वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा रेमिट्यान्स भने साढे पाँच प्रतिशतले घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या बढे पनि त्यसबाट प्राप्त हुने विप्रेषण अर्थात रेमिट्यान्स साढे ५ प्रतिशतले घटेको छ ।
नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स साढे ५ प्रतिशतले घटेर ४६८ अर्ब ४५ करोड कायम भएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६ दशमलव २ प्रतिशतले घटेर तीन अर्व ९३ करोड पुगेको छ ।
गत आर्थिक वर्षको ६ महिने अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव एक प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह भने ६ दशमलव ७ प्रतिशतले बढेको थियो ।
तर चालू आर्थिक वर्षको ६ महिनाको अवधिभमा एक लाख ६७ हजार ५ सय १३ जना नेपालीले अन्तिम श्रम स्वीकृति लिएका छन् । उक्त संख्या वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण गरेर अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या हो । गत आर्थिक वर्षको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ८९ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ६ महिनाको अवधिमा २९८ दशमलव एक प्रतिशतले बढेर एक लाख ३० हजार २ सय १२ पुगेको छ । गत आर्थिक वर्षको ६ महिनाको अवधिमा यो संख्या ७५ दशमलव ५ प्रतिशतले घटेको थियो ।