लता मंगेशकर : जसले नेहरुलाई रुवाइन्
प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । एक महिनाअघि कोरोना संक्रमण भएपछि उनलाई मुम्बइको ब्रीच केण्डी अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उपचारकै क्रममा आज बिहान उनले अन्तिम सास लिइन् । लताको जीवनका केही रोचक प्रसंगहरु :
भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरु सार्वजनिक स्थलमा कहिल्यै रुँदैनन् थिए । न त यस्ता स्थानहरुमा रुनेहरुलाई नै नेहरु मन पराउँथे । तर, २७ जनवरी १९६३ मा जब लताले कवि प्रदीपद्धारा लिखित ‘ऐ मेरे वतन के लोगों’ गाइन्, नेहरुले आफ्नो आँखामा आँसु थाम्न सकेका थिएनन् ।
गीत गाइसकेपछि स्टेज पछाडि कफी पिइरहेकी थिइन् लता । निर्देशक महबुब खान आएर बोले, ‘तिमीलाई पण्डित जीले बोलाइरहनुभएको छ ।’
महबुबले लतालाई नेहरुको सामुन्ने लिएर गए । भने, ‘यिनी नै हुन् हाम्री लता, तपाईंलाई कस्तो लाग्यो उनको गायन ?’
‘साह्रै गज्जब ! यो केटीले मेरो आँखाबाट नुनिलो पानी निकालिदिइन्,’ नेहरुले भने । साथै लतालाई अंगालो हाले ।
लगत्तै यो गीत र लतालाई मास्टर टेप विविध भारतीको स्टेसनमा लगेर रेकर्ड गरिएको थियो । म्युजिक कम्पनी एमएचभीले बजारमा ल्याएको थियो ।
१९६४ मा नेहरु मुम्बइ आएको साइतमा ब्रेबोर्न स्टेडियममा ‘अजी रुठ कर कहाँ जाएंगे’ गाएकी थिइन् लताले । नेहरुले लतालाई एक चिट दिएर एकपटक फेरि ‘ऐे मेरे वतन के लोगों’ गाउन अनुरोध गरेका थिए ।
०००
१९४९ ‘अन्दाज’ प्रदर्शन भएपछि संगीत चार्टको शीर्ष पाँचमा लताकै गीतहरु परिरहे । ८० वर्षको उमेरमा पुग्दा लताले स्वीकारेकी पनि छिन् कि राज कपुर र नरगिसको फिल्म ‘बरसात’पछि उनको करियरले उडान लिएको थियो ।
मदन मोहनले पनि लताबारे लेखेका छन्, ‘हामी संगीतकारहरुलाई १९५६ मा मेट्रो–मर्फीले प्रतिभा पहिचानका लागि भारत पठाएको थियो । तर, हामीले चाहेजस्तो कोही भेटाउन सकेनौँ, जो लता मंगेशकरको छेउसम्म पुगोस् । हाम्रो समयमा लताजस्तो प्रतीभा देखापर्नु हाम्रा लागि सौभाग्य थियो ।’
०००
१९४८ मा ‘महल’ प्रदर्शन हुनु र गीता राय बाहेक लताकी प्रतिस्पर्धी शमशाद वेगम, जोहराबाई हंबालावाली, पारुल घोष र अमीरबाई कर्नाटकीहरु छायामा पर्नु एकैपटक भएको थियो ।
१९५० मा उनले गाएको ‘आएगा आने वाला’ गीत आएपछि अल इण्डिया रेडियोमा फिल्मी संगति बजाउन प्रतिबन्ध लगाइएको थियो । त्यस समय रेडियो सिलोन सुरु भइसकेको थिएन । भारतीयहरुले पहिलोपटक लतालाई रेडियो गोवामा सुनेका थिए ।
त्यस समय गोवा पोर्चुगल (पुर्तगाल) को नियन्त्रणमा थियो । १९६१ मा मात्रै स्वतन्त्र भएको थियो ।
प्रसिद्ध शास्त्रीय गायक पण्डित जसराजले एक रोचक किस्सा सुनाएका थिए, ‘एकपटक म बडे गुलाम अलि खानलाई भेट्न अमृतसर गएको थिएँ । हामी गफ गरिरहेका थियौँ, अचानक ट्रान्जिस्टरमा लताको ‘ये जिन्दगी उस की है जो किसी का हो गया’ बजिरहेको थियो । गफ गर्दागर्दै खान साहब मौन हुनुभयो । र गीत सकिएपछि भन्नुभयो, ‘छोटो समय कहिल्यै बेसुर हुँदैन ।’ उहाँको यो टिप्पणीमा बाबुको माया थियो र कलाकार हुनुको नाताले जलन पनि थियो ।’
०००
उनले पाँच वर्षको उमेरदेखि गाउन थालेकी थिइन् । नसरीन मुन्नी कबिरको पुस्तकमा लता स्वयं बताउँछिन्, ‘म पिता दिननाथ मंगेशकरलाई गाइरहेको देख्थेँ । तर, उहाँको सामुन्ने गाउने आँट आउँदैनथ्यो । एकपटक चेलालाई राग पुरिया धनाश्री सिकाइरहेका थिए ।
कुनै कारणले केही क्षणका लागि उहाँ घरबाट बाहिर निस्कनुभयो । म बाहिर खेलिरहेकी थिएँ । मैले पिताको चेलाले गाएको सुनेँ । तर, मलाई लाग्यो, उनले राम्रोसँग गाइरहेका छैनन् । अनि म ऊ नजिक गएँ र आफैंले गाएर भनेँ, यसरी गाइन्छ यो राग त ।’
उनले थपेकी छन्, ‘जब पिता बाहिरबाट आउनुभयो, उहाँले ढोकाको चेपबाट मैले गाएको सुन्नुभयो । उहाँले आमालाई बोलाएर भन्नुभयो, ‘हामीलाई त थाहै भएन, हाम्रो बच्ची पनि राम्री गायिका हो भनेर ।’ अर्को दिन बिहानै पिताले उठाएर मलाई भन्नुभएको थियो, ‘तानपुरा उठाऊ । आज गीत सिक्नुपर्छ ।’ उहाँले पुरिया धनाश्ररी रागबाट सुरु गर्नुभएको थियो । त्यो समय म मात्रै पाँच वर्षकी थिएँ ।’
०००
लताले कयौँ संगीतकारसँग काम गरिन् । तर, गुलाम हैदर उनका लागि विशेष थिए । ‘बीट’मा आउने स्वरलाई अलि बल दिएर निकाल्नुपर्छ भनेर उनै गुलामबाट सिकेकी थिइन् । यसबाट गीत उठ्ने गर्थ्यो ।
अनिल विस्वाससँग लताले सासलाई नियन्त्रणमा राख्ने तरीका सिकेकी थिइन् ।
हरीश भिमानी आफनो पुस्तक ‘लता दिदी अजीव दास्ताँ है’मा लेख्छन्, ‘गीत गाइरहेको समय सासलाई कहाँ रोख्ने भन्ने पाटोमा अनिल दादा रुचि राख्थे । किनभने स्रोतालाई गीत अपुरो महसुस नहोस् । शब्दको बीचमा सास लिएको समय बिस्तारै माइक्रोफोनबाट अनुहारलाई टाढा लैजान, सास लिएर तत्कालै यथास्थानमा आएर गीतलाई निरन्तर जारी राख्न अनिलले लतालाई सिकाएका थिए । आँखा झिम्काएको जत्तिकै छिटो गर्नुपर्ने यस प्रक्रियामा अघिल्लो शब्दको अन्तिम र नयाँ शब्दको पहिलो अक्षरलाई थोरै बल दिएर गाउनुपर्थ्यो ।’
०००
स्वरको सुरिलोपनको साथै उर्दु भाषाको प्रष्ट उच्चारणले पनि सबैको ध्यान खिचेकी थिइन् लताले । यसको श्रेय भने दिलिप कुमारलाई जान्छ ।
भिमानीले लेखेका छन्, ‘एक दिन लता र अनिल विस्वास मुम्बइको लोकल ट्रेनबाट गोरेगाउँ गइरहेका थिए । संयोगवश बान्द्रा स्टेसनबाट दिलिप कुमार चढे ।
अनिल विश्वासले लता र दिलिप कुमारको परिचय गराए ।
परिचयपछि दिलिप कुमारले भने, ‘मराठीहरुको मुखबाट दालभातको सुगन्ध आउँछ । उनीहरुलाई उर्दु के थाहा ?’
दिलिप कुमारको प्रतिक्रियालाई लताको अहम्मा चोट पार्यो ।
पछि शफी साहबले एक उस्तादको व्यवस्था गरिए । जसको नाम महबुब थियो । महबुबसँग विशेषगरी उर्दु सिकिन् उनले ।
फिल्म ‘लाहौर’को सुटिङ चलिरहेको थियो । त्यहाँ जद्दनबाइ र उनकी छोरी नरगिस पनि थिए । लताले स्टुडियोमा ‘दीपक बगैर बैसे परवाने जल रहे हैं’को रेकर्डिङ सुरु गरिन् । रेकर्डिङ सकिएपछि जद्दनबाइले लतालाई भनिन्, ‘क्या गज्जब, यस्तो तलफ्फुज हरकोहीको वशमा हुँदैन छोरी ।’
०००
जति उमेर बढ्दै गयो, स्वर उति सुरिलो हुँदै जानु लताको आवाजको विशेष परिचय थियो । १९६१ मा प्रदर्शन भएको ‘जंगली’ फिल्ममा सायरा बानोका लागि ‘काश्मीर की कलीँ हुँ’ गाएकी थिइन् । १२ वर्षपछि ‘अनामिका’ फिल्ममा जया भादुरीका लागि गाउँदा पनि उनको स्वरमा उस्तै मादकता थियो ।
१९५८ मा महबुब खान ओस्कर समारोहमा सहभागी हुन अमेरिका गएका थिए । सहभागी भएको दुई दिनपछि उनलाई हृदयघात भएको थियो ।
राजु भारतन लताको जीवनीमा लेख्छन्, ‘लताले उनलाई मुम्बइबाट फोन गरे । महबुब साहबले लताको एक गीत सुन्ने खुब मन भएको इच्छा व्यक्त गरे । तर, त्यति टाढा लताको गीतको क्यासेट कहाँबाट ल्याउने ? लताले सोधिन्, ‘तपाईं कुन गीत सुन्न चाहनुहुन्छ ?’
यसपछि महबुबको अनुरोधमा टेलिफोनमै ‘रसिक बलमा’ गुनगुनाइदिइन् लताले । एक सातापछि फेरि लताले त्यही गति फोनमा सुनाए । महबुब साहब ठीक हुनुमा यो गीतको योगदान कति थियो, ईश्वर मात्रै बताउन सक्छन् । त्यस घटनापछि लताका लागि पनि यो गीत विशेष गीत बनेर रह्यो ।’
०००
पहिला भारतमा बसेर पछि पाकिस्तान गएकी नुरजहाँ र लता एकदमै नजिकका साथी थिए ।
१९५२ मा लता अमृतसर गएकी वेला उनले नुरजहाँसँग भेट्ने चाहना राखिन् । अमृतसरबाट नुरजहाँ बस्ने लाहौर दुई घण्टाको बाटोमा थियो । उनीहरु फोनमा घण्टौंसम्म बोले । त्यसपछि दुवै भारत र पाकिस्तानको सीमानामा भेट्ने निधो भयो ।
चर्चित संगीतकार सी रामचनद्रनले आफ्नो आत्मकथामा लेखेका छन्, ‘मैले दुवैको भेटघाट समय मिलाइदिएको थिएँ । उनीहरुको भेट वाघा सीमानामा भयो, जसलाई सेनाको भाषामा ‘नो म्यान्स ल्याण्ड’ भन्ने गर्दछन् ।
जब नुरजहाँले लतालाई देखिन्, उनी दौडेर यसरी आइन् कि वर्षौंपछि प्राणभन्दा बढी माया गर्ने मान्छे अगाडि छ । उनीहरु जोडमा अंगालोमा बाँधिए । दुवैको आँखामा आँसु बगिरहेको थियो । लतासँगै पुगेका हामीले पनि आँसुलाई रोक्न सकेनौँ । दुवैतर्फका सैनिकहरु पनि रोइरहेका थिए ।’
०००
लताले धेरै गायकसँग गीत गाइन्, तर मोहम्मद रफीसँग गाएका गीतहरुलाई बढी रुचाइयो ।
एकपटक मोहम्मद रफीबारे कुरा गर्दै लताले किस्सा सुनाएकी थिइन्, ‘एकपटक म र रफी साहब स्टेजमा गाइरहेका थियौँ । गीतको लाइन थियो, ‘ऐसे हँस हँस के ना देखा करो तुम सब की तरफ लोग ऐसी ही अदाओं पर फिदा होते हैं’ । रफी साहबले यो लाइनलाई ‘लोग ऐसे ही फिदाओं पे अदा हैं’ भनेर गाउनुभयो ।
दर्शकहरु यो सुनेर हाँस्न थाले । रफी साहक पनि हास्न थाल्नुभयो । मेरो पनि हाँसो छुट्यो । अन्ततः हामीले गीतलाई पूरा गर्न पाएनौँ । र आयोजकले पर्दा लगाएर कार्यक्रम सकिएको घोषणा गरे ।’
साठीको दशकमा गीतको रोयल्टीलाई लिएर लताको मोहम्मद रफीसँग विवाद भएको थियो । त्यो समय मुकेश, तलत महमुद, किशोर कुमार र मन्ना डे लताको पक्षमा थिए भने आशा भोंसलेले मोहम्मद रफीलाई साथ दिएका थिए ।
चार वर्षसम्म दुवैबीच दुरी बढिरह्यो । पछि सचिनदेव बर्मनले दुवैको विवाद मिलाइदिए ।
०००
सचिनदेव बर्मन पनि लतालाई खुब मन पराउँथे । जब लताको गायनबाट बर्मन खुसी हुन्थे, लताको ढाड थपथपाउँथे र पान दिन्थे । सचिनदेव बर्मन पानको सौखिन थिए । उनको साथमा एक पान दिने मान्छे पनि हुन्थ्यो । तर, कसैलाई पनि आफ्नो पान दिँदैन थिए । यदि कसैलाई उनले पान दिए भने ती व्यक्तिसँग खुब खुसी भए भन्ने बुझिन्थ्यो ।
तर, एकपटक सचिनदेव बर्मन र लताबीच झगडा भयो ।
‘मिस इण्डिया’ फिल्ममा लताले एक गीत गाइन् । लताले यस गीतलाई ‘सफ्ट मुड’मा गाओस् भन्ने चाहन्थे । लताले भनेकी थिइन्, ‘म गाउनेछु । तर केही दिन अलि व्यस्त छु ।’
केही दिनपछि बर्मनले लताको समय पक्का गर्न मान्छे पठाएका थिए ।
तर, ती व्यक्तिले लता व्यस्त छिन् भन्नुको साटो गीत गाउन अस्वीकार गरेको खबर लिएर आए । यसपछि बर्मनले लतासँग कहिले पनि काम नगर्ने घोषणा गरे ।
लताले पनि फोनमार्फत् भनी, ‘तपाईलाई यो घोषणा गर्न जरुरी छैन । म आफैं तपाईंको साथ काम गर्दिनँ ।’
कयौं वर्षपछि लताले ‘बन्दीनी’ फिल्ममा बर्मनका लागि ‘मोरा गोरा अंग लै ले’ गाएकी थिइन् ।
०००
लता क्रिकेटको सौखिन थिइन् । उनले पहिलोपटक १९४६ मा ब्रेब्रोर्न स्टेडियममा भारत र पाकिस्तानको खेल हेरेकी थिइन् । उनले बेलायतको ओभल मैदानमा बेलायत र पाकिस्तानबीचको क्रिकेट खेल समेत हेरेकी थिइन् ।
महान् क्रिकेट खेलाडी डन ब्रेडम्यानले लतालाई हस्ताक्षर सहितको तस्बिर गिफ्ट दिएका थिए ।
लतासँग कारको कलेक्सन नै थियो । पहिलो कार खैरो रङको हिलमेनलाई त्यो समयमा आठ हजार भारु खर्च गरेकी थिइन् । त्यो समयमा एउटा गीतका लागि दुई सयदेखि पाँच सयसम्म लिने गर्थिन् । १९६४ मा ‘संगम’ फिल्मपछि उनको पारिश्रमिक बढेर दुई हजार पुगेको थियो । यसपछि उनले हिलमेन बेचेर निलो रङको ‘शेवेरले’ किनेबी थिइन् ।
लतालाई हिरामोतीको सौख थियो । १९४८ मा उनले सात सय रुपैयाँमा हिराको औंठी बनाएकी थिइन् । उक्त औंठी देब्रो हातमो साहिँली औंलामा लगाउने गर्थिन् । उनी सुनको पनि सौखिन् थिइन् ।
लतालाई जासुसी उपन्यास पढ्ने सौख पनि थियो । उनीसँग शरलक होम्सको सबै किताबको संग्रह नै थियो ।
लतालाई बलिउडको सबैभन्दा ठूलो सम्मान दादा साहक फाल्के पुरस्कारबाट १९८९ मा र भारत रत्नबाट २००१ मा सम्मान गरिएको थियो ।
(बीबीसी हिन्दीबाट गरिएको भावानुवाद)