चितवनमा पाँच सय ३७ स्वास्थ्यकर्मीमा काेराेना संक्रमण
चितवन । जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत ५३७ जना चिकित्सक–स्वास्थ्यकर्मी कोभिड–१९ संक्रमित भएका छन् । सरकारी, निजी अस्पताल, पालिकाकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक–स्वास्थ्यकर्मी संक्रमित भएका हुन् । हालसम्म सबैभन्दा बढी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १४४ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले बताए ।
चितवन मेडिकल कलेजमा ११४ जना, भरतपुर अस्पतालमा ८३ जना, अन्य निजी अस्पतालमा ६२ जना, कलेज अफ मेडिकल साइन्सेसमा ३४ जनामा संक्रमित पुष्टि भएको तिवारीले जानकारी दिए ।
पालिकाको स्वास्थ्य शाखाअन्तर्गत कार्यरत भरतपुर महानगरमा २८ जना, रत्ननगर नगरपालिकामा १५ जना, राप्ती नगरपालिकामा १८ जना, खैरहनी नगरपालिकामा १८ जना, कालिका नगरपालिकामा ८ जना र ईच्छाकामना गाउँपालिकामामा ९ जनामा संक्रमण भएको छ । माडी नगरपालिकाको भने हालसम्म विवरण आइनसकेको तिवारीले बताए ।
स्वास्थ्य कार्यालयमा कार्यरत चार जनामा संक्रमण पुष्टि भएको छ । तिवारीका अनुसार हालसम्म जिल्लामा स्वास्थ्य सेवा बन्द हुने गरी प्रभावित भएको छैन । आलोपालो गरेर स्वास्थ्य सेवा सञ्चालन भइरहेको उनको भनाइ छ । आइसोलेशनमा रहेको सात दिनमै काममा फर्किने हुँदा ठूलो समस्या नहुने अपेक्षा गरिएको तिवारीले बताए ।
हालसम्म भरतपुर अस्पतालले जिओपिडी र नियमित शल्यक्रिया सेवालाई स्थगित गरेको छ भने अन्य कुनै स्वास्थ्य संस्थाका नियमित सेवा प्रभावित बनेका छैनन् । संक्रमितको सङ्ख्या धेरै भए पनि अस्पताल भर्ना हुनेको सङ्ख्या न्यून रहेका कारण जनशक्तिको अभाव नभएको तिवारी बताउछन् ।