ए डिभिजन लिग : अग्रता जोगाउन नसक्दा थ्री स्टारसँग बराबरीमा रोकियो मनाङ
काठमाडौं । मनाङ मर्स्याङदी क्लब र थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १–१ गोलको बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा सनिबार भएको दोस्रो खेलमा मनाङका लगि दयानन्द इलानजिबा र थ्री स्टारका रितिक कुमार खड्काले गोल गरे ।
त्यसअघि, मनाङले खेलको दोस्रो मिनेटमै अग्रता लिने अवसर गुमाएको थियो । कप्तान अन्जन विष्टले हानेको फ्रिकिक थ्री स्टारका गोलकिपर प्रिसोले उत्कृष्ट बचाउ गरका थिए ।
थ्री स्टारले ३२औं मिनेटमा अग्रता लिने मौका गुमाएको थियो । मिडफिल्डर हेमन्त थामपा मगरले पेनाल्टी एरियाको बाँया तर्फबाट दिएको क्रसमा सन्जोक राईको प्रहार मनाङका गोलकिपर अशोक बरालले बचाएका थिए ।
पुजन उपरकोटीको लङ पारमा अफिज ओलावाले ४१औं मिनेटमा वान भर्सेज वानको अवस्थामा गोल गर्ने सुन्दर अवसर खेर फाले ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२औं मिनेटमा सब्सिट्युट खेलाडी दयानन्दले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।
उनले कप्तान अन्जन विष्टको क्रसलाई ६यार्ड बक्स नजिकैबाट हेडरमार्फत सुन्दर फिनिस गरेका थिए । एक मिनेट अगाडी मात्रै पुजन उपरकोटीको स्थानमा मैदान प्रवेश गरेका दयानन्दले फस्ट टचमै गोल गरेका थिए ।
तर, मनाङले लिएको अग्रता लामो समयसम्म टिकाइराख्न सकेन ।
खेलको ७१औं मिनेटमा थ्री स्टारका रितिकले बराबरी गोल फर्काए । घनिफको ब्याकपासलाई आर्कबाट प्रहार गर्दै उत्कृष्ट गाल गरेका थिए ।
त्सपछि खेलको निर्धारित समयसम्म पनि दुवै टोलीले पाएका अवसरहरु सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुङ्गियो ।
बराबरीसँगै मनाङ १० खेलबाट २० अंकससहित तालिकाको दोस्रो स्थानमा छ । थ्री स्टार १७ अंकसहित चौथो स्थानमा छ ।