इलाममा नेपाल वायुसेवा निगमले गर्‍यो परीक्षण उडान – Nepal Press

इलाममा नेपाल वायुसेवा निगमले गर्‍यो परीक्षण उडान

इलाम । व्यावसायिक उडानको तयारी भइरहेको इलामको फाल्गुनन्द-सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिएको छ । धावनमार्ग कालोपत्रे भएको पाँच महिनापछि आज नेपाल वायु सेवा निगमको ट्विनअटर विमानले परीक्षण उडान गरेको हो ।

काठमाडौंबाट ९:५ मा उडेको जहाज १०:२ मा इलाम अवतरण गरेको थियो । पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा सफलतापूर्वक परीक्षण उडान सकिएकोले अब आवश्यक प्रक्रिया पूरा गरी नियमित उडान सुरू गर्ने निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

फाल्गुननन्द-सुकिलुम्बा विमानस्थलबाट ८ फागुनबाट व्यावसायिक उडान सुरू हुँदैछ । तारा एयरलायन्सले साताको एक दिन काठमाडौं-इलाम-काठमाडौं उडान गर्ने तयारी छ । नियमित उडान गर्न इलाम नगरपालिका र तारा एयरलायन्सबीच सम्झौता भइसकेको छ । प्रत्येक आइतबार उडान गर्ने गरी नगरपालिका र एयरलायन्सबीच सम्झौता भएको हो ।

सम्झौताअनुसार आतेजाते ११-११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले बेहोर्नुपर्नेछ । हवाई यात्राका लागि एकतर्फी भाडा आठ हजार सात सय कायम गरिएको छ । उडानका लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन पनि नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

विमानस्थलबाट नियमित उडान भए इलामको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ । इलाममा हवाई यात्रा नहुँदा यहाँ आउन चाहने पर्यटकहरू पनि लामो यात्रा गर्नुपर्ने झन्झटले पनि इलाम नआउने गरेको सरोकारवाला बताउँछन् । फाल्गुननन्द-सुकिलम्बा विमानस्थलबाट नियमित उडान भए इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किमलगायतका यात्रुलाई हवाई यात्राका लागि सहज हुनेछ ।

विमानस्थल बनाउन सुरु भएको १० वर्षमा मात्रै निर्माण पूरा भएको हो । २०५८ सालमै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो । विमानस्थल निर्माण भने २०६८ बाट सुरू गरिएको थियो ।

धावनमार्ग कालोपत्रे हुनुअघि २१ जेठ २०७५ मा तारा एयरको ट्विनअटर जहाजले परीक्षण उडान गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *