रेखामा कोरिएको भविष्य
काठमाडौंको संरचना, कमिलासरी आफ्नै रफ्तारमा गुडिरहेका मोटरहरु धुवाँ धुलो उफ् ! मानिसहरुको भिडभाडमा आफूलाई व्यस्त बनाइरहेको राजधानी कति नतमस्तक छ, कृत्रिम दुनियाँमा ।
मानिसहरु पनि त्यस्तै सोचाइमा व्यस्त छन् । यो जिन्दगीमा अझै संघर्षको समायावधि कति होला भन्नेमा कौतुहल जम्माइरहेका छन् । भविष्यमा सुखी र खुशी बन्ने अभिलाशा बोकेर आफ्नै तरिकाले दगुरिरहेका छन् म जस्तै मान्छेहरु ।
हत्तेरीका ¤ कति अभावको जिन्दगी बाँच्नु परिरहेको होला मैले पनि, कहिँ कतै दुःख बिसाउने ठाउँ पनि भेट्दिनँ । फेरि सडकको किनारमा कति निस्फिक्री बसिरहेका होलान्, जोतिषहरु– धुँवा धुलोको केही पर्बाह नै छैन ।
यता नगर प्रहरी पनि आफ्नो ड्युटी पूरा गर्न दर्गुर्दै छन् । भने जसरी आनन्दले बस्न पनि मिलेन ! तैपनि आफू चिसो भुर्इँमा ओठ कलेटी पारेर बसिरहेका छन् दुनियाँको भविष्य बताउन । खै खाने मेसो हो कि क्या हो ? जे होस् जोतिषलाई भ्याइनभ्याइ छ । त्यसैले काठमाडौंको सडकझैँ व्यस्त छन् उनीहरु पनि ।
हस्तरेखाको नक्सा फिँजाएर भविष्यवाणी गरिरहेका छन् । उनीहरु जस्तै सडक पेटीमा आफूलाई लमतन्न पारेर चिसो भुईँमा ओच्छाइरहेका ती अपाङ्गता भएका मानिसहरु । जसको हात छैन, कति जिज्ञासु छन् तिनीहरु पनि, भाग्यको अनुमान गर्न । हात नहुनेको भाग्य हेर्न मिल्दैन र ? तर विदुरले यसरी त मनोवाद मात्रै गरेको हो ।
अकल्पनीय अभावमा जीवन गुजारिरहेको पहाडको ठिटो विदुर कति जिज्ञासु बनेको होला, आफ्नो भाग्य जान्न । विगतको दर्दनाक पीडा, वर्तमानमा पनि मन थिरमा छैन । यतिबेला अभावले अचेडिरहेको छ । कति पीडाग्रस्त छ जीवन । मन बोझिलो भाको छ उस्तै ।
तर उज्जवल भविष्यको केही झिनो आशा बोकेर राजधानी छिरेको विदुर हेर्दै कति भरोसा योग्य देखिन्छ । पाखुरीमा बल, मनमा आँट, काँधमा साहस बोकेर आफ्नो भविष्यको संकेत कस्तो छ ? पहिल्याउन नाम चलेकै ज्योतिषकोमा पस्न अलिकति मोडिन्छ ।
ओहो ! ज्योतिष कति व्यस्त रहेछन् फेरि, मेरो पालो कति बेला आउने होला ! विदुर मनमनै सोच्दै थियो । भित्तामा ठूलो अक्षरले लेखिएको नियमतिर आँखा ठोकिन्छ विदुरको, आफ्नो समयमा मात्र प्रवेश गर्नुहोला ।
थुप्रै जना हुनुहँुदो रहेछ पालो कति खेर आउने हो कुन्नी ? कतिबेर भो आमा आउनुभएको ? लाइनमा उभिएकी अधबैसे महिलासँग सोध्यो विदुरले । सवालले आक्रोशित भइन्, ती अधबैशे कड्किँदै भनिन्– आमा हैन हजुरआमा भनन, कति न छोरो पल्टिनुपर्ने ।
कति नमज्जाको जवाफ, विदुरले सोचेको पनि थिएन त्यस्तो त । ती महिलालाई कति न जवानी चढेको फेरि एकै क्षणको सम्बोधन त हो नि विचरा विदुर सोझो मान्छे अक्क न बक्क पर्यो । थुप्रै मानिसहरु जस्तै लामबद्ध भएर आफ्नो पालोका लागि नाम लेखायो विदुरले पनि । कल्पना दिदी लाइनको व्यवस्थापक हुनुहँुदोरहेछ ।
विदुरले सोध्यो– दिदी साह्रै प्यास लागेको छ, पानी छ होला त ?
कल्पना दिदी पनि कति रुखेर बोल्न सकेकी होलिन– ए भाइ ! काठमाण्डौँमा पनि पानी मागेर पाइन्छ र ? एक जार पानी किन्न ५० रुपैयाँ तिर्नु पर्छ तिमी जस्ता मान्छे दिनमा सय जना आउछन् के साध्ये हुन्थ्यो र भाइ पानी बाँडेर । काठमाडौंमा मेलम्ची बगेको छैन क्यारे !
हा…हा..हा दिदी । लाइनमा बसेकाहरु विदुरलाई दया देखाउदै हाँसे । विदुर लज्जित भयो, पश्चताप गर्यो पानी मागेकोमा ।
काठमाण्डौका मान्छेहरु हाम्रो गाउँमा आए भने त पानीको छालमै सुत्थे होलान्, के गर्नु पानीको छाँगा र स्वच्छ हावामा भुलेर भएन बाध्यताले डो¥याए पछि– विदुरले आफ्नै मनसँग बात मार्यो ।
हातमा गोल्डेन घडी बाँधेको विदुर समयको हेक्का राख्दै आँखातिर आफ्नो दाहिने हात बटारी रहेको थियो । ज्योतिषकी छोरी पवित्रा भर्खर बजारबाट कोठामा आइपुगी ।
चञ्चले स्वभावकी पवित्रा त्यो लस्करलाई नियाल्दै बोलिन्– आज त थुप्रैजना हुनुभएछ पालो कुर्दा दिक्क लाग्ने भयो नि !
पवित्रालाई नियाल्दै लाइनमा बसेको एकजना बोले– ए बहिनी बाबासँग कुरा मिलाइदिनुस न मलाई साह्रै हतार छ ।
पवित्रा आफ्नो शक्तिको दुरुपायोग गर्न कति पनि चाहान्न । भन्दिहालिन्– हेर्नुस् दाइ सबैजना हतारमै हुनुहुन्छ मलाई नियम मिचेर एक जनालाई खुशी पार्नु छैन ।
विस्तारै घाम डुब्दै थियो । अलि मान्छेको भीड कम हुँदै गर्दा ज्योतीषकी छोरी पवित्राले भनिन्– आउनुहोस् भित्र बसाँै जाडो छ बाहिर । हुन्छ हुन्छ नानी– एक जना बुढी आमा बोलिन् ।
नानी बाहिर जान पनि गाह्रो भाको छ, एक गिलास तातो पानी दिनु हुन्छ ?– ती आमैले पानीको अपेक्षा गरिन् ।
पवित्रा नाम जस्तै पवित्र छिन् । भुँइमा शब्द खस्न नपाउँदै भनिहालिन्– आमा थर्मसमा जति खाए पनि छ ।
एक्कै छिन है त । पवित्रा गिलास लिन किचेनतिर छिरी । यो बीचमा विदुरले पवित्रालाई नजाने जसरी नियालिरहेको थियो । पवित्राले भित्र पसेर बुढी आमालाई पानी थमाइ दिइन् ।
बुढी आमा विदुरको नजिकै थिइन् । घुटुक्क तातो पानी निल्दै भनिन्– बाबु के गर्नु यी अपराधीहरुले बस्न नदिने भए । सिरानीमुनि बुढाको पेन्सन झिकेर पैसा राखेको थिएँ, दराजको सुन पनि छैन, पैसा पनि छैन । म बुढी मान्छेलाई यो कस्तो दशा आइलाग्यो, दिक्क लागेको छ । पवित्रा अलि कुनामा पत्रिकामा मस्त भएझैँ गरी बुढी आमालाई सुनिरहेकी थिइ । विदुर ध्यान दिएर सुनिरहेको जस्तो गरी मनलाई अन्तै घुमाउँदै थियो ।
ज्योतिष बा कति खट्न सकेका होलान् । मान्छे पनि कति हुन् कति ?–चारैतिर आँखा घुमाउँछ विदुरले आफ्नै मनसंग सवाल गर्यो ।
आफ्नो आफ्नो पीडाको बोझ लिएर आएका ती मानिसहरुको भीडमा खुलेरै आपूm–आफूमा पीडा साट्दै थिए । जिज्ञासा र अभाव सबैको कहाँ एउटै हृुन्थ्यो र ? व्यापार, व्यवसाय, अध्ययन, वैदेशिक रोजगार, वैवाहिक जीवन र सम्बन्ध, लभ अफेयर, धन दौलत, स्वास्थ्य ,रोजगार यिनै विषयवस्तु भविष्यमा कस्तो रहन्छ ? भन्ने जिज्ञासा लिएर आएका सबै जिज्ञासुको मुहारमा कौतुहल्ताले प्रश्न जन्माइरहेको थियो । विदुरले भकानिँदै आफ्नो आमा जस्तै सम्झिएर ती बुढी आमासँग आफ्नो अतीत बाँड्दै समय छोट्याउने मेसो गर्यो ।
०००
विदुरको अतीत–
एक दिनको कुरा हो । एकाबिहानै बुवाले भने– तँ किन अँध्यारो मुख लागउँछस् छोरा ? तँैले पनि यस्तो व्यवहार गरिस् भने म कस्को सहारमा बाँचु भन् त ? समयमै भात खाएर स्कुल जानू, मैले किनारमा बल्छी थापेको छु, माछा पर्यो कि हेर्न जानु छ ।
विदुर बाबुको कुरा ध्यान दिएर सुनिरहेको थियो । बाबुले फेरि भने– अनि सुन, ठूला घरका मुखियाको मिलमा पिठो पिन्न लानु छ रे छिटै फर्कनु है । बुबा यति भन्दै ओरालो झर्नु भयो ।
विदुरले मनमनै सोच्यो– स्कुल त जानु नि कति धेरै गृहकार्य छ । कपि पनि छैन, डट्पेनमा पनि मसी सकिएको छ स्कुल जाने बितिक्कै होमओर्क हेर्नुहुन्छ मास्टर साहेवले । होमओर्क देखाएन भने कति नमज्जाले पिट्नुहुन्छ अनि म पिटाइ खाउँ ?
बुबा निक्कै तल पुिगसके पछि मैले सोधेँ– बुबा अनि तपाईँ नखाइ जाने ?
खान्नँ, खान्नँ खाऊ तिमी, मलाई खान मन नै छैन– बुवाले तल झर्दै जवाफ दिनु भयो ।
आमाले क्यान्सरबाट थलिएर मृत्युवरण गरेको एक वसन्त पनि पार गरेको थिएन । आमाको उपचारमा खर्च जुटाउन नसकेर खेत पनि साहुकोमा बन्धक राखिएको थियो । आम्दानीको केही स्रोत पनि थिएन । म पनि साह्रै पढ्न मन गर्थें, तर खर्च गर्ने हैसियत थिएन । गरिबीको निकटताले हाम्रो परिवारलाई हैरानी कटाएको थियो ।
बुवा, आमाको सम्झना र उहाँसँग बिताएका पलहरुको स्मरण गर्दै गहभरि आँशु टिल्पिल्याएर खोलाको नजिकै पुग्नु भएछ । तिनै झुत्रो स्टकोट, धुजाधुजा परेको मैलो पोटुका अनि घुँडा टालेको सुरुवाल कमिज । मन पनि थिरमा छैन, रहोस पनि कसरी ! बल्छी तान्न खोज्दा शिथिल बन्नुभएछ । तै पनि सकिनसकी बल्छी तान्दा चारवटा ठूलाठूला माछा परेछन् ।
माछा बोकेर उकालो लाग्दै गर्दा सम्नीमा दिदीले बोलाउनु भयो – ए वीरे दाइ माछा त राम्रै परे जस्तो छ आज । दाइ, माच्छा बेच्ने त होला नि ! यतै छोडेर जानुस् भरे घरमा पैसा पठाइदिउँला ।
‘हुन्छ’ भनेर तीनवटा माछा जोखेर छोड्नु भयो । बुवा, आमा बितेपछि सुर्ती असाध्यै बढी खानुहुन्थ्यो । गोजीमा भएको धुलो सुर्ती काँचो पातमा बेरेर खाँदै एउटा माछा च्यापेर घर आउनु भयो ।
ए विदुर विदुर, कता छस् ?– आँगनबाट बुबाले आवाज दिनु भयो ।
मैले भने– बुवा म होमवर्क गर्दैछु ।
ए ल ल अहिले गर्नु पहिले बाहिर आइज त– बुवाले भन्नु भयो ।
म बाहिर निस्कँदै ठूलाघरेले दिएको ५० रुपैयाँ भनि बावुलाई सुम्पिदिएँ । बुबाले सोध्नु भयो– किन दिएको पैसा ?
मैले भने– स्कुलबाट छिटै आएर मेलामा पिठो पिन्न लगिदिएको थिएँ । खाजा खा भनेर पैसा दिनु भो, छिटो गरेर मेलमा गएँ, उतैबाट कपी कलम किनेर ल्याएँ । बुवा हिजो कपी नभएर होमवर्क गरेको थिएन । मास्टर साहेवले अगाडि लगेर सबै साथीको अगाडि पिरियडैभरि कुखुरा बन्न लागाउनु भयो ।
अनि मसंग माग्नु पर्दैन त ?– बुबाले हप्काउँदै भन्नुभयो ।
बुवा तपाईसँग पनि त पैसा थिएन हैन ?– मैले भनेँ ।
हिजो तल्ला घरको ठूलीआमा पैसा लिन आउँदा भाउजू एक दुई दिन पर्खनुस् है भन्नु भएको थियो अनि म कसरी तपाईसँग पैसा माग्नु ।
बुबासंगको संवादसंगै म चुल्होमा बसेँ । बुवा पनि चुह्लोकै छेउमा बसेर मेरो कलिलो अनुहारलाई नियाँल्दै भविष्यप्रति गहिरिँदै सोचाइ भित्रै हराउनु भएछ क्यारे मलाई त्यस्तै लाग्यो । कति बुझ्ने मेरो छोरो मेरो भविष्यको सहारा यहीं हुन्छ, बुवा मप्रति खुशीनै रहनुहुन्थ्यो । मलाई धेरै विश्वास गर्नुहुन्थ्यो । खानाको मेसो सकिएर बावु छोरा एक प्रहर अँधेरी रातलाई पन्छाउन ओच्छयानतिर पस्यौं । तर भने जस्तो निद्रा कहाँ पथ्र्यो र । बुबाको मनमा सायद गरिबीले आमालाई बेलैमा उपचार गर्न नसकेर आमा गुमाउन परेको । भाको जेथो साहुको कब्जामा परेको, एउटा भएको छोराको ईच्छा पूरा गर्न पनि नसकेको पीडा थियो ।
पीडा जेसुकै होस् समय जसरी नै अगाडि बढोस् र न नियतिलाई रोक्न सकिने न सामाजिक निरन्तरता रोकिने । आमा बितेको ४ वर्षपछि मैले पनि प्रवेशिका परीक्षा उतीर्ण गरेँ । अनि लागेँ उच्च शिक्षाको लागि राजधानी काठमाडौं ।
०००
उच्च शिक्षा हासिल गर्न राजधानी छिरेको आज ६ वर्ष पूरा भइसक्यो । दश जोड दुई त होटलको भाँडा माझेर पढँे । काठमाडौँमा कहिलेकाहीँ होटलमा आउने पाहुनाले बक्सिस दिन्थे । गुजारा यसैगरी चलिरहेको छ । अतीतबाट पन्छदै विदुरले भन्यो–आमा भगवान् कस्का लागि हुन कुन्नी म त सधँै रोएरै वाँच्नु पर्छ क्यारे !
आमाले भनिन्– बाबु हरेस खानुहँुदैन पढेलेखेका मान्छेको दिन आउँछ आत्तिनुहुन्न । तिम्रो जस्तो पीडा मसँग पनि थुप्रै छन् ।
पवित्रा पनि मज्जाले सुनिरहेकी थिइ विदुरका कुरा । पवित्राले भनी– अनि दाइ तपाई कति धेरै अभिलाशा लिएर यहाँ आउनु भएछ है मलाई त साह्रै दुख लाग्यो ।
विदुरले भन्यो– अँ त बहिनी ।
विवाह भाको छ कि छैन ?
पवित्राले गहभरि आँसु पार्दै भनिन्– आमा विहे भयो भनौ कि छैन भनौ । विवाह गरेको छ महिना नबित्दै संकटकालको बेलामा गोली लागेर श्रीमान बित्नु भयो ।
यस्तै छ आमा सुख दुख बुवा र भाईलाई भात पकाएर वसेको छु माइतैमा ।
अनि विदुरले हतारिदै सोध्यो– आमा नि ?
आमाको त मलाई अलिअलि अनुहार मात्र याद छ साह्रै दुख पाएर बित्नु भो । बुवा सानैदेखि ज्योतिषी काम गर्नु हुन्थ्यो घरमा एकछिन वास हुँदैनथ्यो । आमा पहेँले रोगले थलिएर विजोगले बित्नु भो । हामी काठमाडौं आएको १५ वर्ष जति भयो बुवाको यहीं व्यवसायले गुजारा चलाइरहेका छौं ।
यति भन्न नपाउँदै वुढी आमाले भनिन्– घरै पिँडालु वनै पिँडालु माइत जाँदा बाह्र हातको पिँडालु भने जस्तै यस्तै हो जिन्दगी नानी ।
विदुरले मनमनै मनन् गर्यो पवित्राको कुरा– जस्लाई म आफ्नो भविष्यको बारेमा सोध्न आएँ, उ नै यति धेरै पीडित रहेछ । सबै कुरा जान्दथ्यो भने उसको परिवारमा आउने दुख कष्टलाई किन पन्छाउन सकेन त ? एक ना पछि विदुरको पालो थियो तर जुरुक्क उठ्यो र भन्योे– आमा बस्नुस् है म लागेँ । सबैको पीडा सुनेर मैले मेरो भविष्य बुझे जस्तो लाग्यो ।