मन्त्रीले झूटो बोल्दा हुनसक्छ २ वर्ष जेल र २० हजार जरिवाना – Nepal Press

मन्त्रीले झूटो बोल्दा हुनसक्छ २ वर्ष जेल र २० हजार जरिवाना

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले एउटा गल्ती ढाकछोप गर्न वक्तव्य निकाल्दा अर्को कसूर गरेकी छन् । गत माघ ५ गते गौरमा यादवले दिएको हिंसात्मक अभिव्यक्तिको भिडिओसहित कोही उनीविरुद्ध कानूनी उपचारमा गएको खण्डमा २ वर्ष जेल र २० हजार जरिवानासम्मको सजाय हुनसक्छ ।

मन्त्री यादवले सोमबार जारी गरेको प्रेस वक्तव्यमा आफूले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दुराशयपूर्ण मानसिकताबाट नभइ आपसी मुठभेड नगर्न वा हुन नदिन.. बोलेको बताएकी छन् ।

के रेणु यादवको अभिव्यक्ति कुनै व्यक्तिप्रति लक्षित, पूर्वाग्रहपूर्ण र हिंसात्मक गतिविधि हुन नदिनका लागि थियो त ? त्यसका लागि उनको भिडिओ र त्यसमा हिन्दी भाषाबाट अनुवाद गरिएको एक अनुच्छेद जस्ताको त्यस्तै हेरौं ।

रेणु भन्छिन्- मौवाली फौवाली त मधेस विद्रोहमा अन्त्य भइसकेको छ । र इतिहास त्यहाँ राइस मिल अहिले पनि जिवित छ । यो गौर एतिहासिक जिल्ला हो । गौरमा भाटा चलाउने प्रयास नगरिओस् । यहाँ लाठी (भाटा) नचाउन आउँछ । यो लाठी चलाएपछि तपाईंको लाठीको त्यही टुक्रा-टुक्रा पारेर तपाईंकै हातमा राखेर घरमा लगी थन्काइ दिइनेछ ।

हामीले आज त्यो गर्यौं, बलिदानी दिवसको दिन हिंसा होइन । आज हिंसा गर्नुछैन । आज हामी बलिदानी दिवस मनाउन आएका छौं । र, भोलि हामी यहाँको सडक भिजिट गर्छौं । यदि तुफानसँग टक्रायौ भने तपाईंको त्यही हालत हुन्छ जो गौरको राइस मिलमा भयो । त्यो इतिहासलाई नभुल्नुस् ।

म डाक्टर साहेबलाई यतैबाट भन्छु कोही एक बिरामी मरिहाल्छन् । र तपाईंलाई घेराबन्दी पारेर मारिदिन्छन् । ‘‘‘। त्यसैले सतर्क भइहाल्नुस् । यो कलेजोमा ताकत छ, यो धर्तीको भैंसी र गाईको दूध खाएको छ भने सिंहदरबार गएर घेर्नुस् । अमेरिकामा फास्टफुड खाएको होला, हरियो साग सब्जी खाएछौं होला । तर, जसको नशामा दूधका खुन बनेको छ । ताकत छ । त्यसलाई कहिले केही हुन सक्दैन । याद राख्नुहोला ।

मन्त्री यादवको यो अभिव्यक्ति र सोमबार जारी गरेको प्रेस विज्ञप्ति कतै पनि मेल खाँदैन । यसमा मन्त्री यादवमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ८१ आकर्षित हुन सक्ने कानूनी क्षेत्रका जानकारहरू बताउँछन् ।

सो दफामा कानूनबमोजिम सपथ लिइ सार्वजनिक पद धारण रेको व्यक्तिले त्यस्तो हैसियतमा झूटो कुरा व्यक्त गर्न नपाइँने भनिएको छ । यदि त्यस्तो कसूर गरेमा दुई वर्षसम्म कैद वा बीस हजार रूपैयासम्म जरिवाना र दुवै सजाय हुनेछ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले जनतालाई झुक्याउने कुरा नेपालमा नयाँ होइन । तर, मन्त्री यादवले गौरमा बोलेको र त्यसको बचाउमा सोमबार जारी गरेको विज्ञप्ति विल्कुल फरक छन् र उनले अभिव्यक्तिको बचाउ गर्न खोज्दा विज्ञप्तिमा झूटो बोलेकाले मुलुकी अपराधसंहिता आकर्षित हुन सक्ने बताइन्छ । यसका लागि सीके राउतकै कार्यकर्ता पनि कानूनी उपचारमा जान सक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर