२७ दिनदेखि ट्रमा सेन्टरमा उँघिरहेकी कृष्णमाया तामाङ (भिडिओ)
काठमाडौं । २७ दिनअघिको बिहान कृष्णमाया तामाङले ढिँडो मस्काइन् । सिस्नो पकाइन् । आफू खाइन् र २४ वर्ष जेठो श्रीमान्लाई खुवाइन् । राम्रोसँग कान नसुन्ने छोरी कवितालाई पनि खुवाइसकेपछि छोरीका लागि औषधि किन्न हिँडिन् ।
सिन्धुपाल्चोककी कृष्णमायाले थाहा पाउँदादेखिको दैनिकी यस्तै छ । भोको पेटलाई अघाउन्जेल खाने मेलो पनि यस्तै नै छ । उनले जीवनभर लडेको ठूलो युद्ध पनि एउटै छ,- भोको पेटविरुद्धको युद्ध । यो युद्ध चाँडै सकिएलाजस्तो लाग्दै लाग्दैन, युद्धबाट भागेर जाने ठाउँ पनि कतै छैन कृष्णमायाको ।
सिन्धुपाल्चोकको खाडीचौरभन्दा अलि पर लाम्साङका ठाडा भीरहरूबाट कहिल्यै छुटकारा पाइनन् उनले । जतिजति उमेरको उकालो लाग्दै गइन्, भीरहरु उति नै अग्ला-अग्ला हुँदै गए । जतिजति दुःखसँग जुध्ने तागत सकिँदै गए, उत्ति नै पीरहरू थपिँदै गए ।
जनयुद्धले उनलाई बन्दुकमात्रै देखायो । भूकम्पले उनको घरै उडायो । आफन्त पुर्यो, आठ वर्षीया नातिनीलाई पुर्यो । कृष्णमायालाई भने सबै दुःख, विपद्को दर्शक बनाएर राखिदियो समयले ।
२६ दिनअघि औषधि लिन हिँडेकी उनलाई खबर आयो, ‘घाँसको भारी बोकेर आउँदै गर्दा भीरबाट लडिन् मंगली । खुट्टा भाँचिएको छ । काठमाडौं लानुपर्ने भयो ।’
पहिलो सन्तान मंगली कृष्णमायाभन्दा १७ वर्षले मात्रै कान्छी हुन् । घरमा ७८ वर्षीया श्रीमान् र ३१ वर्षीया विरामी छोरीलाई छाडेर कृष्णमाया ट्रमा सेन्टर आइपुगिन् ।
मंगलीको खुट्टाको नलीहाड भाँच्चिएर हड्डी नै बाहिर निस्केको छ । कृष्णमायालाई पीर एकै कुराको छ- मंगलीले फेरि ठूल्ठूला घाँसको भारी बोक्न सकिनन् भने के गर्ने होला ! उसको जीवन कसरी चल्ला ! ढिँडो र सिस्नोको जोगाड कसरी होला !
अहिलेसम्म अपरेसन गर्ने समय पक्का भइसकेको छैन । कृष्णमायालाई भने अत्यास भइसकेको छ । काठमाडौं कहिले छाडौं भएको छ । तर, पहिला त छोरी निको हुनुपर्यो ! छोरीको बेडमुनि म्याट ओछ्याएर सुतेको पनि २६ दिन भइसक्यो । अझै कति दिन बस्नुपर्ने हो, थाहा छैन । तर, अहिले भने अलि सहज भएको छ उनलाई । निःशुल्क बेड पाएकी छन् मंगलीले । खाना पनि पाएकी छन् ।
मंगलीले निःशुल्क बेड पाएको धेरै दिन भएको छैन । तर, कुनै फाराम भनेर पाएकी भने होइनन् । कृष्णमाया आफैं लडेर पाएकी हो । कृष्णमायाको मुख अलि तीखो छ । कडा प्रतिवाद गर्न सिकाएको छ उनलाई दुःखले ।
निःशुल्क बेड पनि पाइन्छ भन्ने सुनेपछि ट्रमा सेन्टरमा लड्न सुरु गरेकी थिइन् कृष्णमायाले । चेकअपका लागि आएका डक्टरहरुलाई भनिन्, ‘हामी गरिप-गुरुबालाई भन्या बेला पैसा छैन । हामी पहाड भित्ताको मान्छे हो । हाम्रो वेपार छैन, जागिर छैन । अनि यस्तो बेडको पैसा तिर्न सक्दैन नि त हामी ! छिट्टै अप्रेसन गर्दिए हामी जस्तो छ उस्तै खान गाउँ जान्छौँ ।’
‘मैले यस्तो भन्याँ कि ! त्यो भन्या हुनाले नि:शुल्क बेडमा लगेर राख्दिएको छ,’ कृष्णमाया सुनाउँछिन्, ‘मेरो मुख तीखो छ, यसरी बेस्सरी फत्फताइदेको, नि:शुल्क दियो बेड चाहिँ । औषधिहरू पनि पाउँछ रे ! आफू केही जान्दिनँ भनौँ भने यत्ति कुरो बोल्ने हो । चिनेको मान्छे कोही पनि छैन ।’
०००
कृष्णमाया सात वर्षकी मात्रै थिइन् । बाउले कान्छी आमा लिएर हिँडे । आमाले पनि कान्छो बाउ लिएर हिँडिन् । एकजना भाइ र बहिनी थिए, उनीहरू बिते । कृष्णमाया एक्लै रहिन् ।
‘मो एउटा ठिंग बाँचेँ । मो एउटालाई मर्ने काल नआउने रेछ । दुःख भोग्न पर्ने रेछ,’ कृष्णमाया सुनाउँछिन्, ‘बाउआमा आ-आफू हिँडेपछि मलाई मामाघर लगेर राख्यो । मो त्यतै बस्यो ।’
अलि पछि कृष्णमाया आमाको पछि लागेर सैतेलो बाउको घरमा बस्न गइन् । त्यहाँ अधियाँ बाख्रा थुप्रो पालेका थिए । उनको नियमित काम रह्यो, बाख्रा चराउनु । एक दिन बाख्रा हेर्न जाँदा भीरबाट चिप्लिइन् । तल खोल्सोमा अड्किइन् । जीउ ढुट्टो भएको थियो । थिलथिलो भएको थियो ।
त्योबेलाको घाउले गर्दा बेलाबेला अझैं पनि जीउ कक्रक्क बन्छ कृष्णमायाको ।
कृष्णमायाको दुःखको फेहरिस्त यत्तिमै सकिँदैन । सौतेलो बाउको घर छाडेपछि अरुको घरमा ढुकेर खाइन् । आधा पेटमात्रै खाइन् । गाउँलेले आफूले खाइरहेको ढिँडोको एक डल्लो तिहुनमा चोपेर फुत्त दिन्थे । कृष्णमाया हात थाप्थिन् । राम्रोसँग दिएको छ भने उनको हातमा च्वाप्पै बस्थ्यो, क्वाप्प खान्थिन् । राम्रोसँग नदिएर हुत्याइदिँदा भूइँमा झर्थ्यो, टिपेर धुलो टकटकाएर खान्थिन् ।
कृष्णमाया सुनाउँछिन्, ‘एउटा घरमा खायो, अनि अर्को घरमा गयो । त्यहाँ पनि त्यस्तै बचन लगाउँछ, कुकुरलाई जस्तो दिन्छ । त्यो टिप्यो, खायो । सात घर ढुकेर खाँदा पनि आधा पेट भएन भने कत्रो पेट थियो होला मेरो ? ढिँडो कति थियो होला ? त्यसरी ढुकेर खाएको भरमा मैले ज्यान बचाएको हो ।’
१२/१३ वर्षकी हुँदा खंग्रङ्ग सुकेकी कृष्णमायाको जीवनले अर्को मोड लियो । उनको विवाह भयो । तर, लोग्नेले कमाएर ल्याउँथेन । जाँड रक्सी खाएर हिँड्थ्यो । घरमा खान्की केही थिएन । बारीमा लगाएको बाली बाँदरका लागि ठिक्क हुन्थ्यो । दुःखहरुका बीच बाँच्ने एउटै आशा थियो- लोग्ने । तर, लोग्नेले पनि अर्कै लिएर हिँड्यो ।
दुःख र अभावको भूमरीमा एक्लै परिन् कृष्णमाया ।
अलि पछि कृष्णमायाको जीवनको अर्को अध्याय सुरू भयो । आफूभन्दा २४ वर्ष जेठोसँग पोइल गइन् । त्यही पोइसँग दुःखको लामो रेखामा हिँड्दै-हिँड्दै अहिले ट्रमा सेन्टरमा आइपुगेकी छन् ।
०००
ठूली छोरी मंगली अस्पतालको शय्यामै छिन् । मंगलीपछिको एउटा बच्चालाई एक दिन र एक रातमात्रै दूध खुवाएकी थिइन्, भोलिपल्ट मर्यो । त्यो बच्चाको अनुहार कृष्णमायाको आँखामा अझै झलझली छ । तर, त्यति राम्रो बच्चा कसरी मर्यो, उनैलाई थाहा छैन । त्यसपछि जन्मेको छोरो छ, सोमबहादुर तामाङ । सोमबहादुरपछिको कविता हुन् ।
एकातिर मंगली ट्रमा सेन्टरमा छिन्, अर्कातिर कवितालाई निमोनिया बिग्रेर धम्की निस्किएको छ । जति उपचार गरे पनि निको भएकी छैन । महिनाको २६ सयको औषधिमात्रै लाग्छ । धन्न कृष्णमायाको बूढाको वृद्धभत्ता आउँछ । उनी धेरथोर कुटोकोदालो पनि गर्छिन् ।
उनकी कान्छी छोरी कविता दुई वर्षसम्म बोलिनन् ।
राति दुई बजे उठेर छोरीको पूजाका लागि घरमाथिको डाँडोमा रहेको देउताकहाँ हिँडेकी थिइन् । बिहान १० बजे पुगेपछि देउताको थानमा बत्ती बालिन् । छोरीलाई तेलमा चोपलिन् । अनि त बल्लतल्ल छोरी बोलिन्, ‘आमा !’
तर, भोक लाग्यो भने ‘भोक लाग्यो आमा’ भन्न सक्दिन थिइन् । खोपीमा राखेको ढिँडोतिर हेर्दै ‘आमा ऊ’ भन्थिन् । त्यतिमात्रै थियो छोरीको बोली । पछि काठमाडौं आइन् कविता । १२/१३ वर्ष अर्काको घरमा भाँडा माझेर बसिन् । भाँडा नै माझे पनि राम्रैसँग बसिरहेकी थिइन् । कान राम्रोसँग सुन्दिन थिइन् ।
‘कुन चाहिँ फटाहाले फकाएर एउटा भोटेसँग बिहे गराइदिएछ,’ कृष्णमाया सुनाउँछिन्, ‘पछि त कान नसुन्ने छोरीलाई त्यो भोटेले फकाएर विदेश पो पठाउने भएछ । कान नसुन्ने मान्छे, नजा छोरी भनेको त्यसले पनि मानेन ।’
कविता चार वर्ष साउदीमा बसिन् । पछि बिरामी भएर नेपाल फिरिन् ।
चार वर्षसम्म कविताले काम नै त गरी होली साउदीमा !
कृष्णमायाको अनुमान छ, ‘आबो काम नै त गर्यो होला । अर्काले पिट्यो होला । कान नसुन्नी, कुरा नबुझ्नी छ । हाम्रै कुरो त हम्मेसी बुझ्दैन ।’ अहिले चाहिँ कविताले देब्रे कान अलिअलि सुन्छिन् । कृष्णमायाको विश्वास छ,- पूजा गरेकाले होला !
कविताको बिहे भए पनि कृष्णमायाहरुले पानीसम्म खाएका छैनन् । उनी सुनाउँछिन्, ‘हाम्रो रीतिथितिमा चारदाम भन्छ, जाँडरक्सी, कुख्रा गरेर खानुपर्छ । त्यसको त एउटा दुरेन पनि गरेको छैन ।’
कृष्णमायालाई ज्वाइँबारे थाहा भएको कुरा यत्ति हो – कपनमा किराना पसल चलाएर बसेको थियो ।
विदेशबाट आएपछि ज्वाइँले वास्ता नै गरेन कवितालाई । कवितालाई पनि झुक्याएर विवाह गरिदिएका रहेछन् । ज्वाइँको जेठीपट्टीको छोरो नै ठूलो भइसकेको थिएछ । कृष्णमायाले सुनिन्, – ‘कविताले विदेशमा कमाएको पैसा पनि ज्वाइँ र जेठी मिलेर खाइदियो रे ! दुई तोला सुन पनि खाइदियो रे !’
तर, कृष्णमायाले गर्न सक्ने केही थिएन । बिरामी छोरी घरमा आइन् । उनैलाई औषधोपचार गरेर बसेकी छिन् ।
छोरो चाहिँ काठमाडौंतिरै काम गर्छन् । अहिले गाउँ गएका छन् । उनले बुझेअनुसार छोरोले गाडीमा के-के सामान अनलोड, लोड गर्छ ।
‘काठमाडौंमा हिँड्दा तपाईंले चिन्नु पनि पर्छ मेरो छोरोलाई । यत्ति कुरो गरेपछि तपाईंले अन्दाज गरेरै चिन्नुहुन्छ होला,’ छोराबारे जोशिँदै भन्छिन्, ‘मेरो अनुहारबाट पनि पत्ता त लाइन्छ नि ! जसले पनि मेरो अनुहार पत्ता लाएपछि चिन्छ । यहीँ चाबाहिलमा गाडीमा हिँड्छ, भारी बोक्छ ।’
०००
कृष्णमायाको बाउतिरको दुईवटी छोरीमात्रै हुन् । एक कृष्णमाया, अर्की सौतेनी आमातिरको बहिनी । तर, उनले बाउको सम्पत्ति खोजिनन्, दाबी पनि गरिनन् ।
‘भोकमा नपा’को भुटेको मकै अरे, बैंसमा नपा’को पोइ अरे क्या । बालखामा नपा’को लुगा र एक गाँस खान नपा’को मलाई किन चाहियो ?’
थोरै आवाज ठूलो बनाएर बोल्छिन् कृष्णमाया, ‘जाबो त्यो थोत्रो खेतबारी मलाई के काम ! मेरो पाखुरा छ, कमाउँछु, चारमाना बोनी गर्छु, खान्छु ।’
अहिले उनलाई कहिले काठमाडौं छोडौँ भएको छ । गाउँको ढिँडो नै मीठो लाग्छ कृष्णमायालाई । सुस्नो घोटेर खानै मजा लाग्छ । तर, मंगली खुट्टा भाँचेर बसेकी छिन् । सुगर पनि देखिएको भनेका छन् । काठमाडौंबाट फिर्दा मंगलीलाई पनि निको बनाएर लैजानु छ उनले । गाउँमा श्रीमान्को कागज मिलेको छैन रे भत्ता लिनका लागि, उनलाई दिनदिनै फोन आइरहेको छ ।
कृष्णमाया भन्छिन्, ‘मंगलीलाई त जसरी पनि निको बनाएर लैजान्छु । कवितालाई पनि निको बनाउनु छ । कत्ति दुःख भेगेर आएँ, थाकेको छैन अझै पनि । तर, मंगलीको अप्रेसन छिटो गरिदिए हुन्थ्यो डाक्टरहरूले, खै गर्दिएको छैन ।’