर्जावान् हाँसो र लोभलाग्दो अनुभूति
काकी वस्तुलाई पानी दिन आँगनबाट गोठतिर लस्किँदै हुनुहुन्थ्यो । पट्पटि फुटेको पाइताला, रातोमाटोले लिपेको चिल्लो आँगनमा टेकेको पैताला सफेद कागजमा कोरिएको चित्र झैं लाग्ने । काम गर्दा जुत्ता–चप्पल बिरलै लगाइन्छ गाँउघरमा ।
परालको गुन्द्री पर्खालमा । ‘बस् बस् यता आइज’, हजुरआमाको आतिथ्यता । कति मीठो न्यानो घाम, करेसामा हरियोे निबुवाको दाना, आँगनभरि कुखुराको चल्ला ।
कुखुराको चल्ला लखेट्दै काकीकी नातिनी कापी समातेर आँगनमा दौडिँदै आइ हजुरआमा र म नजिक । दसैंैको चहलपहल सुरु भएको थियो । किनमेल सबै हिजै सकेको सुनाउँदै हुनुहुन्थ्यो काकी ।
‘दुध खाएर जा है आज’, गोठबाट काकी भन्दै हुनुहुन्थ्यो मलाई । एक्कैछिन अगाडि काकीकी नातिनी दिपिका नयाँ लुगा लगाएर चरिकोट जाने भनेर झगडा गर्दै थिइ रे, काकी भन्दै हुनुहुन्थ्योे ।
काकीको सासु मेरो हजुरआमा, आँगनको डिलमा सुर्तीको सर्कोसँगै सम्झनाको धुँवा उडाउँदै हुनुहुन्थ्यो । वास्तविक गाउँ लाग्ने, सालको पातमा सुर्ती बेरर हजुरआमाले सर्को तान्दा । चुरोट पनि पाइन्छ गाँउमा तर चोलीको खल्तीबाट सुर्तीको धुलो माडेर बेर्ने आदत हजुरआमको पुरानै हो ।
‘आँखा देख्दिनँ बाइ, तलाई झन्डै चिनिनँ अघि’, मसंग गफिँदै हुनुहुन्छ उहाँ । तर ध्यान फेरि पलातिनीतिर । ‘चल्ला किल्चेलिस यता आइज’, पनातिनीलाई हुजुरआमा कराउँदै हुनुहुन्थ्यो ।
उमेरले ८ दशक पार गर्नु भएकी हजुरआमा । ‘अहिलेका केटाकेटीले कति सुविधा पाए, उहिले त…’, हजुरआमाले सम्झानाले मेलो पैट्याउनुभयो । मैले त्यो लयमा मेलो मिलाउनु थियो ।
हजुरआमाको छेउमा पलातिनी आइ । उसले च्यापेको कलम–कापी देखेर अघिका कुरा भन्दै स्मृतिको पाना पल्टाउनु भयो । मलाई रङ्गीन पर्दामा हेरेको चलचित्रभन्दा हजुर आमाको कहानी भन्ने शैलीले धेरै तान्छ ।
धेरै हाँस्नु पर्छ हजुरआमालाई । बुढ्यौलीले छोएपछि स्मरण शक्ति कम हुँदै जान्छ भन्ने सुनेको थिएँ तर हजुरआमाले कहानीभन्दा पुरानो मान्छेहरुको स्मरण शक्ति अब्बल हुने रैछ जस्तो लाग्यो ।
त्यो दिन हजुरआमाको गफ, ‘हाम्रा पालामा क्या, तेरा माइला हजुरबुवा…।’ यति भनेपछि अब कति हँसाउनु हुन्छ होला भनेर मैले अड्कल काट्न सकिनँ । बातैपिच्छे अघिदेखि खित्का छोडेर हाँसेकै हो । हजुरआमाको प्रस्तुतिमा यति मिठास र हँसिलोपन भेटिन्छ, भनीसाध्य छैन ।
हजुरआमा आफै पनि आँशु काड्ने गरी हाँस्नु हुन्छ, त्यसको बयान गर्ने कुनै शब्द नै छैन मसँग । ‘तेरा माइला हजुबुवा उता देश गर आका (राजधानी), कता गाउँ–गाउँ घुम्न पनि ग’का रे । एकदिन म कोदो टिप्दै थेँ, भाउजू भन्दै आए, मैले फर्केर हेरेँ ।
माइला नानीले सुनाएछन्, ‘भाउजू अब त के दिन आयो–आयो, छोरीलाई पनि पढाउनु पर्छ रे, नत्र बाटो देख्दैनन् रे’, देवरको कुराले हजुरआमालाई रातभरि निदाउनै दिएनछ । हजुरआमा भन्दै हुनुहुन्थ्यो, ‘बाटैै नदेख्ने भनेपछि कस्तो रोग होला भन्ने पो भयो । घरमा सासु ससुरालाई सोधौं भने नचाहिने कुरा गर्छे भनेर गाली गर्लान्, बरु आफ्नी सखी माहिली बोजुलाई भन्न जान्छु भन्ने लाग्यो । र बिहानसम्म कुरे । बिहानै पनि गइहाल्न कहाँ पाउनु ? घरधन्दा, पानी पधेँरो भ्याउनै पर्यो ।’ त्यतिबेलाका बुहारीले ज्यादै सास्ती खेपेको कुरा सुने पनि हजुरआमाको सासुले चाहिँ छोरीजतिकै माया गर्नुहुन्थ्यो रे ।
हजुरआमाको आफ्नी सखी हाम्री गाउँ (बिरुवा)की स्वर्गीय माइली बोजुसँग खुब कुरा मिल्थ्यो रे । समय मिल्लेबित्तिकै पुग्नु भएछ, ‘ए माइली, हाम्रा माइला नानीले के भनेका होलान् ! छोरीलाई पढ्न पठाउनु पर्छ रे, नत्र बाटो देख्दैनन् रे !’
माइली बोजु पनि कता पढाइलाई जोडेर कुरा बुझ्नु ! सोझो– सरल जवाफ दिनुभएछ– के कुरा गछ्र्यौ, जसरी नि पुगिन्छ जानु परेपछि, त्यो नाथे बाटो न हो नदेखे सोध्दै गए भै गो !
माइली हजुरआमाको कुरा सही लागेछ हजुरआमालाई । अनि फर्केर घर आउनुभयो । ‘हो त है बाटो त हो, सोधे भयो नि । हाम्रा माइला नानीका कुरा पनि !’ यस्तै सोच्नुभयो हजुरआमाले । माइली हजुरआमाको जवाफले रातभरको जिज्ञासा सजिलै मेटाइदिए छ । र पो उहाँ खास मनको साथी लाग्दोरहेछ ।
पनातिनीको हातमा भएको कापीको पाना सुम्सुम्याउँदै हजुरआमा भन्दै हुनुहुन्थ्यो, ‘पढाइ भनेको बाटो देख्नका लागि, अक्षर चिने कसैले नहेप्ने रछन् हगी । यो कुरा त पछि थाहा पा’को, हो नि कतै जानु पर्यो भने बस आउँछ अगाडि त लेखेको हुन्छ नि ! पढेको भए बाटो देखिने र’छ, अघि हाम्रा पालामा कसले बुझाउने ? तै नि छोराहरुलाई पढ्न पठाउँथे, गाउँको भतिजो थियो, सँगै पढ्न जाने ।’
‘हात ठहराएर पानी खान झरेछ मैना
पानी जति सुकेर केही छैन’
हजुर आमाले भाखा हालेरै गाउनुभो गीत । भन्दै हुनुहुन्थ्योे– त्यो वर्ष अरु सबै किलास चढे, त्यो फेल भयो ।
हजुरआमाले प्रसङ्ग बदल्नुभो । फस्कुको मान्छेले त चट्टी (चप्पल) लाएर आको छ रे भनेपछि हेर्नका लागि दिन माया मारेर जानु भको थियो रे । हजुरआमाले सुनाएको कालो फोटोको कहानी पनि मीठो थियो । कहाँबाट देख्नु हजुरआमाले त्यो बेला फोटो । ‘अनि हगी है, तेरा माइला हजुरबा देशमा ग’का थिए, फोटो खिचेर पठाएछन्, मलाई त्यो फोटो भन्ने के थाहा ? कहिल्यै सुनेको पनि थिइनँ, ‘ए भाउजू’ भन्दै तेरा हजुबुवा आए, म करेसामा घाँस काट्दै थिए, ‘हजुर’ भनेँ ।
‘भाउजू ठूटो हेर्छौ ?’ ‘के भनेको भनेर फेरि सोधे– ठूटो हेर्छौ ? जवाफ उहीं । मैले केको ठूटो भनेर सोधें । भरे उसले फोटो भनेको र’छ । तेरा बाजेले बिर्से होला, मलाई त अहिले पनि हाँसो उठ्छ सम्झिएर । अनि फोटो देखाए । फोटो भनेको रैछ मैले ठूटो बुझेर कति हाँसें । धेरै हाँस्छे भनेर होला हगी, गाउँका मान्छे जो पनि मलाई नै कुरा सुनाउन आउने’, कुरा पहिल्याउँदै हजूरआमाले फेरि सुर्तीको पात चोलोको खल्तीबाट निकाल्नुभो ।
दोलखाको भीमेश्वर नगरपालिका– ५ बिरुवामा रहनुभएकी हजुरआमा कृष्णमाया दैनिकी अहिले पनि फेरिएको छैन । उहाँसँग भलाकुसारी गर्न पुग्ने जोकोहीसँग अहिले पनि त्यसैगरी हाँस्नु हुन्छ, जसरी आजभन्दा ६० वर्ष अगाडि हाँस्नु हुन्थ्यो ।