कर्णाली सरकार विस्तार : आकांक्षी बढेपछि माओवादीमा गैरसांसदलाई मन्त्री बनाउने कसरत – Nepal Press

कर्णाली सरकार विस्तार : आकांक्षी बढेपछि माओवादीमा गैरसांसदलाई मन्त्री बनाउने कसरत

सुर्खेत । सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रभित्रै कसलाई मन्त्री बनाउने भन्ने हानथापका कारण कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार विस्तार गर्न सकेका छैनन् ।

माओवादीबाट रुकुमपश्चिमका रातो कामी, जाजरकोटका कृष्णा शाह, गणेशबहादुर सिंह, डोल्पाका वीरबहादुर शाही, सुर्खेतका ठम्मर विष्टलगायतले लबिङ बढाएका छन् ।

डोल्पाका सांसद वीरबहादुर शाहीले आफूलाई मन्त्री नबनाए ठूलो समूहसहित पार्टी पारित्यान गर्ने भन्दै काठमाडौंमा भेटघाट अभियानसमेत चलाएका छन् ।

‘वीरबहादुरजीले सामाजिक सञ्जालमै डोल्पाको राजनीतिले अर्को मोड लिँदैछ भनेर लेख्नु भएको छ । त्यो लेख्नु भनेको मन्त्री पद नदिए पार्टी त्याग गर्ने कुरा नै हो । एमालेबाट माओवादी केन्द्रमा केही दिन अघि प्रवेश गराएको टिमसहित उहाँले पार्टी त्याग गर्ने कुरा गर्नु भएको छ । मन्त्री बन्नकै लागि उहाँ अहिले काठमाडौंमा हुनुहुन्छ ।’ माओवादी स्रोतले भन्यो ।

‘सकेसम्म सांसदबाटै मन्त्री बनाउने भन्ने प्रयासमा पूर्वमुख्यमन्त्री ज्यू हुनुहुन्छ ’, माओवादी स्रोत भन्छ, ‘यदि सांसदहरूबीच सहमति हुन नसकेको खण्डमा गैरसांसदलाई मन्त्री बनाउने गरी छलफल अघि बढेको छ । हुम्लाबाट गैरसांसद मन्त्री बन्ने सम्भावना छ ।’

माओवादी केन्द्रले चार मन्त्रालय मागेपछि यस प्रदेशमा गठबन्धनबीच भागबण्डा मिल्न सकेको छैन ।

‘पार्टी केन्द्रमा गठबन्धनलाई नै निरन्तरता दिएर जाने भनेपछि यहाँ माओवादीले चार मन्त्रालय दाबी गरेर पनि सम्भव देखिएन ।’ स्रोत भन्छ, ‘अब समाजवादी र माओवादीले तीन/तीन, कांग्रेसले मुख्यमन्त्रीसहित दुई मन्त्रालय लिनुपर्ने अवस्था सिर्जना भएको छ ।’

कांग्रेसबाट दैलेखका हिमबहादुर शाही मन्त्री बन्ने करिब निश्चित भएको बताइएको छ । समाजवादीबाट चन्द्रबहादुर शाही यसअघि नै मन्त्री भइसकेका छन् । बाँकी देवी वलीले र पदम रोकाया अबको सूचीमा छन् ।

‘हाम्रो दलमा कुनै पनि समस्या छैन । पुरानो भएको सहमति अनुसार अघि बढनुपर्छ । हामी जतिबेला पनि मन्त्रीहरुको नाम दिन तयार छौं ।’ सांसद वलिले भनिन्, ‘बरु छिटो सरकारलाई पूर्णता दिनुपर्छ भन्नेमै हाम्रो जोड छ ।’

माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले सरकार विस्तारबारे धेरै कुरा खुलाउन चाहेनन् । ‘अब को-को मन्त्री बन्छन्, थाहा पाइहाल्नु हुन्छ नि ।’ उनले अब ढिलो भने नहुने दाबी गरे ।

यता, मुख्यमन्त्री शाही भने माओवादीले मन्त्री बन्नेहरूको नाम टुंगो लगाउनेबित्तिकै तत्काल सरकारमा सहभागी गराउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर