नागरिकको स्वास्थ्य सुरक्षामा ध्यान दिन सरकारलाई आयोगको ध्यानाकर्षण – Nepal Press

नागरिकको स्वास्थ्य सुरक्षामा ध्यान दिन सरकारलाई आयोगको ध्यानाकर्षण

काठमाडौं । नयाँ भेरिएन्टसहितको कोरोना तेस्रो लहर तीब्र गतिमा फैलिइरहेको भन्दै नियन्त्रणका लागि राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई ध्यानाकर्षण गराएको छ । आयोगले आज महामारी नियन्त्रणमा भइरहेको तयारीबारे सरकारका अधिकारीसँग जानकारी लिएको थियो ।

छलफलपछि विज्ञप्ति जारी गर्दै आयोगले नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन आग्रह गरेको छ ।

आयोगका अध्यक्ष तपबहादुर मगरले सबै नागरिकका लागि खोप सहज उपलब्ध हुनुपर्ने, बिनाखोप कार्ड सार्वजनिक स्थलमा प्रवेश गर्न नपाइने व्यवस्थाले सर्वसाधारणको मानव अधिकारको उपभोगमा पर्ने असर, सिटामोललगायतका औषधीको अभाव, सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गर्दा भीड झनै बढ्न सक्ने अवस्था र सीमा क्षेत्रमा आवतजावतको व्यवस्थापनलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

कोभिड-१९ नियन्त्रणका लागि नेपाल सरकारको योजना, अस्पतालहरूको क्षमता, सार्वजनिक यातायातमा लगाइएको जोर-बिजोर प्रणाली, बुस्टर डोजर बालबालिकालाई दिइने खोपमा पहुँच, अत्यावश्यक वस्तुमा सर्वसाधारणको सहज पहुँच, औषधीको कृत्रिम अभाव हुन नदिन गरिनुपर्ने अनुगमन तथा कानूनी कारबाहीबारे पनि आयोगले चासो राखेको छ ।

साथै तेस्रो मुलुकबाट नेपाल प्रवेश गरेका व्यक्तिहरूको सेल्फ क्वारेन्टाइन तथा अनुगमन व्यवस्था, सीमा क्षेत्र तथा स्थानीय तहहरुमा सञ्चालनमा रहेको होल्डिङ सेन्टर, क्वारेन्टिन तथा आइसोलेसन केन्द्रहरूको अवस्था, सार्वजनिक सेवाको लागि खोप कार्ड अनिवार्य गर्ने व्यवस्थाले सेवाग्राहीहरूको मानव अधिकारहरुको उपभोगमा पर्ने असर तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका अग्रपंक्तिमा खटिने कर्मचारीहरुको मनोबल उच्च राख्न उनीहरुले पाउनुपर्ने सेवासुविधाको उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *