ज्यानको धम्की आएको भन्दै आदिवासी जनजाति संघका सभापति गुरुङले दिए कांग्रेसबाट राजीनामा – Nepal Press

ज्यानको धम्की आएको भन्दै आदिवासी जनजाति संघका सभापति गुरुङले दिए कांग्रेसबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर गुरुङले पार्टीको क्रियाशील सदस्यसमेत नरहने गरी सबै पदबाट राजीनामा दिएका छन् ।

सभापति शेरवहादुर देउवालाई सम्बोधन गरेर दिएको राजीनामा पत्रमा उनले कांग्रेसभित्र आदिवासी जनजातिका मुद्दा उठाउँदा ज्यानको समेत जोखिम भएको र परिवार तथा धनको चिन्ता गर्नुपर्ने अवस्था आएको उल्लेख गरेका छन् ।

गुरुङले कांग्रेसले रुखमा भोट माग्नुपर्ने ठाउँमा कहिले हसिया हथौडा, कहिले गाई, कहिले हलो र कहिले छाता चिन्हमा भोट हाल्नु परेकोमा समेत असन्तुष्टि जनाएका छन् ।

गुरुङले भनेका छन्, ‘आदिवासी जनजातिलाई हेर्ने दृष्टि नियाल्दा पार्टीको नेतृत्वमा भएकाहरूले पार्टीको चिन्ता लिनुको सट्टा, आदिवासी जनजातिको मुद्दा उछाल्नेलाई कसरी सिध्याउने चिन्ता, परिवारको चिन्ता, धनको चिन्ता, हिन्दू राष्ट्र घोषणाको धर्म निरपेक्षको खारेजको चिन्ता लिनु नेपाली कांग्रेसले रुखमा भोट माग्नु पर्ने ठाँउमा कहिले हसिया हथौडा, कहिले गाई, कहिले हलो, कहिले छाता आदिमा मतदान गर्न पठाउने साथै संगठनमा भन्दा गुट-उपगुट समूहमा ध्यान दिने आदि कारणले म आजको मितिदेखि नेपाल आदिवासी जनजाति संघको सभापति र पार्टीको क्रियाशील सदस्यताबाट समेत राजीनामा गर्दछु ।’

पहिलो संविधानसभामा आदिवासी जनजाति सभासद ककसको समेत नेतृत्व गरेका गुरुङ कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर