शेरबहादुर दाइलाई कालापानी किन दुख्दैन ?
केही समयअघि एमाले नेता स्व. प्रेमसिंह धामीको ‘कालापानी काठमाडौंलाई किन दुख्दैन’ शीर्षकमा जनआस्था साप्ताहिकमा एउटा लेख प्रकाशित भएको थियो । लेख प्रकाशित भएपछि दार्चुला जिल्लाको कालापनी क्षेत्रबारे सर्वसाधारण नेपालीमा सोधखोजको विषय बनेको थियो ।
भौगालिक रुपमा दुर्गम तथा नेपाल सरकारको ध्यान नगएको कालापानीबारे धामीको सो आलेखपछि नेपाल सरकारको पनि ध्यानाकर्षण भएको थियो । त्यसपछि पनि कालापानीबारे दार्चुलाका नेकपा एमालेका तत्कालीन नेता स्व. वीरबहादुर ठगुन्नाले पनि पटकपटक आवाज उठाउँदै आउनु भएको थियो ।
हाल प्रतिनिधिसभामा दार्चुलाबाट प्रतिनिधित्व गर्ने सांसद तथा नेकपा एमाले केन्द्रीय सदस्य गणेशसिंह ठगुन्नाले पनि प्रतिनिधिसभामा कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपाल सरकारले फिर्ता ल्याउन, भारतीय सुरक्षा बल फिर्ता गर्न तथा उसको प्रशासनिक हस्तक्षेप बन्द गर्न आवाज उठाइरहनु भएको छ ।
२०४८ सालदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुदूरपश्चिमको डडेल्धुराबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा लगातार जित्दै आउनु भएको छ । देउवा २०४८ सालमा गृहमन्त्री हुँदै पाँचपटक प्रधानमन्त्री भइसक्नु भयो । नेपाली कांग्रेसको पनि सधैं मुख्य भूमिकामा रहँदै आउनु भएको छ । तर, सुदूरपश्चिम प्रदेश अशिक्षा, गरिबी, विकासमा पिछडिएको क्षेत्रको पर्यायको रुपमा आजसम्म पनि यथावत छ ।
नेपाली कांग्रेसका नेता, कार्यकर्ता देउवालाई ‘शेरबहादुर दाइ’ भनेर सम्बोधन गर्छन् । शेरबहादुर दाइले अत्तरियादेखि डडेल्धुरासम्मको भिमदत्त राजमार्ग, कर्णाली चिसापानीपारिका २२ पुलहरु बनाउन पहल गर्ने कामबाहेक सुदूरपश्चिम प्रदेशको विकासका पूर्वाधारहरुमा त्यस्तो चर्चा गर्न लायक केही गरेको देखिँदैन ।
जतिपटक प्रधानमन्त्री हुनुभयो शेरबहादुर दाइले सुदूरपश्चिम प्रदेशमा भारतले गर्दै आएको दादागिरीको नतमस्तक भएर त्वमशरणम् गर्नुबाहेक केही गरेको देखिँदैन । चाहे त्यो महाकाली सम्झौता होस् वा टनकपुर सम्झौता होस् अथवा कालापानी क्षेत्रबारे नै । उहाँले कहिल्यै पनि चासो राख्नुभएन ।
करिब ७५ प्रतिशत सुदूरपश्चिमवासीहरु भारतका विभिन्न शहरहरुमा न्यून पारिश्रमिकमा तल्लो दर्जाको मजदुरी गर्न बाध्य भए पनि शेरबहादुर दाइले यस क्षेत्रमा रोजगारीका अवसरहरु सृजना गर्ने कुनै काम गर्नुभएन । भारतको थिचोमिचो सहेर बस्न बाध्य यस प्रदेशका जनताका लागि शेरबहादुर दाइ ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ मात्रै हो ।
सुदूरपश्चिमेली जनताको एउटा प्रश्न छ, ‘शेरबहादुर दाइलाई सुदूरपश्चिम प्रदेश किन दुख्दैन ? शेरबहादुर दाइलाई कालापानी लिपुलेक लिम्पियाधुरा किन दुख्दैन ?’ सुदूरपश्चिम प्रदेशका जनताले शेरबहादुर दाइलाई कहिल्यै पनि असहयोग गरेनन् । तर, शेरबहादुर दाइ काठमाडौंको भीडमा काठमाडौकै शासकहरुसँग हातेमालो गर्दै रमाउने, ज्योतिष हेराउने र ज्योतिषको भनाइमा रमाउँँदै आउनु भयो ।
अहिले उहाँ प्रधानमन्त्री भएको छ महिनाभन्दा बढी भइसक्दा पनि कतिपय सीमित नेपाली कांग्रेसका नेता कार्यकर्ताबाहेक समग्र सुदूरपश्चिम प्रदेशवासीका लागि वा समग्र राष्ट्रका लागि गौरव गर्न लायक काम गर्न सक्नु भएको छैन । अर्थात् अझै पनि शेरबहादुर दाइलाई सुदूरपश्चिम दुखेको देखिँदैन, राष्ट्र दुखेको देखिँदैन ।
शेरबहादुर दाइ जतिपटक प्रधानमन्त्री बन्नुहुन्छ, सुदूरपश्चिमेली जनताका लागि प्रधानमन्त्रीको जिल्ला, प्रधानमन्त्रीको क्षेत्र भनेर चित्त बुझाउनुबाहेक केही उपलब्धी देखिँदैन । सुदूरपश्चिमका नेपाली कांग्रेस तथा वर्तमान सरकारको गठबन्धन सम्बद्ध नेता कार्यकर्ताहरुले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई जतिसुकै गाली गरे पनि वास्तवमा कालापानी ओलीलाई दुखेको प्रमाणित भएको छ ।
सरकारको नेतृत्व गर्दा होस् वा प्रतिपक्षमा रहँदा पनि ओलीले पटकपटक भन्दै आउनु भएको छ कि, नेकपा एमालेले कालापानी लिपुलेक लिम्पियाधुरा फिर्ता गरेरै छाड्छ । तर, शेरबहादुर दाइले कालापानीबारे झारा टार्ने काम गर्दै आउनु भएको छ । प्रतिपक्षमा रहँदा पनि शेरबहादुर दाइले अन्तिम समयमा राष्ट्रिय सहमति हुँदै गर्दा कालापानी लिपुलेक लिम्पियाधुराबारे तत्कालीन प्रधानमन्त्री ओलीलाई समर्थन जनाउनु भएको पक्कै थियो । तर, आफू सरकारमा गइसकेपछि उहाँले बिर्सनुभयो ।
उहाँलाई सुदूरपश्चिमेलीले सधैं आदर गरे, नेता माने, उच्च सम्मान दिए । तर, केवल सत्ता साझेदारी, सत्तालिप्सा, प्रजातन्त्र धरापमा पार्ने काममा बाहेक सुदूरपश्चिमका लागि कहिल्यै उहाँको ध्यान गएको देखिएन । उहाँका कारण हामीलाई शिर ठाडो हुने अवस्था कहिल्यै आएन ।
देउवा दाइकै कार्यकालमा अर्थात् २०५० सालमा महाकाली भारतलाई बेच्ने काम भयो । २०५३ सालमा पजेरो काण्ड, जम्बो मन्त्रिमण्डल, सांसद खरिदबिक्री, सांसदका लागि सुरासुन्दरी जस्ता कार्य उहाँका पर्याय रहे । उहाँले नै २०५८ सालमा प्रजातन्त्र दरबारमा बुझाउनु भयो । २०५८ सालमा स्थानीय निकायको निर्वाचन नगरी स्थानीय निकाय प्रतिनिधिविहीन बनाउनमा उहाँकै हात रह्यो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रमा सडक विस्तार भइरहेको भन्दै गर्दा उहाँ चुप बस्नु भएको छ । जयसिंह धामीलाई दिनदहाडै महाकाली नदीमा तुइन तर्दै गर्दा तुइन काटेर बेपत्ता पार्ने भारतीय दादागिरीबारे झारा टार्ने गरी एउटा छानबिन समिति गठन गर्नुहुन्छ, समितिको प्रतिवेदन सार्वजनिक गर्नुहुन्न र भारतलाई खुशी पार्ने खालको प्रतिवेदन ल्याउनुहुन्छ । भारतलाई खुशी पार्नका लागि मृतकका परिवारलाई केही रकम दिएर घटना ढाकछोप गर्ने प्रयास गर्नुहुन्छ ।
शेरबहादुर दाइ ! उठ्नुहोस् एकपटक, अहिले तपाईँ शक्तिशाली ओहोदामा हुनुहुन्छ, विकासमा निकै धेरै पछाडि परेको सुदूरपश्चिमलाई देशको मूलधारमा ल्याउनका लागि केही गर्नुहोस् ।
(लेखक नेकपा एमाले सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीका अध्यक्ष हुन्)