सुर्खेत उद्योग वाणिज्य चुनाव सन्निकट- गुटबन्दीले कार्यालयमा तालाबन्दी – Nepal Press

सुर्खेत उद्योग वाणिज्य चुनाव सन्निकट- गुटबन्दीले कार्यालयमा तालाबन्दी

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन आगामी चैत २६ गते हुने भएको छ । शुक्रबार बसेको बैठकले बहुमत सदस्यहरुको उपस्थितिमा सो निर्णय भएको हो । २६ सदस्यीय समितिमा १५ जनाले चुनावको पक्षमा हस्ताक्षर गरेका छन् भने चार जनाले नोट अफ डिसेन्ट जनाएका छन् ।

विपक्षी समूहले नोट अफ डिसेन्ट जनाएर विरोध गरेको केहि समयमै नेपाली काँग्रेस जिल्ला कार्यसमिति सहसचिव हरि विष्ट, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्कालगायतको टोलीले कार्यालयमा तालाबन्दी समेत गरेको छ ।

नेपाली काँग्रेसमा आबद्ध अधिकांश सदस्य रहेको उक्त संघमा पछिल्लो समयमा काँग्रेसको चर्को गुटबन्दीका कारण तालाबन्दी भएको हो । सुर्खेतमा तालाबन्दी गर्नेहरु उपसभापति पूर्णबहादुर खड्का निकटका हुन भने अध्यक्षसहितका अन्य पदाधिकारीहरु हृदयराम थानी निकटका हुन् ।

हालका अध्यक्ष धनबहादुर रावतको कार्यकाल समाप्त हुँदै गर्दा वरिष्ठ उपाध्यक्ष हर्षबहादुर खड्का र महासचिव लक्ष्मण कँडेलबिचको शक्तिसंघर्ष अहिले ‘उफान’ मा पुगेको हो । अघिल्लोपटकको निर्वाचनमा एमाले निकटका व्यवसायीहरुले सुर्खेत चेम्बर अफ कमर्स स्थापना गरेर संघका गतिविधिवाट पूर्णरूपमा अलग भएपनि पूर्व अध्यक्ष विष्णुवहादुर शाही नेतृत्वको एउटा सानो समूहले खड्का समर्थक प्रकाश उप्रेतीको समूहलाई सहयोग गरेको थियो ।

तर, निर्वाचनमा उप्रेती समूह पराजित भयो । निर्वाचन नजिकिँदै गएसंगै पुनः विवाद र तालाबन्दी सुरु भएपछि संघका साधारण सदस्यहरु निराश भएका छन् । व्यवसायीहरुको हकहित भन्दापनि संघ राजनीतिको अखडा बन्न संघ पुगेको उनीहरुको गुनासो छ ।

खड्का टिम निकटका व्यवसायीहरुले आफ्ना माग सम्बोधन नगरी एकाएक कार्यसमिति चयनका लागि चुनाव घोषणा गरिएको भन्दै तालाबन्दी गरेका हुन् । उनीहरूले चरणबद्धरुपमा आन्दोलनको घोषणा गर्दै शुक्रबार दिउँसो ताला लगाएका हुन् । संघका पदाधिकारीहरुको गत मंसिरमा बसेको वैठकले आगामी चैत २६ गते निर्वाचन गर्ने घोषणा गरेको थियो ।

महासचिव लक्ष्मण कडेलले गैर–व्यवसायीहरुलाई सदस्यता दिएको र आफु निकट व्यवसायीहरुलाई नवीकरण गर्ने मौकासमेत नदिएको खड्का पक्षले आरोप लगाएको छ ।

महासचिव कँडेलले गैर सदस्य भर्ना गरेर संघमा पकड बनाएको उनीहरूको आरोप छ । संघ गैर व्यवसायीको अखडा वन्ने उनीहरूको चिन्ता छ । वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले व्यवसायीहरु बाहिर भएमा संस्था र व्यवसायी दबैैलाई बेफाईदा हुने भएकाले आफुहरुको माग सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

१ हजार २ सय जना व्यवसायीहरुले नवीकरण गर्न नपाएको र उनीहरू संस्थाबाट बाहिर हुँदा संस्था र व्यवसायी दुबैैलाई फाईदा नहुने उनको तर्क छ । खड्काले कोभिडका कारण व्यवसाय नचलेकाले नवीकरणका लागि केही राहत दिन माग गरेको बताए ।

नविकरण नभएका व्यवसायीहरुको हकमा जरिवाना नलगाई पुनः नविकरण गरिदिन संघमा निवेदन दिदापनि सुनुवाइ नभएको उनको गुनासो छ । शुक्रबारको वैठकले कार्यसमितिको बहुमतले निर्णय गर्दै नवीकरण गर्न छुटेकोहरुको माग सम्बोधन नगर्ने निर्णय गरेको थियो । त्यस लगत्तै नेपाली कांग्रेस सुर्खेतका पदाधिकारी सहितको खड्का निकटका व्यवसायीहरुको एक टोलीले संघमा ताला लगाएको हो ।

संघका महासचिव लक्ष्मण कँडेलले भने संघलाई गैरव्यवसायीहरुवाट मुक्त गराउने उद्देश्य बमोजिम निर्वाचनमा जाने निर्णय गरिएको दाबी गरे । विगतमा निर्वाचनमा मुखैमा निस्कने ४/५ को सदस्यता यसपटक बन्द गरेको र सुर्खेतको पूर्वी क्षेत्रमा अर्को संघ खुलेकाले सबैको नवीकरण हुन नसकेको उनले बताए ।

हालसम्म १ हजार ८ सय भन्दा बढिले सदस्यता नविकरण गरिसकेकाले निर्वाचन कुनैपनि हालतमा नरोकिने उनले प्रष्ट पारे । कँडेलले ७/८ सय जति सदस्यता नविकरण गर्न बाँकी रहेको आफुले सुनेको प्रतिकृया दिए ।

दुई बर्षसम्म नविकरण नभएका व्यवसायीहरुको नविकरण गर्ने व्यवस्था विधानमै नभएकोले आफुहरु त्यो मागमा सहमत हुन नसकेको उनको भनाइ छ ।

कँडेलले व्यवसायीहरुलाई यसअघि पनि सदस्यता नविकरण गर्न पटकपटक ताकेता गर्दा बेवास्ता गरेकोले थप समय दिएर कुर्न नसकिएको बताए । विधान वमोजिम आफुहरुको कार्यकाल मंसिर महिनामै समाप्त भैसकेकोले निर्वाचन नगरी नहुने अवस्थामा आफुहरु रहेको कँडेलले बताए ।

निर्वाचनको मिति नै घोषणा भईसकेपछि सदस्यता नविकरण गर्ने व्यवस्था विधानमा नभएकाले माग पूरा गर्न नसकिने उनको भनाई छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर