माओवादी बैठक स्थगनः बहाना कोभिडको, कारण राजनीतिक – Nepal Press

माओवादी बैठक स्थगनः बहाना कोभिडको, कारण राजनीतिक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बहुप्रतिक्षित केन्द्रीय समिति बैठक हठात् स्थगित गरियो । स्थगित बैठकको अर्को मिति तोकिएको छैन ।

दुई दिन (२८-२९) लाई बोलाइएको बैठकबाट पदाधिकारी चयन, स्थायी समिति र प्योलिटब्युरोको गठन, नेताहरुको कार्यविभाजन र स्थानीय चुनावका लागि अभियानको घोषणा हुने अपेक्षा थियो । त्यसमाथि अहिलेको ‘हटकेट’ विषय एमसीसीमाथिको छलफल त छँदै थियो ।

अचानक बैठक स्थगन हुनुका कारणबारे सोध्दा माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले कोभिडको कारण देखाए ।

‘२५ जनाभन्दा बढी भेला हुन नपाइने नियम अहिले पनि लागू छ,’ उनले भने, ‘सत्तारुढ दल भएकाले सरकारले घोषणा गरेको नियम उल्लंघन गरेर बैठक गर्नुभन्दा केही दिन पर्खिने कुरा भयो ।’

ढकालले कोभिडको कारणले बैठक स्थगन गरिएको भने पनि स्थिति भने ठ्याक्कै त्यस्तो होइन । २८–२९ गतेको बैठक तय गर्दा पनि कोभिड छ भन्ने नेताहरुलाई थाहा नै थियो । यो निमित्त कारण मात्रै हो । मुख्य कारण भने पदाधिकारी चयन र स्थायी समिति गठन गर्ने विषयमा सहमति नजुट्नु हो । ‘कोभिड त एउटा बहाना मात्रै हो,’ एक स्थायी समिति सदस्य भन्छन्, ‘पदाधिकारी र स्थायी समितिमा सहमति जुट्न नसक्दा बैठक सारिएको हो ।’

माओवादीमा मुख्यगरि महासचिवमा धेरैको दावेदारी छ । त्यसमा पनि मुख्य दावेदारी वर्षमान पुन र जनार्दन शर्माको छ । शर्मा र पुनलाई सहमतिमा ल्याउन प्रचण्डले गरेको प्रयास असफल भएपछि बैठक सारिएको अर्का एक स्थायी समिति सदस्य बताउँछन् ।

‘अध्यक्षले दुवै जनालाई बोलाएर आपसमा सहमति गरेर आउनुहोस् भन्नुभयो तर उहाँहरु (पुन र शर्मा) बीच सहमति भइसकेको छैन्,’ उनले भने, ‘प्रचण्ड चुनाव गराउने पक्षमा हुनुहुन्न ।’

स्थायी समिति गठनमा पनि गृहकार्य पुरा भइनसकेको बताइएको छ । एमसीसी र गठबन्धन टुट्ने तनावले प्रचण्ड बालुवाटार दौडधुपमा व्यवस्थत हुनु परेकाले त्यसमा गृहकार्य नपुगेको स्रोतले बतायो । माओवादी भित्रका गुटमै स्थायी समितिमा कसले बढी आफ्ना मान्छे राख्ने भन्नेमा प्रतिष्पर्धा हुँदा प्रचण्डलाई टुंग्याउन गाह्रो भएको छ ।

माओवादीमा ४५ जना स्थायी समिति रहने व्यवस्था छ । नेकपाकालमा स्थायी समितिमा रहेका एक दर्जनभन्दा बढी नेताहरुलाई नै माओवादीमा स्थायी समिति सदस्य मानिएको थियो । उनीहरु स्वतः सदस्य हुने बलियो सम्भावना रहँदा करिब ३० जना नयाँ अनुहार स्थायी समितिमा थपिने छन् । थपिने सदस्यका लागि नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र जनार्दन शर्मा गुटबीच आफ्ना मान्छे धेरै पार्न प्रतिष्पर्धा चलेको हो ।

स्थानीय चुनाव आइसकेकाले पार्टीको लथालिङ अवस्थालाई लम्ब्याइ रहनु चिन्ताजनक भएको स्थायी समिति सदस्य गणेश साह बताउँछन् ।

‘अहिलेको आवश्यकता चाँडोभन्दा चाँडो चुस्त दुरुस्त समिति बनाएर कार्यविभाजनसहित गाउँ-गाउँमा जाने हो,’ नेपाल प्रेससँग उनले भने, ‘अन्यौल लम्ब्याइरहने हो भने यसले चुनावमा प्रभाव पार्छ ।’

एमाले र कांग्रेसले चुनावको तयारीमा जुट्न थाल्दा माओवादी भने आन्तरिकरुपमा रुमल्लिएको छ । आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको कार्यविभाजन नै हुन बाँकी छ । यस्तोमा कार्यकतालाई उत्साहित पार्ने गरी अघि बढ्नु पर्नेमा बैठक स्थगन गरेको भन्दै केन्द्रीय सदस्यहरु नै निराश बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर