स्थायी राजधानीमा मनाइयो लुम्बिनीको प्रदेश स्थापना दिवस – Nepal Press

स्थायी राजधानीमा मनाइयो लुम्बिनीको प्रदेश स्थापना दिवस

रुपन्देही । रुपन्देहीमा बुटवलमा चार वर्षदेखि अस्थायी मुकामबाट काम गरिरहेको लुम्बिनी प्रदेश सरकारले दाङको देउखुरीस्थित स्थायी राजधानीमा चौथो स्थापना दिवस मनाएको छ ।

कार्यक्रममा मुख्मन्त्री कुलप्रसाद केसीले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश निर्माणको संकल्प पूरागर्न प्रतिवद्ध रहेको जनाएका छन् । ‘सबैको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मेहनतको आवश्यकता छ । प्रदेश स्थापना दिवसले हामीलाई यो लक्ष्य पूरा गर्न थप प्रेरणा दिने विश्वास छ’, उनले भने ।

जनतालाई व्यवस्था परिवर्तन भएको अनुभूति दिनका लागि जनताको अवस्था बदल्नुपर्ने र सोही योजना तथा कार्यक्रम बनाउने उनको प्रतिवद्धता थियो ।

‘लुम्बिनीको समृद्धि हाम्रो एकमात्र लक्ष्य हो, लुम्बिनी प्रदेशको विकासमा सामूहिक पहल अघि बढेको छ । संघीयता हाम्रो लागि नयाँ अभ्यास हो’, उनले भने ‘सीमित स्रोत र साधनबीच आरम्भ भएको हाम्रो यात्रा केही अगाडि बढेको छ ।संविधानले हाम्रो बाटो र गन्तव्य प्रस्ट पारेको छ । विकास र समृद्धि नै अहिले हाम्रो प्रमुख कार्यभार बनेको छ ।’

आगामी वर्ष सरकारका काम कार्यलाई प्रभावकारी बनाउनको लागि अझै सरकारले गति प्रदान गरी अगाडि बढाउने मुख्यमन्त्री केसीको भनाइ थियो ।

उनले लुम्बिनी प्रदेश सरकारको तीनवर्ष राजनीतिक हिसाबले एकलजस्तो भएपनि पछिल्लो एकवर्ष नयाँ राजनीतिक सहकार्यतामा सरकार निर्माण भएकोले गठबन्धनको राजनीतिले अझै जनतालाई घरधुरीमा सेवा प्रदान गर्नका लागि अगाडि बढेको दावी गरे ।

यसअघि बुटवलमा मनाउँदै आएको स्थापना दिवस यसवर्ष स्थायी राजधानी दाङमा मनाइएको हो । स्थापना दिवसमा मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशका मन्त्री र प्रदेशसभा सदस्यहरू दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालायमा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।
स्थापना दिवसमा ५७ जना विभूषित

लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा ५७ जनालाई प्रदेश पदकले विभूषित गरेको छ । १० वटा विधामा ५७ जनालाई प्रदेश प्रमुख अमिक शेरचनले पदकसहित उनीहरूलाई विभूषित गरेका हुन् ।

जस अनुसार प्रदेश प्रमुख जनसेवा पदक ‘क’ बाट अर्घाखाँचीका राजु नेपाली नामले चिनिने भक्तिप्रसाद आचार्य विभूषित भएका छन् । उनी नेपालको प्रजातान्त्रिक अन्दोलनका क्रममा भारतमा दर्जनौं पटक गिरफ्तार र गणतन्त्र प्राप्तिको आन्दोलनमा सहभागी भएको भन्दै पदक प्रदान गरिएको हो ।

यस्तै, प्रदेश प्रमुख जनसेवा पदक ‘ख’ कपिलवस्तुका रामवरण यादवलाई प्रदान गरिएको छ । सोही पदक रुकुम पूर्वका प्रेम मल्ल र दिलमाया बीएमलाई प्रदान गरिएको छ । दुवैजनाले जनयुद्धका क्रममा मारिएका थिए ।

यस्तै प्रदेश प्रमुख जनसेवा पदक ‘ग’ ४ जनालाई प्रदान गरिएको छ । जसमा बांकेका माताप्रसाद कुर्मी, गुलजार खान र रोल्पाकी लली रोका र बर्दियाकी निर्मला योगी छन् ।

यस्तै, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘क’ गुल्मीका कर्णबहादुर छेत्री, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ख’ दाङका बासुदेव गौतम र रोल्पाकी तेजकुमारी ओली, मुख्यमन्त्री प्रज्ज्वल दीप पदक ‘ग’ बर्दियाका टीकाराम थारुलाई दिइएको छ । प्रदेश सेवा समर्पण क बाट राजेन्द्र थापा, प्रदेश सेवा समर्पण ख १५ जनालाई, प्रदेश सेवा समर्पण ग दुई जनालाई प्रदान गरिएको हो ।

यस्तैगरी उजिरसिंह दीप पदक ख चार जनालाई, उजिरसिंह दीप पदक ‘ग’ दुई जनालाई, समाजसेवा श्री पदक ‘क’ १ जनालाई, समाजसेवा श्री पदक ‘ख’ आठ जनालाई, समाजसेवा श्री पदक ‘ग’ दुई जनालाई, प्रदेश रत्न पदक ‘ख’ एक जनालाई, प्रदेश रत्न पदक ग दुई जनालाई, पुथाश्री

शिखर पदक ग एक जनालाई, प्रदेश प्रज्ञा पदक ख दुई जनालाई प्रदान गरिएको छ । प्रजापति गौतमी पदक ‘ख’ एक जनालाई, प्रजापति गौतमी पदक ‘ग’ दुई जनालाई, दंगीशरण बलिहाङ पदक ‘ख’ एक जनालाई र दंगीशरण बलिहाङ पदक ‘ग’ एक जनालाई प्रदान गरिएको हो ।

त्यस्तै स्थापना दिवसमा विशेष कार्यक्रममा सरकारका चार वर्षमा भएका प्रगति विवरण प्रस्तुत र प्रदेशको वृत्तचित्र प्रदर्शन गरिएको छ । प्रदेश सरकारको चार वर्षका उपलब्धि समेटिएको स्मारिका पुस्तक विमोचन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर