आज सहिद दिवस, प्रधानमन्त्रीले भने- बलिदानीबाटै व्यवस्था परिवर्तन भएको हो – Nepal Press

आज सहिद दिवस, प्रधानमन्त्रीले भने- बलिदानीबाटै व्यवस्था परिवर्तन भएको हो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको त्याग, तपस्या र बलिदानबाट राजनीतिक व्यवस्था परिवर्तन भएको बताएका छन् ।

सहिद दिवसका अनुसार आइतबार सन्देश जारी गर्दै प्रम देउवाले २००७ को एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्ति, २०४६ मा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलन र २०६२/६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा सहिदको त्याग रहेको बताएका हुन् ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ ।

वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।

निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा हरेक वर्ष १० माघदेखि १६ सम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ ।

र, १६ माघलाई सहिद दिवसको रुपमा मनाइन्छ ।

विसं १९९७ १० माघमा निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।

यस्तै, सोही वर्ष १३ माघमा सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने १५ माघमा दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर