मधेस प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब, सञ्चारमन्त्री मन्त्री भन्छन- सच्याउँछौं – Nepal Press

मधेस प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब, सञ्चारमन्त्री मन्त्री भन्छन- सच्याउँछौं

काठमाडौं । मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले हालै प्रकाशित राजपत्रमा ‘चुच्चे नक्सा’ नराखी पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गर्नु भुल भएको स्वीकार गरेका छन् ।

तत्कालीन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरी ‘मधेस प्रदेश’ बनाएको बिषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ नसमेटी पुरानै नक्सा राखेर राजपत्र प्रकाशित भए पछि मन्त्री साहले सच्चाउने प्रतिवद्धता जनाएका हुन् ।

‘नेपालको पुरानै नक्सा राखेर भुलवस राजपत्र प्रकाशित भएछ, अब नयाँ नक्सासहितको राजपत्र प्रकाशित गर्नेछौं,’ मन्त्री साहले भने । उनका अनुसार प्रावधिक कारणले मात्रै उक्त राजपत्रमा पुरानो नक्सा पर्न गएको हो ।

सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेटेर नयाँ नक्सा पारित गरी नेपाल सरकारको लोगो नयाँ निमार्ण गरेको दुई वर्ष नाघेको अवस्थामा माघ ३ देखी लागू हुने गरी हिजो सार्वजनिक राजपत्रमा भने मधेस प्रदेशले पुरानै नक्साको निशान चिन्हसहित राजपत्र प्रकाशित गरेको थियो ।

प्रदेश २ लाई मधेस प्रदेश नामाकरण गरिएको बिषय जानकारी दिन जारी राजपत्रमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको ‘नेपालको चुच्चे नक्सा’ नअटेको हो ।

मधेस प्रदेशका महान्यायधिवक्ता दिपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उक्त राजपत्रमा चुच्चे नक्सा नदेखिएपछि सार्वजनिक चासो बढेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर