ओलीको टिप्पणी- एमसीसी रोकेर सभामुखले गठबन्धनलाई निरीह बनाए (भिडिओ) – Nepal Press

ओलीको टिप्पणी- एमसीसी रोकेर सभामुखले गठबन्धनलाई निरीह बनाए (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीलाई पत्र लेखेर देशमाथि गम्भिर खेलबाड गरेको आरोप लगाएका छन् ।

पार्टीको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै ओलीले पत्रप्रति गम्भिर रहेको बताए ।

‘एमसीसीलाई गठबन्धनभित्र पनि दुईटा अध्यक्षले पत्र लेख्ने कुरा । अरु अध्यक्षहरूलाई थाहा छ कि छैन ? थाहा भएपनि नभएपनि उहाँहरुको बाध्यता छन्, त्यो गठबन्धनमा लाग्नुपर्ने । तर देश त गम्भिर खेलवाड, खेलाँची, गैरजिम्मेवारपनको शिकार भइराखेको छ । यस कुराप्रति हामी गम्भिर छौं ।’

सभामुख अग्निप्रसाद सापकोटाले अनधिकृत ढंगले संसदमा निर्णयार्थ पेस गरिएको एमसीसी सम्झौता अघि बढ्न नदिएको ओलीले टिप्पणी गरे ।

‘सभामुखले सरकारले निर्णयार्थ संसदमा दर्ता गरेको चिजलाई रोक्ने अधिकार सभामुखलाई छैन । कर्तव्य होइन । र, उनले त्यो अनधिकृत ढंगले बलमिच्याइँ गरेका छन । यस्तो कुरा यो गठबन्धनको निरिहता हो, पदलोलुपता हो । सत्तामोह हो’, ओलीले भने, ‘गठबन्धन जसरी पनि कायम राखेर सरकारमा बस्नुपर्छ भन्ने कुरा हो ? र, यस्तो कुरामा पनि सत्ता गठबन्धन चुइँक्क बोल्न सक्दैन ।’

सभामुख पदीय सीमाभन्दा बाहिर गएको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘को अधिकारको सीमाभन्दा बाहिर गइराखेको छ ? अघिल्लो सभामुखले त्यस्तै ढंगले अनधिकृत क्रियाकलाप गरेकै हो । र, अहिलेको सभामुखले त्यही कुरालाई जारी राखेका छन् । र, अनधिकृत क्रियाकलाप गरिराख्या छ । संसदले के गर्छ, त्यो आफ्नो ठाउँमा होला । संसदलाई निर्णयार्थ दिनुपर्‍यो अधिकार । तर, संसदलाई नदिएर रोक्ने कुरा उनको अधिकारभित्रको कुरा होइन । अनि त्यस्तो अनधिकृत काम गर्ने सभामुख कहाँ प्रशंसाका लागि केही मान्छेहरू पुग्छन् रे भनेको सुन्दा सरम लाग्छ । यो गैरजिम्मेवार कुरा हो । यसमा सरकार गम्भिर होस् म दोहोर्‍याउन चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर