प्रतिनिधिसभाको भोलीको बैठक स्थगित गर्न आजै राति सूचना टाँसिदै
काठमाडौं । एमसीसीको विवादका कारण प्रतिनिधिसभाको भोली बोलाइएको बैठक पनि प्रभावित बनेकाे छ ।
सभामुख अग्नी सापकोटाले आजै सूचना टाँसेर बैठक स्थगित गर्न निर्देशन दिएकाे स्रोतले बतायो । सभामुखकाे निर्देशनपछि कार्यालयबाट घर फर्किसकेका कर्मचारी पनि संसद सचिवालय आएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबुल गर्न सभामुखलाई सन्देश पठाएका थिए ।
तर, सभामुखले पनि माहोल राम्रो नभएको भन्दै टेबुल नगर्ने अडान लिइरहेका छन् । यही विवादलाई पन्छाउन सभामुखले भोलीको बैठक पनि स्थगित गर्ने तयारी गरेका हुन् ।
यसअघि माघ १६ आह्वान गरिएको बैठक कोरोनाका कारण भन्दै स्थगित गरिएको थियो । एमसीसी विवादलाई पछि धकेल्न सत्तारुढ गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको सुझावअनुसार सभामुखले बैठक स्थगित गरेका थिए ।