एमालेको लालकिल्ला भत्काउन कास्कीमा वडादेखि नै महागठबन्धनको पहल
पोखरा । सत्ता गठबन्धनले तीनै तहका निर्वाचनमा मिलेर एमालेको सामना गर्ने विषय केन्द्रमा टुंगो नलागे पनि कास्कीमा भने सहमति भएको छ ।
सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच एमालेको लालकिल्ला ढाल्न वडादेखि नै साझा उम्मेदवार बनाउने सहमति भएको छ ।
मंगलबार पाँचै पार्टीका जिल्ला प्रमुखहरुको बैठकमा यसबारे अनौपचारिक समझदारी भएको नेकपा एसका जिल्ला अध्यक्ष धनराज आचार्यले बताएका छन् । कास्कीका तीनवटै क्षेत्र र पाँचमध्ये चार स्थानीय तहमा एमालेले एकल बिजय निकालेको छ ।
पोखरा महानगरपालिकासहित ४ स्थानीय तहमा एकल वहुमतमा रहेको एमाले, अन्नपूर्ण गाउँपालिकामा पनि अध्यक्षबाहेक अन्य सबै पदमा बिजयी भएको थियो । विगतमा माओवादी र कांग्रेस गठबन्ध हुँदा पनि पोखरामा एमालेले २० हजार भन्दा बढी मतले जितेको थियो ।
यसपटक एमालेको गढ भत्काउन सत्ता गठबन्धन एकजुट भएको छ । अन्य जिल्लामा जे भए पनि कास्कीमा एमालेविरुद्ध गठबन्धन बन्ने आचार्यले बताए । गठबन्धन वडादेखि महानगरका मेयरम्म हुने उनको भनाइ छ ।
कांग्रेस जिल्ला कार्यालयमा बसेका बैठकमा जिल्ला सभापति किशोरदत्त बराल, नेकपा एसका अध्यक्ष बखानसिंह गुरुङ, नेकपा एसका जिल्ला अध्यक्ष धनराज आचार्य, जसपाका अध्यक्ष गिरिप्रसाद गुरुङ राजमोका अध्यक्ष रविमोहन ढकाल सहभागी थिए ।
बैठकमा माओवादी केन्द्रका जिल्ला अध्यक्षले स्थानीय चुनावमा गठबन्धनको प्रस्ताव राखेका थिए । नेकपा एस, जसपा र राजमोले तत्काल सो प्रस्तावमा समर्थन जनाए पनि कांग्रेसले प्रष्ट बोलिसकेको छैन ।
नेकपा एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङले भने ५ दलीय गठबन्धन होइन पार्टी एकता गरेर आए पनि आफूहरु सामना गर्न तयार रहेको बताए । एमालेलाई पत्तासाफ गर्छौं भन्ने गठबन्धनवालाहरुलाई जनताले नै पत्तासाफ गर्ने उनले बताए ।
कस्तो थियो कास्कीको परिणाम ?
कास्कीमा देशकै ठूलो महानगर पोखरासहित ५ स्थानीय तह छन् । जिल्लाको अधिकांश जनसंख्या महानगरमै छ ।
अन्नपूर्ण गाउँपालिकामा कांग्रेसले अध्यक्ष जितेका कारण कास्की एमालेको क्लिन स्वीपबाट जोगिएको थियो ।
अन्नपूर्णमा कांग्रेसका युवराज कुँवर दुई सय मतको अन्तरले विजयी भएका थिए भने उपाध्यक्ष सगुन गुरुङसहित वहुमत एमालेले जितेको थियो ।
माछापुच्छ्रे, मादी र रुपा गाउँपालिकामा पनि एमालेले एक हजार मतान्तरमा जितेको थियो । ती गाउँपालिकामा माओवादीको भोट हजारभन्दा तल थियो । कास्कीमा एमाले विभाजनको न्युन असर छ ।