आफूखुसी प्रमुख तोक्दा मायादेवी गाउँपालिकाका अध्यक्ष विवादमा, जनप्रतिनिधि र कर्मचारी असन्तुष्ट – Nepal Press

आफूखुसी प्रमुख तोक्दा मायादेवी गाउँपालिकाका अध्यक्ष विवादमा, जनप्रतिनिधि र कर्मचारी असन्तुष्ट

रुपन्देही । कपिलवस्तुको मायादेवी गाउँपालिकामा सिनियर कर्मचारी हुँदाहुँदै जनप्रतिनिधिको सेटिङ चलाउन जुनियरलाई निमित्त तोकेर गाउँपालिका अध्यक्ष विवादमा तानिएका छन् ।

सो गाउँपालिकामा दुई जना सिनियर कर्मचारीलाई छाडेर जुनियर कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएको छ । गाउँपालिका अध्यक्ष बजरंगीप्रसाद चौधरीको आदेशमा जुनियर कर्मचारीलाई प्रमुख बनाइएको आरोप असन्तुष्ट कर्मचारीले नै लगाएका छन् ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाको सरुवा भएपछि परमेश्वर यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो । अध्यक्ष चौधरीले नियतशस यादवलाई नियमविपरीत जिम्मेवारी दिएको गाउँपालिकाका कर्मचारीहरु बताउँछन् । गाउँपालिकामा यादव भन्दा सिनियर भए पनि अध्यक्षले आफूअनुकुल रहेका यादवलाई अगाडि बढाएको ती कर्मचारीको तर्क छ ।

शुक्रवार गाउँपालिकाले तिमिल्सिनाको बिदाइ गरेको थियो । बिदाइ सँगसँगै यादवलाई प्रमुखको जिम्मेवारी तोकिएको थियो । कार्यालयमा यादवभन्दा दुई तह सिनियर (आठौँ तह) पशु विकास अधिकृत बडेलाल कोहाँर भए पनि कनिष्ठलाई नियुक्ति दिइएको एक कर्मचारीले बताए ।

यता यादवभन्दा सिनियर योजना तथा प्रशासकीय अधिकृत रामकृष्ण तेली रहेका थिए । तिमिल्सिना बाहिर जाँदा तेली निमित्त भई काम गर्दै आएका थिए । तेली प्रशासनमा बसेर काम गरेको अनुभव भएपनि अध्यक्षले भनेको नमान्ने डरमा उनले जिम्मेवमरी नपाएका हुन् ।

अहिले निमित्त दिएर अध्यक्ष चौधरीले यादवलाई बाँकी कार्यकालको अन्तिमसम्म दिने वचन दिइसकेका छन् । जनता समाजवादी पार्टीको बाहुल्यता रहेको गाउँपालिकामा अध्यक्ष चौधरीले मनोमानी ढंङ्गले काम गर्दै आएको एक वडाअध्यक्षले बताए ।

‘चौधरीजीले बदमासी गर्नु भएको छ । योजनाको कमिसन खान आफूनिकटका यादवलाई निमित्त दिनुभएको छ । यो नियमसंगत छैन । सिनियर कर्मचारी भएकै ठाउँमा जुनियरलाई जिम्मेवार दिँदा अरु कर्मचारीको मनोवल घट्छ, विधिको शासन जनप्रतिनिधिले नै तोडेपछि अरुलाई के भन्ने ?’ ती वडाध्यक्षले नेपाल प्रेसलाई भने ।

तर गाउँपालिका अध्यक्ष बजरंगीप्रसाद चौधरीसँग धेरै पटक मोबाइलमा फोन गरेपनि रिसिभ गरेनन् । उपाध्यक्ष गिता तिवारीले सिनियर कर्मचारीले इच्छा नदेखाएकाले तीभन्दा तलका कर्मचारीलाई जिम्मेवारी दिएको दाबी गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर