त्रिपुरेश्वर चोकमा बन्यो आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय (भिडिओ) – Nepal Press

त्रिपुरेश्वर चोकमा बन्यो आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय (भिडिओ)

काठमाडौं । कुनै समय ट्रली बसको टिकट काउण्टर रहेको र पछिल्लो समय जीर्ण बनेको त्रिपुरेश्वर चोकमा तपाईँ आज–भोलि पुग्नुभयो भने त्यहाँ टिकट काउण्टर होइन आधुनिक र सुविधासम्पन्न सार्वजनिक शौचालय देख्न सक्नुहुनेछ । त्यहाँ काठमाडौ‌ महानगरपालिकाले एरोसानसँगको सहकार्यमा आधुनिक र सुविधासम्पन्न शौचालयको निर्माण गरेको छ ।

उक्त शौचालयको उद्घाटन आज गर्दै काठमाडौ‌ं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बढी भीडभाड हुने स्थान, पार्कलगायतका ठाउँमा आधुनिक शौचालय निर्माणलाई काठमाडौँ महानगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिए ।

‘यदि तपाईँहरु त्रिपुरेश्वरको बाटो हुँदै ओहोरदोहोर गर्दै हुनुहुन्छ र शौचको आवश्यक पर्र्यो भने अव तपाईँले स्वचालित प्रविधिमा आधारित सुविधा भएको शौचालयको प्रयोग ढुक्कसँग गर्नुसक्नुहुनेछ,’ प्रमुख शाक्यले भने, ‘हेर्दा सफा देखिने शौचालयमा महिनावरी भएका महिलाका लागि स्यानिटरी प्याड प्रयोग गर्न र त्यसको व्यवस्थापन गर्न मिल्ने डिस्पोजल मेसिनको समेत यहाँ व्यवस्था गरिएको छ ।’

प्रमुख शाक्यले आज उद्घाटन गरेको शौचालय मात्रै होइन महानगरपालिकाले निर्माण गर्ने हरेक शौचालय दृष्टिविहिन, शारीरिक रुपमा फरक क्षमता भएका नागरिकका लागिसमेत सहज हुने गरी निर्माण गर्ने योजना रहेको बताए । उनले अब निर्माण हुने शौचालय स्यानिटरी प्याड, पर्याप्त पानी, बत्तीको समेत व्यवस्थासहितका हुने दाबी गरे ।

‘काठमाडौं महानगरपालिकाले जति पनि सार्वजनिक पार्क निर्माण गरेको छ, ती सबै ठाउँमा अनिवार्य शौचालय निर्माण गरेको छ,’ शाक्यले भने, ‘हरियालीको आनन्द लिदैँ पार्क घुम्न आउने हरेक नागरिकले शौचालयका लागि घर फर्किनु पर्ने वा नजिकका घरमा छिर्नुपर्ने बाध्यता नहोस् भनेर हामीले निर्माण गरेका हरेक पार्कमा पनि सेवाका लागि शौचालयको अनिवार्य व्यवस्था गरेका हौँ ।’

प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले सबै वडामा सुबिधाजनक सार्वजनिक शौचालय निर्माण गर्ने योजना अनुसार नै यस अघि चक्रपथ सडक खण्डको स्वयम्भू बुद्धपार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालयको सञ्चालनमा ल्याएको जानकारी दिए ।

महानगरपालिकाले गौशाला, तीनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, थापाथली, सुन्धारा, एनएसी, न्यूरोड जुद्ध शालिक आसपास, हनुमानढोका, जमल, लैनचौर, सोह्रखुट्टे, बल्खु र कुलेश्वरलगायतका स्थानमा सार्वजनिक शौचालय बनाउँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर