विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको भर्चुअल बिदाई, सागर ढकाल थपिए – Nepal Press

विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको भर्चुअल बिदाई, सागर ढकाल थपिए

काठमाण्डौं । आईसीसी ट्वान्टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा सहभागी हुन ओमान जाने नेपाली टोलीलाई बिदाई गरिएको छ ।

कोरोना जोखिमलाई मध्यनजर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल माध्यमद्वारा मंगलबार बिहान बिदाई गरेको हो । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेलाडीहरूलाई बिदाई गरे ।

विश्वकपमा छनोटका लागि नेपाली टोली मंगलबार राति साढे ८ बजे ओमान प्रस्थान गर्नेछन् ।

सन्दीप लामिछानेको कप्तानीमा यसअघि अन्तिम १६ जनाको टोली घोषणा भएपनि अन्तिम समयमा मुख्य प्रशिक्षक पुवुदु दाशानायकेले स्पिनर सागर ढकाललाई टोलीमा समावेश गरेका छन् ।

सागर टोलीमा समावेश भएसँगै १७ सदस्यीय टोली ओमान प्रस्थान गर्ने भएको छ ।

ग्लोबल छनोटकालागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनीबीच खेल हुनेछ । फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुने छनोटअन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी छन् ।

छनोटअघि नेपालले ओमानमा चारदेशीय टी-२० शृंखला खेल्ने तालिकासमेत रहेको छ । शृंखलामा नेपालसहित आयरल्यान्ड, युएई र ओमान छन् ।

खेलाडीहरूलाई बिदाई गर्दै खेलकुद मन्त्री अथकले नेपाल विश्वकपमा छनोट हुनेमा आफू विश्वस्त रहेको बताए ।

यस्तै, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दले विगतका कमी कमजोरीलाई सच्याउँदै क्रिकेटको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिए । साथै खेलाडीहरूलाई उच्च मनोबलका साथ उत्कृष्ट खेल प्रदर्शनका लागि समेत शुभकामना दिए ।

नेपाली टोलीः

सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहरा, शाहब आलम, कुशल मल्ल, कमलसिंह ऐरी, विवेक यादव, प्रदीप ऐरी, लोकेश बम ,सागर ढकाल ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *