एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनमा सहमति – Nepal Press

एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनमा सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनमा मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच ‘राष्ट्रिय हित प्रतिकुल नहुनेगरी’ सम्झौता संसदबाट पारित गराउने सहमति भएको हो ।

प्रधानमन्त्री देउवाले लामो समयदेखि एमसीसी पारित गराउने विषयमा गठबन्धनमा आवद्ध दलहरुको साथ खोजिरहेका छन् । शनिबार मात्रै स्थानीय निर्वाचन जेठभित्र गर्न गठबन्धनले सरकारलाई सुझाव दिएको थियो ।

शनिबार साँझको बैठकअघि नै शीर्ष तीन नेताबीच एमसीसीबारे सहमति बनेको बताइन्छ । देउवा, प्रचण्ड र नेपालबीच शुक्रबार बिहान बालुवाटारमा छलफल भएको थियो ।

शनिबार बिहानको गठबन्धन समन्वय समितिको बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएपनि समितिको बैठकलगत्तै देउवा, प्रचण्ड र नेपाल छुट्टै छलफलमा बसेका थिए ।

सो बैठकमा गठबन्धनका संयोजकसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि बोलाइएको थियो । गठबन्धनका एक शीर्ष नेताका अनुसार ४ जना नेताबीच एमसीसी पारित गर्ने ‘सैद्धान्तिक सहमति’ बनेको हो ।

एमसीसी पारित गर्न तयार भएपनि माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालले १० दिनजति पर्खिन प्रधानमन्त्री देउवासँग समय मागेका छन् । माओवादी र नेकपा एसले पार्टीभित्र ‘आन्तरिक सहमति’ जुटाउन समय माग गरेका हुन् । यहीकारण प्रतिनिधिसभाको कार्यसूचीसमेत सार्वजनिक भइसकेको आइतबारको बैठक १० दिनका लागि सारिएको गठबन्धनका एक शीर्ष नेताले नेपाल प्रेसलाई बताए ।

शीर्ष तहमा सहमति, कार्यदलमा विवाद

एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनका प्रमुख ३ दलका शीर्ष नेता सहमत भएपनि एमसीसीबारे अध्ययन गर्न गठित कार्यदलमा भने यसबारे टुंगो लागिसकेको छैन ।

प्रधानमन्त्री देउवाले गत पुस ४ गते बोलाएको सर्वदलीय बैठकमा कांग्रेसबाहेकका दलहरुले यथास्थितिमा एमसीसी पारित गर्न नहुने धारणा राखेका थिए । सोही दिन गठबन्धनले एमसीसीमा बुँदागत छलफल गरेर साझा धारणा बनाउन ३ सदस्यीय कार्यदल बनाएको थियो ।

नेकपा एसका सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा माओवादीबाट नारायणकाजी श्रेष्ठ र कांग्रेसबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । अर्थमन्त्री हुँदा कार्कीले नै नेपालको तर्फबाट एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

कार्यदलका संयोजक खनाल र माओवादी नेता श्रेष्ठ एमसीसीलाई यथास्थितिमा पारित गर्न नहुने पक्षमा छन् । तत्कालीन नेकपामा पनि खनाल नेतृत्वमै बनेको कार्यदलले एमसीसीमा संशोधन आवश्यक रहेको प्रतिवेदन बुझाएको थियो ।

पुस ७ गते खनाल निवासमा कार्यदलको पहिलो बैठक बसेको थियो । त्यसयता कोभिडका कारण कार्यदलको नियमित बैठक बस्न सकेको छैन । गठबन्धनका शीर्ष नेताहरुबीच एमसीसी पारित गर्ने सहमति भएसँगै कार्यदललाई तत्काल काम सकेर प्रतिवेदन बुझाउन भनिएको छ ।

‘एमसीसीमा पोजेटिभ कुरा भएको छ । प्रचण्ड र माधवजीले पार्टीका साथीहरुलाई मनाउनुहुन्छ । एमसीसीमा अब ब्रेक थ्रु हुन्छ’, प्रधानमन्त्री देउवा निकट एक नेताले भने ।

कांग्रेसको चेतावनीपछि जुटेको सहमति

शनिबार बिहान बालुवाटारमा बसेको शीर्ष बैठकमा प्रधानमन्त्री देउवा र गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले एमसीसीबारे निधो दिन प्रचण्ड र नेपाललाई आग्रह गरेका थिए । पौडेलले त एमसीसीजस्तो राष्ट्रिय विषयमा अलमल गरेर गठबन्धन निरन्तर हुन नसक्ने चेतावनी नै दिए ।

‘यो गठबन्धन पछिसम्म मिलेर जाने हो भने एमसीसीमा साझा धारणा बनाउनुपर्छ । अब जनतालाई गुमराहमा राख्न जरुरी छैन । एमसीसी पास गर्न तपाईहरु तयार हुने कि नहुने ?’, पौडेलको प्रश्न थियो ।

प्रधानमन्त्री देउवाले पनि एमसीसीबारे निधो नहुँदा गठबन्धनमा समस्या पर्नसक्ने बताएका थिए । त्यसपछि प्रचण्ड र नेपाल दुवैले ‘एमसीसीका कारण गठबन्धनमा समस्या आउन नहुने’ बताएका थिए ।

‘अहिले कोभिडको पनि बेला छ । हाम्रै पार्टीका साथीहरुलाई पनि चित्त बुझाउनुपर्छ । दस दिनजति गृहकार्य गरौं । अनि अगाडि बढौला’, बैठकमा प्रचण्डको भनाई थियो ।

एमसीसीमा को कतातिर ?

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसीसी तत्काल पारित गर्नुपर्ने पक्षमा छ । प्रधानमन्त्री देउवाले माओवादीको महाधिवेशन उद्घाटन समारोहमै उपस्थित भएर ‘एमसीसी राम्रोसँग पढ्न र पारित गर्न’ सुझाव दिएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सरकारमा छँदा एमसीसी पारित गर्ने पक्षमा थियो । पछिल्लो समय एमालेले एमसीसीबारे सरकारको धारणा माग गर्दै आएको छ । गत पुस १० गते विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे पहिले सरकार स्पष्ट हुनुपर्ने बताएका थिए । सरकारमा छँदा ओलीले एमसीसीबारे प्रश्न उठेका विषयमा संसदबाट संकल्प प्रस्ताव पारित गर्न सकिने विकल्प ल्याएका थिए ।

नेकपा माओवादी केन्द्रमा एमसीसी यथास्थितिमा पारित गर्न नहुने मत बलियो छ भने नेकपा एसमा पनि एमसीसीमा रहेका केही बुँदा स्वीकार्य नहुने धारणा बलियो छ । जनता समाजवादी पार्टी एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् । गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा र संसदमा रहेको नेमकिपा एमसीसीको विपक्षमा छन् । प्रतिपक्षमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने एमसीसी पारित गर्नुपर्ने निर्णय गरिसकेको छ ।

अबको १५ दिन निर्णायक

सरकारका एक मन्त्री एमसीसीका लागि अबको १५ दिन निर्णायक रहेको बताउँछन् । विगतमा एमसीसीबारे सामान्य छलफल भएपनि पछिल्लो समय प्रधानमन्त्री देउवाले नै अग्रसरता लिएकोले अब छिनोफानो हुने कांग्रेस नेतासमेत रहेका मन्त्रीको दावी छ ।

‘एमसीसीबारे प्रधानमन्त्रीको सिरियसनेस बढेको छ । गठबन्धनमा भएको सहमति १५ दिनभित्र कार्यान्वयन हुनुपर्ने हो’, ती मन्त्रीले नेपाल प्रेससँग भने ।


प्रतिक्रिया

2 thoughts on “एमसीसी पारित गर्न सत्तारुढ गठबन्धनमा सहमति

  1. गठबन्धन ठगबन्धन न हो ।उसका लागि सरकारमा बस्न पाउनु नै एकमात्र र अन्तिम मापदण्ड हो लोकप्रियता को।कहाँको राजनीति शास्त्र पढे कुन्नि। सरकार टिक्ने र आगामी चुनावमा काँग्रेसले बोकिदिने शर्त राख्नेछन। यति भए जे पनि सदर गर्नेछन्।माओवादीको अर्को जखमले शर्त हुनेछ, अग्नि सापकोटालाई अभयदान। सबैले बुझे जानेको कुरा। बाँकी कुरा ढाँटको निम्तो। झलनाथ जस्ता निर्लज्ज बसेका एमसिसि अध्ययन समिति अरे। उनले सदर गर्दा अध्ययन नगरी सदर गरेका थिए त? थिए भने पहिले आत्मालोचना गरून्,क्षमा मागुन।वाहियात झुटबन्दीको गुटबन्दी।

  2. अधिकारकाे नाममा डलर कुम्ल्याएर देश र विदेशका नामुद माफिया र तश्करसँगकाे ससाँठगाँठमा मातृभूमि विक्री गर्न उक्साउँने कुख्यात डाकाहरु रहेसम्म जनताहरु निमुखा, भाेका नाङ्गा रहनेछन्, अाेम्नी, महामारीको ठगीका्णड,एमसिससँगका दर्जनाैं सम्झाैता वारे तपाईं किन माैंन ? तपाईका छाेराहरु विदेशी डलर कमाउँने भएर नेपाली काे अस्तित्व विक्री गर्न मिल्छ ? चेतना भया विचाैलिया हाे ….एक दिन तपाईहरु लखेटिने दिन अाउँछ, त्याे वेलाकाे लागि अहिले देशलाई वर्वादी वनाउँदै हुनुहुन्छ .अन्तरास्ट्रिय गिराेहसँगकाे साँठगाँठ देशभक्त नेपालीले वुझेका छाैं …हेर्दै जाऊँ ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर