भ्रातृ संस्थाबारे कांग्रेसले आजपनि निर्णय लिन सकेन – Nepal Press

भ्रातृ संस्थाबारे कांग्रेसले आजपनि निर्णय लिन सकेन

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारे अनिर्णित भएको छ ।

दुई दिनको बैठकबाट पनि कांग्रेसले गत माघ १६ गते नै म्याद सकिएका भ्रातृ संस्थाबारे निर्णय दिन नसकेको हो । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले कार्यसम्पादन समितिको बैठक आइतबार पुनः बस्ने र त्यसबारे निर्णय लिने जानकारी दिए ।
‘भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान आजको बैठकमा पेश भएको छ । त्यो विधानका आधारमा जे आवश्यक पर्छ आइतबार पुनः बैठक बसेर निर्णय लिनेछौं’, महतले पत्रकारहरुसँग भने ।

बैठकमा केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले यसअघि नै तयार पारेको भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान पेश गरिएको छ । भ्रातृ संस्थाबारे थप अध्ययन गर्न शनिबार बैठक नराखी आइतबारको बैठकबाट निर्णय लिन लागिएको महतले बताए । नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ, किसान संघ लगायतक कांग्रेसका दर्जन बढी भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको लामो समयदेखि अधिवेशन हुन सकेको छैन भने म्याद पनि सकिएको छ ।

उनले अधिवेशन हुन बाँकी जिल्लामा फागुन १३ मा अधिवेशन गर्ने निर्णय भएको बताउँदै अन्य विषयमा थप छलफल हुने बताए । महतले एमसीसीलाई संसदमा पेश गरेर पारित गर्नुपर्ने धारणा नै कांग्रेसको आधिकारीक धारणा रहेको समेत बताए ।
कार्यसम्पादन समितिको अर्को बैठक आइतबार २ बजे पुनः बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर