मन्त्री यादवमाथि कारवाही नहुँदा मधेसमा तनाव बढ्दै, झूटो विज्ञप्तिले समस्या थप्यो
जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले गौर नरसंहार दोहोर्याउने र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको हत्या गर्ने आसयको उत्तेजक अभिव्यक्तिले मधेसको राजनीति तरंगित बनेको छ । जसपा नेतृसमेत रहेकी मन्त्रीले दिएको हिंसात्मक अभिव्यक्तिपछि उनलाई वर्खास्त गर्नुपर्ने आवाज चौतर्फी उठेको छ ।
सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका शीर्ष नेताहरुसमेत मन्त्री यादवलाई राजीनामा दिन र राजीनामा नदिए प्रधानमन्त्रीले वर्खास्त गर्नुपर्ने भनिरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि मन्त्री यादवलाई वर्खास्त गर्न सरकारसँग माग गरिसकेको छ ।
पदीय मर्यादा भुलेर दिएको हिंसात्मक अभिव्यक्तिले कानूनी राज्यको उपहास गरेको भन्दै नागरिक समाजले उनलाई बर्खास्त गर्न सरकारलाई सुझाव दिइसकेको छ । तर जसपाले यसबारे कुनै निर्णय गर्नु त परै जाओस आधिकारिक धारणासमेत सार्वजनिक गरेको छैन । अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ती जारी गरेर उल्टै जनमत पार्टीलाई अराजक गतिविधि नगर्न चेतावनी दिए ।
हिंसात्मक अभिव्यक्ति दिएकी मन्त्रीको सामाजिक सञ्जालमा समेत चर्को आलोचना भइरहेको छ । अभिव्यक्ति दिएको ५ दिन वितिसक्दा पनि यो प्रकरण सेलाएको छैन । अन्तत: मन्त्री यादवले साेमबार वक्ताव्य त जारी गरिन् । तर माफी मागिनन् । बरु आफ्नो अभिव्यक्तिलाई बंग्याएको भन्दै मिडियामाथि नै दोष थोपरिन् ।
गल्ती स्वीकार गरी माफी माग्दा राजनीतिक रुपमा हार हुने र यसले राउतलाई फाइदा गर्ने संशय मन्त्री यादवले राखेको देखिन्छ । त्यसैले सिके राउतको लोकप्रियता अझै बढ्ने भय देखेर जसपाले मन्त्रीको बचाउ र राउत नेतृत्वको जनमत पार्टीविरुद्ध आन्दोलन सुरु गरेको छ । यसले मधेसमा मूठभेडको विजारोपण गर्नसक्छ ।
सोमबार प्रदेश राजधानी जनकपुरधाम, सप्तरी, रौतहट लगायतका जिल्लामा जसपाका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रदर्शनमा अधिकांश महिला सहभागी थिए । उनीहरुले संघीयता विरोधी मुर्दावाद, सीके राउत गो ब्याक, किसानको नाममा अराजक गतिविधि बन्द गर जस्ता नारा लगाएका छन् । यतिमात्र होइन् जसपाका नेताहरु सामाजिक सञ्जालमा सीके राउतविरुद्ध भिडन्त नै गर्ने खालको अभिव्यक्ति दिइरहेका छन् ।
एकतिर जसपाले आन्दोलन थालेको छ भने अर्कातीर मन्त्री यादवको राजीनामा माग्दै जनमत पार्टी र नेकपा एमालेकाे भातृ संगठन राष्ट्रिय युवा संघ सडकमा उत्रेका छन् । आइतवार जनकपुरमा प्रदर्शन गरेका यूवा संघका मधेस प्रदेश अध्यक्ष जानी खान मधेसीले मन्त्री यादवलाई बर्खास्त नगरे सशक्त आन्दोलन गर्ने बताएका थिए ।
भड्किलो भाषामा उनले चेतावनी दिएका थिए, ‘लोकतन्त्रमा जुनसुकै दललाई शान्तिपूर्ण आन्दोलन छुट छ । कालोझण्डा देखाएकै निहुँमा मन्त्री यादवले हत्या गर्ने धम्की दिन मिल्दैन । हामी उनलाई बर्खास्त गर्न आन्दोलन गरिरहेका छौं । हिम्मत छ भने जसपा कार्यकर्ता हामीसँग भिड्न आओस् ।’
यूवा संघका प्रदेश अध्यक्ष र जसपा नेताहरुको अभिव्यक्तिले अब मधेसमा भिडन्तको स्थिति सृजना भएको स्पष्ट बुझ्न सकिन्छ । किसान आन्दोलनको विपक्षमा उत्रनेविरुद्ध प्रतिकार गर्न तयार रहेको जनमत पार्टीका नेताहरुलेसमेत चेतावनी दिएका छन् ।
नेकपा माओवादी केन्द्रका सांसद दिलिप साहले मन्त्री यादवको अभिव्यक्तिले मधेसमा मुठभेडको स्थिति सृजना गराएको बताउँछन् । मन्त्री यादवले आक्रोशित भएर मर्यादा विपरीत र हिंसात्मक अभिव्यक्ति दिएको उनको पनि स्वीकारोक्ति छ । सत्ता साझेदार माओवादीका नेतासमेत रहेका उनी भन्छन्, ‘मुठभेडको स्थिति अन्त्य गर्न मन्त्री यादवले राजीनामा दिनुपर्छ । र सरकारले अबिलम्ब किसान माग पूरा गर्नुको विकल्प पनि छैन ।’
उनले थपे, ‘जनमत पार्टीले उठाएको किसानको मागहरु जायज छन्, तर आन्दोलनको नाममा अराजक गतिविधि गर्नु हुँदैन । प्रदेशले नाम र राजधानी टुंगो लगाएपछि प्रदेशसभा बैठक बसेकै छैन । अब त प्रदेशसभामा पनि किसानको माग पूरा गर्न आवाज उठाउँछौं । यदि प्रदेश सरकारले गर्न सक्दैन भने संघ सरकारमा पहल गर्नुपर्छ ।’
नेपाली कांग्रेसका प्रदेश सांसद नरेश यादवले पनि मन्त्री यादवले हिंसात्मक अभिव्यक्ति दिएर मधेसमा मुठभेड गराउन खोजेको बताउँछन् । उनले मन्त्री यादवले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने बताए । ‘आफ्ना नेतालाई सरकारबाट फिर्ता बोलाउनुको सट्टा जसपाले आन्दोलनका नाममा सडकमा कार्यकर्ता उतारेर ठीक गरिरहेकाे छैन,’ उनले भने ।