विज्ञानको ठाउँमा गणित शिक्षक ल्याउने समितिको निर्णयमा प्रधानाध्यापकको आपत्ति – Nepal Press

विज्ञानको ठाउँमा गणित शिक्षक ल्याउने समितिको निर्णयमा प्रधानाध्यापकको आपत्ति

जनकपुरधाम । सिरहाको कल्याणपुरमा ११ मा रहेको रामदुलारी माध्यमिक विद्यालयमा शिक्षक पदपूर्तिको विषयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकबीच विवाद देखिएको छ ।

विद्यालयमा विज्ञान विषयको शिक्षक आवश्यक भएपनि गणित विषयको शिक्षकलाई सरुवा सहमति दिएर ल्याएपछि विवाद सिर्जना भएको छ ।

विद्यालय व्यवस्थापन समितिले धनुषाको रघुनाथपुरस्थित बरकुरवा माविका गणित शिक्षक रामदुलार यादवलाई सरुवा सहमति दिएर ल्याएको हो ।

उक्त निर्णयमा प्रधानाध्यापक रघुनाथ साह आपत्ति जनाएका छन् ।

प्रधानाध्यापक साहले विज्ञान शिक्षकको ठाउँमा गणित शिक्षक राख्दा विद्यार्थीको भविष्यमाथि खेलवाड हुने बताए पनि समिति अध्यक्ष मोहन यादवले एकलौटी निर्णय गरेको बताइन्छ । विद्यार्थीहरु पनि समितिको निर्णयमा सहमत छैनन् ।

विद्यालयको कक्षा ९ मा अध्ययनरत एक छात्रले भने, ‘प्रअ सरको कुरा समेत नमानेर समितिले गणित शिक्षकलाई राख्ने निर्णय गर्नु गलत हो । विज्ञानको शिक्षक गणित पढाउन सक्नुहुन्छ । तर गणितको शिक्षक विज्ञान पढाउन सक्नुहुन्न । त्यसैले सरुवाको निर्णय खारेज हुनुपर्छ ।’

आर्थिक र राजनीतिक दबाबमा समितिका अध्यक्षले गणितको शिक्षकलाई ल्याएको हुनसक्ने उनको भनाइ छ ।

स्रोतकाअनुसार विज्ञान विषयमा शिक्षक ईश्वरदेव महतो पनि सरुवा सहमतीका लागि विद्यालयमा आवेदन दिएका थिए । आवेदन दिने शिक्षकहरूको विद्यालयले क्लास टेस्ट गराएका थिए । क्लास टेस्टमा विज्ञान विषयका शिक्षक महतो नै पहिलो भएको विद्यालयका एक शिक्षकले सुनाए ।

विद्यालयका प्रधानाध्यापक साहले गणित शिक्षकलाई सरुवाको सहमति दिने निर्णय आफूले नमानेको बताए । उनले भने, ‘विज्ञान विषयकै शिक्षक राख्नुपर्छ । समितिले जबर्जस्ती आवश्यकतै नभएको गणित शिक्षक ल्याएको छ । यो निर्णय मैले मानेको छैन ।’

गणित र विज्ञान दुवै विषय पढाउने समितिको भनाइ रहेको प्रधानाध्यापक साहले बताए । आर्थिक प्रलोभनमा परेर विज्ञानको ठाउँमा गणित शिक्षक ल्याएको हो कि भन्ने जिज्ञासामा उनले भने, ‘यो विषयमा मलाई थाहा भएन् । उनीहरूलाई थाहा हुन्छ ।’

यता, समिति अध्यक्ष यादवले गणित र विज्ञान दुवै विषयको शिक्षक रहेकाले यादवलाई सरुवा सहमति दिने निर्णय गरेको दाबी गरे । उनले जिल्लामा सोध्दा गणित विषयको शिक्षकलाई पनि राख्न मिल्ने बताएपछि सरुवा अनुमति दिएको सुनाए । उनले भने, ‘आर्थिक प्रलोभनमा पारेर ल्याए कि के गरेर यही आएर बुझ्नुस् । आफैं थाहा पाउनुहुन्छ ।’

स्रोतका अनुसार समिति अध्यक्ष यादव नेकपा एमाले समर्थित हुन् । शिक्षक यादव पनि एमालेनिकट हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर