संसद अन्यौलमा नराख्न एमालेलाई लुम्बिनी प्रदेश प्रमुखको आग्रह – Nepal Press

संसद अन्यौलमा नराख्न एमालेलाई लुम्बिनी प्रदेश प्रमुखको आग्रह

रूपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ऐन कानुन बनाउने प्रदेशसभालाई अन्यौलमा नराखी सुचारु गर्न आग्रह गरेका छन् ।

लुम्बिनी प्रदेश सभाको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै उनले दलहरुबीचको मतभिन्नतालाई छुट्टै छलफलको विषय बनाएर संसद सुचारु गर्न आह्वान गरे ।

प्रदेशसभाका समस्या आपसी छलफल र संवादवाट समाधान गर्न उनले आग्रह गरे । लुम्बिनी प्रदेशसभा विगत ६ महिनादेखि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गदै आएकोमा उनले छलफलबाट समस्या समाधान गर्न अपील गरे ।

प्रदेशसभाले तीन वर्षको अवधिमा ५९ वटा कानुन बनाएकोमा पछिल्लो एक वर्षमा आठवटा थप कानुन सहित चार वर्षे अवधिमा ६७ वटा कानुन बनाएको छ ।

प्रदेशसभा स्थापनादेखि नवौं अधिवेशनसम्म दर्ता भएका ७४ विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा विचाराधीन अवस्थामा छन् । चारवटा विधेयक भने फिर्ता भएका छन् ।

प्रदेशसभाले तीन वर्षपछि दुई तिहाई बहुमतका आधारमा प्रदेशको स्थायी राजधानी तोक्न र नामकरण गर्न भने सफल भएको सभामुख पूर्ण बहादुर घर्तीले बताए ।

कार्यक्रममा मुख्यमन्त्री कुल प्रसाद केसीले सरकार प्रदेशका जनताको भावना र प्रदेशको विकासमा प्रतिवद्ध रहेको बताए । उनले प्रदेशसभाको भवन स्थायी राजधानीमा निर्माणको अन्तिम चरणमा रहेको समेत बताए ।

प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभाको अवरोध हटाउन र समितिहरूलाई पूर्णता दिने विषयमा सत्तापक्ष नै बढी जिम्मेवार हुनुपर्ने भएपनि ठोस पहल हुन नसकेको आरोप लगाए ।

सत्तारुढ नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले दलहरूबीच सहमति गरेर प्रदेशसभाको अवरोध हटाउने र संसदीय समितिका सभापति चयन गर्ने विषयमा गठबन्धनले पहल गरे पनि प्रमुख प्रतिपक्षले दुईजना सांसदको विषयलाई लिएर हलो अड्काउने काम गरिरहेको आरोप लगाए ।

स्थापना दिवसका अवसरमा प्रदेशका १२ जिल्लाका माध्यमिक विद्यालयमा संघीयता कार्यान्वयनमा प्रदेशसभाको भूमिका विषयक निबन्ध प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार, दोस्रो १० हजार, तेस्रो आठ हजार र सान्त्वना पाँच हजार रूपैयाँ राशीको पुरस्कार र प्रमाणपत्र समेत हस्तान्त्तरण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर