न्याय क्षेत्र झन् अराजक हुने स्थिति देखिएपछि महाअभियोग : प्रचण्ड (भिडिओ) – Nepal Press

न्याय क्षेत्र झन् अराजक हुने स्थिति देखिएपछि महाअभियोग : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्याय क्षेत्र झन् विवादित र अराजक हुने भएपछि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग ल्याएको बताएका छन् ।

आइतबार मधेस प्रदेशको जनयुद्ध दिवससम्बन्धी कार्यक्रमपछि संवाददाताहरूसँग कुराकानी गर्दै प्रचण्डले यसमा गठबन्धनकै सहमति रहेको समेत बताए ।

‘न्याय क्षेत्र झन् पछि झन विवादित हुने, झन अराजक हुने र झन अन्योलग्रस्त हुने स्थिति देखिएपछि संवैधानिक र लोकतान्त्रिक बाटोबाट समस्याको निकास गर्ने भनेको महाअभियोग नै हुन्थ्यो,’ प्रचण्डले भने, ‘त्यसमा गठबन्धनमा आम सहमति पनि भयो ।’

न्यायालयमा लामो समयदेखि देखिएको विवादको हल गर्न गठबन्धनले स्वयं प्रधानन्यायाधीशलाई आग्रह गरे पनि त्यस्तो स्थिति नदेखिएको प्रचण्डले बताए ।

‘गठबन्धनको बैठकबाट सहज निकास दिन सम्बन्धित सबैलाई अपील पनि गर्‍यौं,’ उनको भनाइ छ, ‘यसको मुख्य जिम्मेवार प्रधानन्यायाधीश नै हुनुपर्छ न्यायालयमा देखिएको विकृतिको, प्रधानन्याधीशले नै निकास दिनुपर्छ बिदा बसेर हुन्छ या सबैलाई विश्वासमा लिएर हुन्छ भन्दा पनि कहीँ कतै सुधारको स्थिति देखा परेन ।’

गठबन्धनले न्याय क्षेत्रको समस्याको सहज निकासका लागि पहल गरेको समेत उनले बताए ।

‘बारको तर्फबाट अधिवक्ताहरू र स्वयं न्यायाधीश नै आन्दोलित हुने बडो विचित्रको स्थिति नेपालमा देखापर्‍यो,’ प्रचण्डले भने, ‘यसको सहज निकास होस् भन्ने हाम्रो गठबन्धनको तर्फबाट सधैँ नै सोचेको मात्रै होइन पहल पनि गर्‍यौं ।’


प्रतिक्रिया

One thought on “न्याय क्षेत्र झन् अराजक हुने स्थिति देखिएपछि महाअभियोग : प्रचण्ड (भिडिओ)

  1. यस्ता दलाललाई राजनीतिबाट बिदा गरिदिनुपर्छ । अराजकता मच्चाउने, देशलाई सधै अस्थिर बनाउने, विदेशीकाे दलाली गर्ने, दुनियाका छाेराछाेरी मारेर लुटेकाे पैसाले आफू र आफ्नाे परिवार माेजकाे जिन्दगी बिताउने यस्ता देशद्राेहीलाई अब पनि माैका दिनु भनेकाे देश बर्वाद पार्नु हाे । हामीलाई त देशकाे माया छ । यहि बस्नु छ । यसले त लुटेकाे पैसा व्रिटिस भर्जिन आईल्याण्ड, पनामा सिटी, सिंगापुर, दुबईमा लगेर राखेकाे छ, कुनै दिन देश छाेडेर भाग्नकाे लागि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर