शिक्षक अस्पताल चितवनको भरतपुरमा बनाउने सरकारको निर्णय
काठमाडौं । शिक्षक अस्पताल चितवनको भरतपुरमा बनाउने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक अस्पताल भरतपुर महानगरपालिकाको वडा नम्बर १५ को भगवानपुरमा अस्ताल बनाउन उपयुक्त देखेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्ताव स्वीकृत गरेको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल चितवनको भरतपुर, मकवानपुरको चित्लाङ र भक्तपुरको सुर्यविनायकमध्ये एक ठाउँमा बनाउन उपयुक्त हुने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेका थिए । सरकारी शिक्षकका लागि छुट्टै अस्पताल निर्माण गर्ने विषयमा पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले अस्पताल बनाउन उपयुक्त हुने तीन ठाउँ रायसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेललाई केहि दिन अघि प्रतिवेदन बुझाएको थियो ।
समितिले बुझाएको प्रतिवेदनमा भरतपुर महानगरपालिका–१५ भगवानपुर कित्ता नम्बर (५०, ५१, ५२, ६०, ६१, ६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विद्या जग्गा उपुयक्त हुने भन्दै मन्त्रिपरिषद् बैठकले सैदान्तिक सहमति दिने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पौडेलले नेपाल प्रेसलाई जानकारी दिए । अध्ययन टोलीले शिक्षक अस्पताल कहाँ बनाउने भनेर भरतपुरको चितवन, मकवानपुरको चित्लाङ र भक्तपुरको सुर्यविनायकमा उपयुक्त हुन्छ भनेर सिफारिस गरेको थियो ।