प्रदेश १ को नामाकरणमा माओवादीको दुई विकल्प – Nepal Press

प्रदेश १ को नामाकरणमा माओवादीको दुई विकल्प

विराटनगर । सत्तारूढ दल नेकपा माओवादी केन्द्रले प्रदेश १ को नामसम्बन्धी प्रस्ताव विकल्पसहित अघि बढाउने भएको छ ।

प्रदेश संसदमा रहेका दलहरूबीच मत भिन्नता भएको अवस्थामा माओवादीले ‘किरात’ प्रदेश र समझदारी भएको अवस्थामा ‘किरात-कोशी वा कोशी-किरात’ नामलाई अघि सार्ने भएको हो ।

‘किरात’ नाममाथि सहमति नभएको अवस्थामा समझदारी कायम गर्न ‘किरात-कोशी वा कोशी-किरात’ नामलाई अघि सारिने माओवादीका प्रदेश सांसद धिरेन शर्मा ‘रमण’ले बताए ।

माओवादीले राज्य पुनर्संरचनाको क्रममा प्रस्ताव गरेको चार गणराज्य लिम्बुवान, खम्बुवान, कोचिला र अवध हालको प्रदेश १ मा छन् ।

तर, यी चारवटै नामलाई सम्बोधन हुने गरी ‘किरात प्रदेश’ प्रस्ताव गरिएको माओवादीले जनाएको छ । प्रदेश संसदमा छलफल हुँदै आएका नामहरूमा सगरमाथा, लिम्बुवान, खम्बुवान र विराट पनि हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर