महिनावारी कप: नारीलाई चार दिनको अछुतबाट मुक्त गराउने भाँडो हुन सक्ला ? – Nepal Press
ब्लग

महिनावारी कप: नारीलाई चार दिनको अछुतबाट मुक्त गराउने भाँडो हुन सक्ला ?

स्कुलबाट फर्कँदै गर्दा एक्कासी शरीरमा असहज महसुस भयो । हतार–हतार घर पुगेर ट्वाइलेट गएपछि थाहा भयो, मिन्स भएको रहेछु ।

पहिलोपटक मिन्स भएपछि छुट्टै कोठामा बस्नुपर्ने कुरा थाहा पाउन हामीलाई आफैं मिन्स हुन पर्दैनथ्यो । छिमेकका दिदीहरु पहिलोपटक मिन्स भएपछि अरुको घरको छुट्टै कोठामा बस्ने गरेको देखेका थियौँ । त्यसैले होला पहिलो रजस्वलामा अरुको घरको कोठामा लुक्नुपर्छ भन्ने कुरामा मानसिक रुपले नै तयार थिएँ । अरुको घरमा बस्ने थाहा भए पनि कस्को घरमा बस्न पाउने हो, त्यसको निधो भने रजस्वला भएकै दिन मात्र थाहा हुन्थ्यो ।

उमेरले सानै भएर होला, यो चलनको विरोध गर्नुपर्छ भन्ने हामीलाई थाहा भएन । या त हामीभन्दा अग्रज दिदीहरुले त्यहीं परम्परा धानेर बसेकोले होला हामीले पनि चुप लागेर नै छोरा मान्छेको (विशेषगरी बुबा, काका, दाजुभाइ र मामा)को मुख हेर्न नहुने कुरा पत्याइरह्यौं ।

मलाई कोठामा थुनिएको चौथो दिन थियो । सबैजना हतार–हतार घरधन्दा छिनेर चिटिक्क पर्न थाले, नजिकैको गाउँमा विहेमा जानको लागि । मलाई थाहा थियो, घरका छोरा मान्छेको अनुहार हेर्न हुन्न भनेर । कोठामा थुनिएकी म त्यो विहेमा सहभागी हुन पाउँदिन तर पनि मनमा झिनो आस बोकेर मैले सोधीटोपले, ‘म पनि विहेमा जान्छु नि, बरु हजुरहरु गएपछि आउँछु अनि टाढा बसेर हेर्छु ।’ ‘हुन्छ’ भन्नु त परको कुरा सबैले मेरो खिल्ली पो उडाए । चिटिक्क परेर सिँगारिएका ती अनुहारले मभित्रको उराठपन देख्न सकेनन् ।

महिना सकिनै लागेको थियो तर अब मलाई अर्को महिनाले पिरोल्न थालिसक्यो । कसरी चाहिँ थाहा नदिने होला, म मिन्स भएको कुरा । मलाई ‘बार्नु’ नै छैन । आफूलाई जान मन लागेको, खान मन लागेको र गर्न मन लागेको सबै कुरा रोकिदिने यो रजस्वलालाई म आफैंले रोकिदिउँ जस्तो लागिरहेको थियो । परिवर्तन गर्न सकिने मेरो समाज त मेरो बसमा थिएन म भने प्रकृतिलाई ‘च्यालेन्ज’ दिनेबारे सोच्दै थिएँ ।

त्यो दिन मैले महसुस गरे, यो महिनावारि भन्नेले त कति पारि पो पुर्याउँने रहेछ । मनका इच्छा मारिदिँदो रहेछ अनि सबैबाट एक्लो पारिदिँदो रहेछ । भर्खरै मात्र सुरु भएको महिनावारि रोकिने दिन कहिले आउला जस्तो भयो मलाई ।

अहँ ! मलाई यो महिनावारि पटक्कै मन परेन । त्यो दिन मेरो अगाडि आएर जो–जो रमाउँदै थिए, उनीहरु सबैसंग रिस उठ्यो । ‘अब अर्को महिना मिन्स हुँदा त म कसैलाई पनि भन्दिनँ, सबैसँग बसेर खाइदिन्छु । मिन्स हुँदा जे–जे नगर्नु पर्ने काम हो, त्यो सबै गरिदिन्छु । कसले के गर्दो रै’छ हेरुम् न !’ आफैसँग मुर्मुरिँदै ढोकालाई रिस पोखेँ । मेरो आवाज नसुने पनि सुने होलान्, ढोकाको आवाज त !

११ दिनपछि यो महिनाको लागि चोखिएँ अरे । मैले सबैको स्वीकृति पाएँ बाहिर खुलेर हिँड्न । त्योभन्दा पहिला त केटा मान्छेले चाहिँ म वरिपरि छु भन्ने वास्ता नगर्दा पनि उल्टै मैले परैबाट कोही आउँदैछ भनेर लुकिदिनु पर्ने रे ! भोकाएको शेर देखेर बाख्रा लुकेको जसरी ।

महिना सकिनै लागेको थियो तर अब मलाई अर्को महिनाले पिरोल्न थालिसक्यो । कसरी चाहिँ थाहा नदिने होला, म मिन्स भएको कुरा । मलाई ‘बार्नु’ नै छैन । आफूलाई जान मन लागेको, खान मन लागेको र गर्न मन लागेको सबै कुरा रोकिदिने यो रजस्वलालाई म आफैंले रोकिदिउँ जस्तो लागिरहेको थियो । परिवर्तन गर्न सकिने मेरो समाज त मेरो बसमा थिएन म भने प्रकृतिलाई ‘च्यालेन्ज’ दिनेबारे सोच्दै थिएँ ।

अर्को महिनाको रजस्वलाई पनि कपडाको पारदर्शिताले कहाँ पो छेक्न सक्यो र ! म वरिपरि नभए पनि वा मैले कसैलाई नभने पनि सुकाउन भनेर टाँगिएको कपडाले आउने–जाने सबैलाई भनिसकेको हुन्थ्यो, म मिन्स भएको खबर ।

स्कुलमा ४–५ घण्टा एउटै कपडाको भरमा बस्नु पर्ने, प्रत्येक कक्षा सकिँदैपिच्छे ‘ओई, मेरो स्कटको पछाडि रगत लागेको छ कि हेर्दे ल’ भनेर कुनै न कुनै साथीलाई ड्युटीमा खटाएका हुन्थ्यौँ । यो ड्युटी हामी एकअर्काको पालामा मिलिजुली गर्थौं । यदि स्कटमा रगत लागेको छैन भने उसले निर्धक्कसँग भन्थी ‘छैन छैन हिँड्, ट्वाइलेट गएर कपडा मिला ।’ यदि रगत लागेको रै’छ मात्र भने उसले बरु स्कटमा लागेको रगत किन त्यति रातो होला र, त्योभन्दा रातो अनुहार बनाउँदै भन्थी, ‘ओई तेरो त रगत लागेछ हेर न, बेन्चमा पनि पो लागेछ ।’

‘ला अब के गर्ने ? कापीको पाना च्यातेर पहिला बेन्च पुछपाछ गर्थौँ । साथीले आफू पछिपछि बसेर मलाई ट्वाईलेटसम्म पुर्याउँथी ।

सुन्नेको लागि कथा लाग्ने कपडाका कुरा भोग्नेहरुका लागि भने पीडा नै थियो । महिनावारिको समयमा शरीरमा हुने चिडचिडाहट त छँदैछ, यस्ता खालका मानसिक पीडासमेत भोग्नुपर्ने बाध्यता थियो ।

प्रत्येक कक्षा सकिँदैपिच्छे ‘ओई, मेरो स्कटको पछाडि रगत लागेको छ कि हेर्दे ल’ भनेर कुनै न कुनै साथीलाई ड्युटीमा खटाएका हुन्थ्यौँ । यो ड्युटी हामी एकअर्काको पालामा मिलिजुली गर्थौं । यदि स्कटमा रगत लागेको छैन भने उसले निर्धक्कसँग भन्थी ‘छैन छैन हिँड्, ट्वाइलेट गएर कपडा मिला ।’

यस्ता समस्या धेरै ठाउँमा अझै उस्तै होलान् । हाम्रो समाजमा अझै यस्ता प्रशस्तै ठाउँहरु छन्, जहाँ कपडाले झन्झटिलो बनाएको महिनावारिलाई छोईछिटो र छाउपडीले झन् धेरै बोझिलो बनाएको छ ।

मिन्स भएको केही वर्षपछि थाहा पाएँ, कपडाभन्दा सजिलो र राम्रो प्याड पाइन्छ तर पैसा लाग्छ । समय समयमा फेर्न पाइने, धुन पनि नपर्ने, लगाउन पनि सजिलो, खाजाको पैसा बँचाएर भए पनि प्याड लागाउने भयौं हामी । प्याड किन्नको लागि पैसाको जोहो गर्न केही गाह्रो भए पनि कपडाको प्रयोगबाट मुक्ति पाउनेमा निकै खुसी थियौं ।

अझ त्यसमा पनि महिनावारि बार्नेको विरोधमा लागेकी म भने मिन्स भएको खबर दिने कपडाबाट छुटकारा पाएकोमा निकै रमाएकी थिएँ । तर प्याड लगाउँदा पनि घर परिवारले थाहा नपाउने भन्ने त कहाँ हुन्थ्यो र ? घरमा पैसा माग्दा ‘किन चाहियो’को उत्तरमा आफैं आउँथ्यो म मिन्स भएको कुरा ।

तर जब आफैसँग बचाएर राखेको पैसा हुन थाल्यो तब भने मैले आवश्यकता अनुसार मिन्स भएको कुरा कसैलाई नभनी विभिन्न कर्यक्रमहरुमा सहभागी पनि भएकी छु । प्याडले अलिकति भए पनि महिनावारि छोईछिटोको विरोध गर्न पाउने अवसर दिएकोमा खुसी थिएँ ।

सायद यो पढिरहने धेरैलाई लाग्नसक्छ, प्याड लगाएर वा मिन्स भएको बेलामा छोईछाई गर्नु पाप हो । तर मलाई लाग्छ– मिन्स हुनु नै एउटा पवित्र काम हो । अनि त्यो पवित्र भएको समयमा कुनै काम गर्न म अपवित्र भएँ भन्दै पर सर्नु चाहिँ पाप हो ।

कपडाको प्रयोगले हैरान भएको बेलामा प्याडले साथ दियो अनि प्याडभन्दा पनि सजिलो हुने थाहा पाएपछि मैले केही समय अघिदेखि ‘मेन्सुरेसन कप’ प्रयोग गर्न थालेकी छु । कपको प्रयोगले एउटा छुट्टै अनुभव त गरें नै, साथमा कपडाको कारणले नहटेको महिनावारि बार्ने कु–संस्कारलाई अब कपले पो हटाउन सक्छ कि ! भन्ने झिनो आश पनि पलाएको छ । कारण– रगत व्यवस्थापन ।

मिन्स भएको केही वर्षपछि थाहा पाएँ, कपडाभन्दा सजिलो र राम्रो प्याड पाइन्छ तर पैसा लाग्छ । समय समयमा फेर्न पाइने, धुन पनि नपर्ने, लगाउन पनि सजिलो, खाजाको पैसा बँचाएर भए पनि प्याड लागाउने भयौं हामी । प्याड किन्नको लागि पैसाको जोहो गर्न केही गाह्रो भए पनि कपडाको प्रयोगबाट मुक्ति पाउनेमा निकै खुसी थियौं ।

योनिभित्र नै कप रहने भएकोले रगत बगेको महसुस नै भएन । जसले गर्दा सिकसिको लाग्ने, झर्को लाग्ने, शरीर भारी भएको महसुस हुने, झिँजो लाग्ने जस्ता मानसिक तनावबाट पूर्णरुपले छुटकारा मिल्यो । सायद रगतसँगै मानसिक पीडा पनि कपमा जम्मा भयो होला । त्यसो त अझै पनि मानसिक पीडाको सबैभन्दा ठूलो जरो महिनावारि छोईछाई भाँचिन त बाँकी नै छ ।

थाहा छैन त्यति दरिलो जरोलाई कपले भाँच्ला– नभाँच्ला ! तर मेरो समाजले मलाई बुझाएअनुसार जब प्रत्येक महिना एउटी महिलाको पाठेघरबाट रगत बाहिरिन्छ तब त्यो रगतका करणले ऊ महिनाको ४–५ दिन अछुत हुनु नपर्ने हो ।

यदि पाठेघरभित्र हुन्जेल चोखो भएको रगत योनिबाट बाहिर निस्किँदैमा अछुतो हुने हो भने वा रगत बाहिर निस्केकै कारण बार्नु पर्ने, पर बस्नु पर्ने हो भने कप त नेपाली नारीहरुको लागि बरदान सावित हुने रै’छ ।

मिन्स भइरहेको महसुस नै हुन नदिन कपले शारीरिक पीडा जस्तै थकान, ढाड, पेट दुख्ने समस्या त कम नगर्ला तर मानसिक चिडचिडाहट भने पक्कै कम गर्छ ।

वर्षमा कम्तिमा पनि पाँच हजारको प्याड प्रयोग गर्ने हाम्रा लागि पाँच सयदेखि हजार रुपैयाँको कपले १० वर्षसम्म साथ दिन्छ । प्याड व्यवस्थापनको झन्झट पनि नहुने र मिन्स भएको महसुस पनि नहुने भएपछि के थाहा समाजले अछुतो पनि बनाउँदैन कि !

 


प्रतिक्रिया

One thought on “महिनावारी कप: नारीलाई चार दिनको अछुतबाट मुक्त गराउने भाँडो हुन सक्ला ?

  1. आफूलाई सहज लाग्ने उपयुक्त साधन प्रयोग गरेर हामी आफैं सजक भई बस्यौँ भने सायद यो पर सर्नु पर्ने चलन हराउदै जाला
    लेखद्वारा आफ्ना भोगाई उतार्नु भएकोमा धन्यवाद
    बांकी मानसिक रोग भएका मानिसहरू त के लेखेकी होला भन्दै होलान

Leave a Reply

Your email address will not be published. Required fields are marked *