संघीयता कार्यान्वयनको जग हाल्न गण्डकी प्रदेशको महत्वपूर्ण भूमिका थियो : गुरुङ – Nepal Press

संघीयता कार्यान्वयनको जग हाल्न गण्डकी प्रदेशको महत्वपूर्ण भूमिका थियो : गुरुङ

पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवम नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघीयताको जग बसाल्ने सवालमा विगतमा गण्डकी प्रदेशसभाले महत्वपूर्ण काम गरेको बताएका छन् ।

गण्डकी प्रदेशसभाको वार्षिक उत्सवका अवसरमा शनिबार शुभकामना दिँदै गुरुङले आफूहरुले गरेका उपलब्धिहरुको दस्तावेजीकरण गर्नु आवश्यक भएको बताए ।

‘गण्डकी प्रदेश सभाले ४ वर्ष बिताएको छ,’ एमाले प्रदेशसभा संसदीय दलका नेता समेत रहेका गुरुङले भनेका छन्, ‘पहिलोपटक प्रदेश सभाका सदस्य बनेका हाम्रा काम संघीयता कार्यान्यनमा जग राख्नु थियो, त्यसमा गण्डकी प्रदेश सभाले धेरै मिहिनेत गरेर उल्लेखनीय उपलब्धिहरु हाँसिल गरेको छ। यी उपलब्धिहरु नेपालको आधुनिक इतिहासका महत्वपूर्ण कडी पनि हुन् । हाम्रा उपलब्धिहरुको दस्तावेजीकरण गर्नु जरुरी छ ।’

आफ्नो बाटो आफैं निर्माण गरेर अघि बढ्ने चुनौती भए पनि ती चुनौती पार गरेको भन्दै आफूलाई गौरवबोध हुने उनले बताएका छन् ।

‘२०७५ साल असार १८ गते सर्वसम्मत प्रदेश राजधानी पोखरालाई तोक्न र असार २२ मा प्रदेशको नामाकरण गण्डकी राख्न सफल भयौं,’ उनले भनेका छन्, ‘गण्डकी प्रदेशसभालाई सत्ता र प्रतिपक्षीको साझा दायित्वका रुपमा बुझेर नै समझदारी, समन्वय र सन्तुलनबाट अघि बढाएको क्षणको स्मरण गर्दा मात्रैपनि मलाई गौरवबोध हुन्छ।’

कतिपय दलका गतिविधिका कारण संघीयताप्रति जनताको दृष्टिकोणलाई नकारात्मक बनाउन सहयोग पुगेको आरोप पनि गुरुङको छ।

‘नेपालका कतिपय दलहरुका पछिल्ला गतिविधिहरु संघीयताका मर्म र भावना विपरीतका देखापर्नुले शिशु संघीयताप्रति जनताको दृष्टिकोणलाई नकारात्मक बनाउन सहयोग पुग्यो भन्ने मेरो निष्कर्ष हो,’ उनले भनेका छन्, ‘तत्कालीन प्रदेश सरकारविरुद्ध प्रतिपक्षहरुको अविश्वास प्रस्ताव छलफल गर्ने क्रममा प्रस्तावको पक्षमा बहुमत पुग्ने स्थिति नदेखेपछि बलात् संसद अनिश्चितकालीन बन्द गर्ने काम संसदीय मर्म विपरीत थियो । त्यसबाट हामीले शिक्षा लिनुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर