शेखरको राजनीतिक दौडाहा जारी, भोलि बिहान प्रचण्डलाई भेट्ने
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्ने भएका छन् ।
नेता कोइराला प्रचण्डलाई भेट्न बिहीबार विहान उनको निवास खुमलटार जाने भएका हुन् ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
उनले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए ।
ओलीसँगको भेटमा नेता कोइरालाले अमेरिकी सहायता परियोजना एमसीसी र समसामयिक राजनीतिक विषयमा कुराकानी गरेका थिए ।
पछिल्लो एमसीसीका विषयमा बहस तातेका बेला कोइरालाले राजनीतिक भेटघाट तीव्र बनाएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले एमसीसीका विषयमा सहमति जुटाएर अनुमोदन गर्न केही समय आवश्यक पर्ने भन्दै अमेरिकालाई लेखेको पत्र बाहिरिएपछि यो विषय गर्माएको छ । अमेरिकाले फेब्रुअरी २८ सम्म अनुमोदन गरिसक्न डेडलाईन तोकेपछि अझ यसको बहस बढेको छ ।
सत्ता गठबन्धनमा रहेका दलहरु नै एमसीसीका विषयमा एकमत नहुँदा संसद बैठक समेत प्रभावित हुँदै आएको छ ।
एमसीसीकै कारण संसद बैठक बुधबार समेतगरी ६ पटक स्थगित भएको छ ।