गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिमा अर्थमन्त्रालयको रोक – Nepal Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिमा अर्थमन्त्रालयको रोक

पूर्वअर्थमन्त्री पौडेल भन्छन्- पहिलो चरणको उद्घाटन र दोस्रो चरणको सुरूआत सँगै हुनुपर्छ

रुपन्देही । गत पुसमा भैरहवास्थित गौतमबुद्ध विमानस्थलको स्तरोन्नतिको दोस्रो चरणको काम रोक्न चलखेल भएको विषय पूर्वअर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेपछि खैलाबैला भयो ।

पहिलो चरणको काम सकिएर परीक्षण उडानको अन्तिम तयारीका लागि प्राविधिकसमेत आइसकेको समयमा दोस्रो टर्मिनल भवनका लागि अघिल्लो सरकारले अघि बढाएको तयारी अहिले अलपत्र पार्न खोजिएकोमा आलोचना सुरू भएको छ ।

पौडेलको अगुवाइमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा ठूलो टर्मिनल भवनको योजना अघि बढाएका थिए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समेत विशेष चासो राखेको यो आयोजना स्थलगत निरीक्षणमा उनी पटक-पटक आएका छन् ।

आफ्नो पालामा तयार पारिएको दोस्रो टर्मिनलको डिजाइनसमेत गठबन्धन सरकारले रोकेकोमा एमालेको आपत्ति छ । पूर्वअर्थमन्त्री पौडेलले प्रस्तुत गरेको बजेटमार्फत यस आर्थिक वर्षमा भवन निर्माणका लागि तीन अर्ब ५४ करोड विनियोजन गरेको थियो ।

तर, अहिले अर्थमन्त्रालयले विमानस्थल सञ्चालनमा नआएसम्म दोस्रो चरणको काम अगाडि नबढाउन निर्देशन दिएसँगै काम रोकिएको छ । विमानस्थलमा दोस्रो टर्मिनल भवन (टी २), एप्रोनलगायतका पूर्वाधार निर्माणका कामलाई दोस्रो चरणका रुपमा योजनामा समेटिएको थियो ।

भैरहवामा नयाँ टर्मिनल भवन आवश्यक पर्ने र यसलाई रोक्न नहुने प्राधिकरणका एक पूर्वमहानिर्देशक बताउँछन् ।

गौतमबुद्ध विमानस्थल विस्तार आयोजनामा अहिलेसम्म करिब ३१ अर्ब रकम खर्च भइसकेको छ ।

नेपाल प्रेससँगको कुराकानीमा पूर्वअर्थमन्त्री पौडेलले पहिलो चरणको उद्घाटनलाई अघि बढाउँदै लामो समयको विमर्शपछि आएको दोस्रो चरणको काम अगाडि बढाइएकाले यसलाई रोक्न नहुने बताए । उनले भने, ‘दोस्रो चरणको काम पूरा नभइ हामीले लाम लिन सक्दैनौं, त्यसैले पहिलो चरणको उद्घाटन र दोस्रो चरणको सुरुआत सँगसँगै गर्नुपर्छ, यसलाई रोक्नु भनेको देशको विकासलाई रोक्ने हो, लुम्बिनी जो अन्तर्राष्ट्रिय सम्पदा छ, त्यो प्रतिफल लिनका लागि पनि कुनै बहानामा यसलाई रोक्न पाइँदैन, यो हाम्रो प्रष्ट धारणा हो ।’

‘स्रोतको व्यवस्थापन गरिएको विमानस्थलको काम रोक्ने चलखेल भएको छ, यो कदापि सैह्य हुने विषय होइन, तत्काल काम अगाडि बढाइयोस् अन्यथा के नियतका साथ काम रोकिएको हो नागरिकले तत्काल खोज्नेछन्’, पौडेलले भने ।

गत पुसमा भैरहवा आएको बेला पौडेलले दोस्रो चरणको काम तत्काल अघि बढाउन आग्रह गरेका थिए । दोस्रो चरणको कामका लागि एसियाली विकास बैंक सात अर्ब लगानी गर्न तयार रहेकोले कुनै पनि हालतमा रोक्न नहुने उनको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार दोस्रो चरणको डिजाइनमा त्रुटि भनेर मन्त्रालयले काम अघि नबढाउन भनेको हो ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले अहिलेको टर्मिनल भवनको पश्चिमतर्फ नयाँ टर्मिनल भवन निर्माण गर्ने गरी योजना बनेकोमा अहिले काम रोकिएको बताए । आयोजना प्रमुख अधिकारीका अनुसार टर्मिनल भवनमा छ वटा एरोब्रिज रहने गरी डिजाइनसमेत तयार भइसकेको थियो ।

‘एरोब्रिज सुविधा भएको टर्मिनल भवन बन्ने हो भने सम्भवत: यो नेपालमै पहिलो हुन्छ, तर बन्ने/नबन्ने अझै टुंगो छैन’, उनले भने ।

२०७५ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल निर्माण भएको १५ हजार वर्ग मिटरको टर्मिनल भवनबाट अन्तर्राष्ट्रिय उडान व्यवस्थापन गर्न अप्ठ्यारो हुने भएकाले नयाँ टर्मिनल भवन बनाउनुपर्ने निष्कर्ष निकालेको थियो । उक्त निष्कर्षका आधारमा अर्थमन्त्रालयले विमानस्थलको दोस्रो चरणको काममा सहयोग गर्न एडीबीसँग आग्रह गरेको थियो । एडीबीले विमानस्थलमा ६४ मिलियन डलर (करिब ७ अर्ब ६३ करोड रुपियाँ) लगानी गर्ने सम्झौता पनि गरेको छ ।

यो पनि पढ्नुहोस् : तयार भयो भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, परीक्षण उडानको तयारी

एडीबी र प्राधिकरणअन्तर्गतको राष्ट्रिय गौरवव आयोजनाले दोस्रो चरण बिस्तार गर्दा विमानस्थलमा के कस्तो काम गर्ने भन्ने अध्ययन गरेका थिए । दुवै पक्षको सहमतिमा विमानस्थलमा नयाँ टर्मिनल भवन, थप विमान पार्किङका लागि एप्रोन, विमानस्थलबाहिर कार पार्किङस्थललगायतका संरचना बनाउने निष्कर्ष पनि निकालिएको थियो ।

सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न ९७ मिलियन डलर (करिब ११ अर्ब ५७ करोड रुपैयाँ ) लाग्ने, त्यसमा एडीबीले ६४ मिलियन डलर खर्च गर्ने र बाँकी ३३ मिलियन डलर (करिब ३ अर्ब ९३ करोड रुपैयाँ ) नेपाल सरकारले खर्च गर्नुपर्ने सहमतिअनुसार एडीबीले नेपाललाई सहयोग गर्ने सम्झौता पनि गरेको थियो । एडीबीले लगानी सम्झौता गर्नुपूर्व टर्मिनल भवनको वित्तीय तथा आर्थिक सम्भाव्यता अध्ययन गरिसकेको छ ।


प्रतिक्रिया

One thought on “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिमा अर्थमन्त्रालयको रोक

  1. ए कम्फर्टेबलहरू भारतको कुशीनगर एयरपोर्ट राम्ररी चलोस् भनेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिमा अर्थमन्त्रालयले रोक लगाएको त हैन नी? उत्तर माझण्डहरूले दिने हो कि प्रम शेरबहादुर देउवाले थाहा चाहियो। नेपालको स्वार्थमा काम गर्नलाई किन डराउँछौं?

Leave a Reply

Your email address will not be published. Required fields are marked *