जसले नेपालमा ‘गोजुरीयो’ भित्र्याए – Nepal Press

जसले नेपालमा ‘गोजुरीयो’ भित्र्याए

कैलाली । तीन दशकपहिले दाङ घोराही– ५ धर्नाका रामचन्द्र सुवेदी भारतको केरलामा थिए । अध्ययनको सिलसिलामा त्रिभानन्दपुर पुगेका सुवेदीले त्यहाँ करिब ६ वर्ष बिताए । अध्ययनसँगै गोजुरीयो कराँते सिकिरहेका उनी सेकेन डान लिएर २०५३ सालमा नेपाल फर्किए ।

नेपाल फर्किएका सुवेदीले नेपालमा गोजुरीयो कराँतेबारे नभएको थाहा पाए । त्यो बेलासम्म नेपालमा सितोरीयो, बादुरीयो, सोतोकान कराँते थियो । तर, गोजुरीयो थिएन ।

गोजुरीयो कराँते नभएको थाहा पाएपछि भित्र्याउने योजना बनाए सुवेदीले । तर, खेलाडी पाउन सहज भने भएन ।

उनी दिल्ली गए । दिल्लीमा तयारी सुरु गरे । त्यहाँबाट १० जना ब्ल्याक बेल्ड गरेका खेलाडी लिएर २०५४ सालमा फेरि नेपाल फर्किए, भारत नफर्किने गरी ।

तत्कालीन अवस्थामा शरदसिंह भण्डारी खेलकुद मन्त्री थिए । प्युठानका सांसद नवराज सुवेदी नातामा उनका दाइ थिए । दाइ नाता पर्ने व्यक्ति सांसद भएको र सांसदको खेलकुद मन्त्रीसँग राम्रो सम्बन्ध भएको फाइदा उठाउन उनले ढिलो गरेनन् ।

‘सांसद र मन्त्रीबिच राम्रो चिनाजानी थियो । नेपाल भित्रिसकेपछि यहीं खेलकुदका लागि केही गर्नुपर्छ भनेर मैले उहाँहरूलाई मेरो योजना सुनाए’ उनले भने , ‘उहाँहरूले पनि राम्रो प्रतिक्रिया दिएपछि मलाई थप ऊर्जा मिल्यो । ’

सुवेदीले राष्ट्रिय खेलकुद परिषद्बाट विधान मगाए । त्यही विधानको आधारमा पहिलोपटक २०५४ सालमा गोजुरीयो कराँते संघ दर्ता गर्न आवेदन दिए ।

उनी त्यो बेला गोजुरीयो कराँतेका प्रमुख प्रशिक्षक थिए । आफू महासचिव र नवराज सुवेदीलाई अध्यक्ष बनाए । अनि संघ दर्ता गर्न प्रस्ताव पेस गरे । त्यो बेला संघ दर्ता भएन ।

२०५७ सालमा मलेसियाबाट ग्रान्ड मास्टरलाई नेपाल बोलाएर केबी महर्जनको अध्यक्षतामा नयाँ कमिटी भयो । त्यसमा उनी उपाध्यक्ष थिए ।

तर, त्यो बेला पनि संघ दर्ता भएन । अन्ततः २०६० सालमा नेपालमा उनी, बालाराम मित्रलगायतको पहलमा राष्ट्रिय खेलकुद परिषद्मा गोजुरीयो कराँते संघ दर्ता भयो ।

संघ नेपालमा भित्रनुभन्दा पहिल्यै खेल भने भित्रिसकेको थियो ।

‘पहिलोपटक मैले दाङको भालुवाङमा प्रशिक्षण सुरु गरेको थिएँ, त्यो बेलासम्म संघ दर्ता भएको थिएन । ८–१० जना मात्रै थिए’ उनी भन्छन्, ‘नेपालमा ८–१० जनाबाट सुरु गरेको गोजुरीयो कराँतेमा अहिले ८–१० हजारले प्रशिक्षण गरिरहेका छन् ।’

आधिकारिकरूपमा दर्ता नहुँदै २०५८ सालमा अन्तार्राष्ट्रिय गोजुरीयो कराँते प्रतियोगितासमेत आयोजना भएको थियो । नेपालसहित बंगलादेश, श्रीलंका भारतलगायतका देशहरू सहभागी थिए ।

दर्ता हुनुअघि ८–१० जिल्लामा शाखा स्थापना भइसकेको थियो । अन्तर्राष्ट्रिय पदक पनि दर्ता हुनभन्दा अघिबाटै गोजुरीयोले पाइसकेको थियो ।

नेपालमा कराँतेको सबैभन्दा कान्छो संघ बनाएर पनि अहिले दोस्रो स्थानमा रहेको उनी बताउँछन् । उनी भन्छन् ‘नेपालमा भित्रिएको छोटो समयमै हामीले पाएको यो सफलताले हामी सन्तुष्ट छौँ ।’

उनका अनुसार अहिले ५० जिल्ला भन्दा बढीमा शाखा छन् । ती जिल्ला भित्र दर्जनौँ दोजोहरु छन् ।

मलेसियाबाट एसियन कराँते महासंघको कोच पास गरेका उनले एसिया र युरोपका दर्जनभन्दा बढी राष्ट्रहरूमा पुगेर खेलेका छन् र खेलाएका छन् ।

परिवारका सबै खेलाडी

हरेक श्रीमानको सफलतामा श्रीमतीको हात हुन्छ भनेझैँ सुवेदीको सफलताको श्रेय पनि उनको धर्मपत्नीलाई जान्छ । उनको श्रीमती पनि खेलाडी हुन् । गोजुरीयो कराँते राष्ट्रिय रेफ्री तथा संघको केन्द्रीय सदस्य रहेकी पशुपति चौधरीसँग सुवेदीको २०५९ सालमा विवाह भएको थियो ।

वरिष्ठ उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक श्रीमान्, केन्द्रीय सदस्य तथा राष्ट्रिय रेफ्री श्रीमती दुवै जनाको ‘क्यामेष्ट्रि’ गजबले मिलेको छ ।

खेल्ने खेलाउने क्रममा २०५८ सालमा उनीहरू बीच भेटघाट भयो । त्यसको एक वर्षपछि वैवाहिक बन्धनमा बाँधिए । दुवै एउटै क्षेत्रमा रहेको हुँदा विवाहपछि उनीहरूको खेल जीवन फेरिएन, बरु अझै झागिँदै गयो ।

‘विवाहपछि मैले धेरै सफलता पाएको महसुस गरेको छु’ सुवेदीले भने, ‘यसमा मेरो श्रीमतीको धेरै ठूलो हात छ ।’

श्रीमतीबाट श्रीमानलाई मात्र होइन, श्रीमानबाट श्रीमतीलाई पनि उत्तिकै सहयोग मिल्यो । त्यसैले पशुपतिले पनि खेल जीवनमा पूर्णविराम लगाउन सकिनन् ।

विवाहभन्दा पहिले ब्याक बेल्ड गरेकी उनी अहिले थ्री डानमा पुगिन् ।

‘विवाहपछि प्रतियोगितामा मेरो सहभागिता काम भएन’ उनले भनिन्, ‘श्रीमान्को सहयोगले थप हौसला मिल्यो ।’

साफ खेलको लागि छनोट चरणसम्म पुगेकी पशुपति गङ्गा अधिकारसँग पराजित भएकी थिइन् । पछि गङ्गाले स्वर्ण जितिन् ।

उनीहरूका दुई सन्तान पनि छन् । उनीहरूलाई समेत कयौँपल्ट आफैसँग बोकेर प्रतियोगितामा सहभागी हुन गएको क्षण याद छ पशुपतिलाई । ती क्षणहरूले उनलाई थप ऊर्जा दिइरहेको बुझाइ छ ।

कोहलपुरमा रहँदा ३–४ किलोमिटर छोरीलाई बोकेर प्रशिक्षण गर्न गएको क्षण पनि ताजै छन्, उनीहरूको मानसपटलमा । सकसपूर्ण यात्राबाट अहिले सफलतातर्फ उन्मुख भएको बुझाइ छ दुवैको ।

आफू नहुँदा श्रीमतीको नेतृत्वका खेलाडीहरू प्रतियोगितामा सहभागी भएको देख्दा रामचन्द्र निकै खुसी हुन्छन् । सहायक प्रशिक्षक प्रकाश चन्दका कारण पनि निकै सहज भइरहेको उनी बताउँछन् ।

घरमा श्रीमान् र श्रीमती मात्रै होइनन्, दुई सन्तानहरू पनि खेलाडी छन् ।

जेठी छोरी स्मारिका क्रिकेट खेलाडी हुन् भने कान्छी छोरी स्मृति गोजुरीयो कराँतेबाट सेकेन्ड डान हुन् । उनी राष्ट्रिय प्रतियोगिताहरूमा समेत सहभागी भइसकेकी छन् ।

गोजुरीयो कतारेलाई नेपाल भित्राएका रामचन्द्रलाई नेपालमा गोजुरीयो कतारेलाई अग्रपंक्तिमा ल्याउने सपना छ । गोजुरीयोमार्फत अन्तर्राष्ट्रिय पदम ल्याउने उनको धोको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *