प्राङ्कको नाममा बञ्चरो उज्याउनेदेखि महिला गिज्याउनेसम्म, गृहको विज्ञप्तिले गर्ला उपचार ?
काठमाडौं ।
दृष्टान्त १
ट्राफिक र प्रहरीको भेषमा रहेका दुई व्यक्तिले बाटोमा आइरहेको मोटरसाइकल रोक्छन् । मोटरसाइकल चालकलाई थर्काउँदै ओराल्छन् ।
‘मलाई किच्न खोज्ने ? दिउँ गाला फुट्ने गरेर ?’ ट्राफिक बनेका व्यक्ति हात उज्याउँदै भन्छन् । मोटरसाइकलको चाबी थुतिन्छ । चालकको शरीर खानतलासी गरिन्छ । एटीएम कार्ड खोसिन्छ । अनि, उठबस गर्न लगाइन्छ ।
मोटरसाइकल चालक उनीहरुले भनेबमोजिम सडकमै कान समातेर उठबस गर्न थाल्छन् । ‘सजाय’ दिइसकेपछि ‘प्राङ्क हो है’ भन्दै क्यामरातिर फर्केर ‘हाइ’ भन्न लगाइन्छ ।
तीनै प्राङ्क टोलीले अन्य मोटरसाइकल यात्रुलाई पनि विभिन्न किसिमले दुर्व्यवहार गर्छन् । ‘निरज श्रेष्ठ’ नामको युट्यूव च्यानलबाट सन् २०१९ जुलाई २५ मा अपलोड भएको यो भिडियोले हालसम्म ३ लाख ८७ हजारभन्दा बढी भ्यूज पाइसकेको छ ।
दृष्टान्त २
लामो जगल्टा भएका एक युवक हातमा बञ्चरोजस्तो धारिलो हतियार बोकेर बाटो ढुकिरहेका हुन्छन् । परबाट आएका एक किशोरलाई उनी हतियार देखाउँदै लखेट्न थाल्छन् । वरिपरीका मानिसहरुको भागभाग हुन्छ ।
भाग्ने क्रममा किशोर लड्छन् । युवकले उनीमाथि हतियार उज्याउँछन् ।
‘दाई के गरेको ? मैले के गरेँ र तपाईंलाई ?’ किशोर अनुनय गर्छन् । रुन कराउन थालेपछि युवक भन्छन्– ‘हा.. हा.. प्राङ्क गरेको । उ क्यामरा त्यता छ । हाई भन्देउ ।’
यो भिडियो आकाश नामका युट्यूवरले बनाएका हुन् । करिब चार वर्षअघि पोष्ट भएको भिडियो लाखौंले हेरिसकेका छन् । कमेन्टमा धेरैले युट्यूवरमाथि कारवाहीको माग गरेको देखिन्छ ।
दृष्टान्त ३
कतै एकान्त जंगलमा एक युट्यूवर कुनै ‘मोडल’ को अन्तरवार्ता लिन भन्दै ढेस्सिएर बसेका छन् । कपिल मगर नाम गरेका यी युट्यूवर युवतीलाई ‘सिगाँने’ भनेर चिनाउँछन् । यति मात्र होइन, ‘बिरालीको जस्तो थुतुनो परेकी’ भन्दै अपमानित सम्वोधन गर्छन् ।
कथित अन्तरवार्ताका क्रममा पनि उनी अनेकपटक युवतीमाथि तुच्छ शब्दहरु प्रयोग गर्छन् ।
‘तपाईंलाई आज एक्स्ट्रा बाँदर्नीजस्तो देखिरहेको छ,’ उनी भन्छन् ।
युट्यूवरले पटक–पटक आफ्नो सिँगान पुछ्दै युवतीको तिघ्रामा दलेको समेत देखिन्छ । युवती प्रतिकार गर्छिन् तर, क्यामराको फ्रेमबाट हट्दिनन् ।
यीनै युट्युवरका अरु पनि बग्रेल्ति भिडियोहरु भेटिन्छन्, जसमा उनी विभिन्न युवतीहरुलाई अन्तरवार्ताका नाममा अपशब्द प्रयोग गर्ने र गोप्य अंगमा हात पुर्याउने गरिरहेको पाइन्छ ।
कुराकानीकै क्रममा एक युवतीको कानमा औंला हाल्दै उनी भन्छन्– कानेगुजी भरिएको रहेछ ।
युवती ‘छैन कानेगुजी’ भन्दै तर्किन्छिन् । त्यसपछि उनी आफ्नै कान कोट्याएर युवतीको कानभित्र हालिदिन खोज्छन् । यी युट्यूवरका धेरै हर्कत त यहाँ उल्लेख गर्न सकिने खालका नै छैनन् । दर्शकहरुबाट धेरै गुनासो आउँदा पनि उनी अहिलेसम्म कारवाहीमा परेका छैनन् ।
०००
माथिका तीन दृष्टान्त मात्र हुन् । प्राङ्कका नाममा मानिसहरुलाई दुख दिने, अपमानित गर्ने तथा यौनजन्य हर्कतहरु गर्ने कार्य पछिल्ला वर्षहरुमा निकै झांगिएको छ । यस्ता भिडियोहरुले युट्यूवमा लाखौं भ्यूज बटुल्ने गरेका छन् । यसरी दु:ख दिनेहरु आफूलाई ‘प्राङ्कस्टार’ का रुपमा चिनाउने गर्छन् ।
रमाइलोका लागि गोप्य क्यामराले खिचेर प्राङ्क भिडियो बनाउने प्रचलन नेपालमा मात्रै नभएर अन्यत्र पनि छ । यसको मूल उद्देश्य भनेको दर्शकको मनोरञ्जन नै हो, तर यसमा सहभागी गराइएका व्यक्तिहरु कुनै पनि हिसाबले पीडित बन्नु हुँदैन भन्ने मान्यता राखिएको हुन्छ । जोमाथि प्राङ्क गरिएको हुन्छ, उनीहरुले पनि रमाइलो महसुस गर्नुपर्छ । साथै, कसैको अनुमतिबिना यस्ता भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्न पनि पाइँदैन ।
यद्यपि, नेपालमा भने प्राङ्कका नाममा अश्लिल र उदण्ड गतिविधिहरु मौलाउँदै गएको छ । केही राम्रा कलाकार पनि छन्, जसले साँच्चै रमाइला भिडियोहरु बनाएर दर्शक हँसाएका छन् । तर, धेरैले चाहिँ प्राङ्कका नाममा मानिसहरुलाई दु:ख दिने र बेइज्यती गर्ने गरेको जनगुनासो छ । यस्ता प्राङ्कमा प्राय युवतीहरुलाई निशाना बनाइएको हुन्छ । स्कुले छात्राहरुलाई अश्लिल वा द्वीअर्थि प्रश्नहरु सोधेर बनाइएका भिडियो युट्यूवमा छ्याप्छ्याप्ती भेटिन्छन् ।
यसै सन्दर्भमा गृह मन्त्रालयले जारी गरेको सूचनाले निकै चर्चा पाइरहेको छ । प्राङ्क भिडियोका नाममा अनर्गल क्रियाकलापहरु बढ्दै गएको जनगुनासो सम्बाेधन गर्दै गृहले विज्ञप्ति जारी गरेको हो । धेरैले गृहको विज्ञप्ति सेयर गर्दै खुशी व्यक्त गरेका छन् । यद्यपि, यस्तो विकृत रोक्न गृहको विज्ञप्ति मात्रै पर्याप्त होला त भन्ने प्रश्न पनि उठेको छ ।
कानूनमा के छ ?
नेपालको कानूनले कसैको अनुमतिबिना फोटो र भिडियो खिच्न तथा सामाजिक सञ्जालमा पोष्ट गर्न निषेध गरेको छ । मुलुकी फौजदार अपराध संहिताअनुसार अनुमतिबेगर कसैको तस्विर खिचेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।
यसैगरि कुनैपनि व्यक्तिको तस्बिर निजको अनुमतिबिना अरुलाई दिन वा विक्री गर्न तथा निजलाई झिझ्याउने वा सताउने, हैरानी पार्ने वा निजबाट कुनै अनुचित फाइदा लिने वा तस्विरको व्यापारिक प्रयोग गरी फाइदा लिन पाइँदैन । त्यसो गरेको खण्डमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।
सार्वजनिक स्थानमा हैरानी दिनेविरुद्ध अभद्र व्यवहारको कसुर पनि आकर्षित हुने र त्यस्तोमा एक वर्षसम्म कैद सजाय हुन सक्छ । यही कानूनी व्यवस्थामा टेक्दै गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।
साथिभाइ अनलाइन टिभी नामक यूट्युब च्यानलका सञ्चालक रामबहादुर मल्लले विभिन्न युवतीलाई प्रयोग गरेर ‘प्राङ्क’ भन्दै भिडियो बनाउने गरेका थिए । त्यसमा उनले सामान्य युवतीसँग अन्तर्वार्ता भन्दै ‘छिल्लिएर’ कुरा गर्ने गरेका छन् । उनलाई गत महिना प्रहरीको साइबर ब्युरोले पक्राउ गरी मुद्धासमेत चलाएको थियो । कसैले उजुरी नगरे पनि प्रहरीले आफ्नै प्रतिवेदनका आधारमा मल्ललाई पक्राउ गरेको हो । जिल्ला अदालतले उनलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो ।
केही वर्ष अघिसम्म सुरुमा विभिन्न बहानामा झगडा गर्ने र पछि विवाद बढ्दै गएपछि ‘प्राङ्क’ गरेको भन्दै खिचिएको भिडियोहरु युट्युवमा राख्ने गरिथ्यो । मानसिक सन्तुलन गुमाएको अभिनय गरेर खुकुरी, बन्चरो देखाएर लखेट्ने र अन्त्यमा प्राङ्क भन्दै खिचिएका भिडियोहरु अहिले पनि यूट्युबमा भेटिन्छन् । तर, आजकाल शैलीमा केही परिवर्तन भएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले हटाउन लगाएका दुईवटा भिडियोको कुरा गरौं । सुनसान ठाउँमा एक व्यक्ति तरबार लिएर अर्को व्यक्तिलाई लखेटिरहेका हुन्छन् । त्यो देखेर वरिपरिका मानिसहरु पनि आत्तिँदै भाग्छन् ।
अर्को एक भिडियोमा युट्यूवरले पेस्तोल ताक्दै अर्को व्यक्तिलाई लखेटिरहेको देखिन्छ । पेस्तोल देखेर आसपासका मानिसको भागाभाग हुन्छ ।
प्रहरीअनुसार दुवै घटनामा लखेट्ने र भाग्ने व्यक्ति मिलेका हुन् । तर, दृष्यले आसपास रहेका मानिसहरुमा परेको प्रभाव भने वास्तविक हो ।
‘यदी त्यहाँ प्रहरीको उपस्थिति रहेको थियो भने देखाएर लखट्नेलाई गोली पनि चलाउन सक्थ्यो,’ महाशाखाले ती यूट्युबरलाई सम्झाउँदै प्रश्न गरेको थियो । प्रहरीका अनुसार तरवार र पेस्तोल दुवै नक्कली थिए ।
अर्को एक प्राङ्क भिडियोमा मास्क नलगाएको भनेर आफ्नै समूहका व्यक्तिलाई कुट्दै लखेट्छन् । त्यो देखेर मास्क नलगाएका अन्य व्यक्तिको भागाभाग हुन्छ । त्यसरी भागेकाले नजिकैको पसलमा पुगेर मास्क किनेर लगाएको दृश्य पनि भिडियोमा देखिन्छ ।
धेरै युट्यूवरहरुले प्राङ्क भिडियो बनाउने क्रममा पिटाई पनि खान्छन् । तर, यसले उनीहरुको मनोबल घट्दैन । पिटाई खाँदा भिडियोमा धेरै भ्यूज आउने भएकाले उल्टो उत्साहित हुन्छन् । जति धेरै भ्युज आयो त्यति धेरै डलर कमाउने लोभ उनीहरुलाई हुन्छ ।
प्राङ्क भिडियो बनाउनेहरुको मुख्य उद्देश्य त डलर कमाउने नै हो । अर्को चाहिँ पब्लिसिटी । धेरै मानिसहरुले चिन्ने भनेर यस्ता युट्यूवरले आफूलाई ‘सेलिब्रिटी’ नै ठान्न थालेका छन् । अनि, कतिपय युट्यूवरले चाहिँ व्यक्तिगत मनोरञ्जनका लागि पनि यस्तो काम गरिरहेको पाइन्छ । जस्तो कि सडकमा उभिएर युवतीहरुलाई विभिन्न बहानामा किस गर्दै भिडियोहरु बनाइएका छन् ।
स्रोतका अनुसार पछिल्लो समय साइबर ब्युरोले प्राङ्कका नाममा प्रकाशित हुने गरेका भिडियोमाथि सुक्ष्म अनुसन्धान गर्दै निगरानी बढाएको छ । चालू आर्थिक वर्षमा ब्युरोले सातवटा यूट्युब च्यानलका सञ्चालकसहित ८ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ । उनीहरुसँग अदालतले ५० हजार रुपैयाँदेखि २ लाख रुपैयासँग धरौटी मागेको छ ।
चारवटा युट्युब च्यानलमा महिलाबारे भड्किलो अन्तर्वार्ता दिएका रामहरी सुवेदीसँग अदालतले दुई लाख रुपैयाँ धरौटी मागेको थियो । सञ्चालकलाई भने जनही ५० हजार धरौटीमा छाडिएको थियो ।