तारानाथले लेखनाथलाई दिएको एक अधुरो वाचा
२०६९ सालको माघ महिना । चावहिलस्थित घरमा पुग्दा तारानाथ शर्मा घाम तापिरहेका थिए । शरीर बुढ्यौली हुँदै जाँदा जाडोमा पारिलो घाम जति प्यारो के होला ! म पुगेपछि घाम छोडे, उनले । बैठक कोठातिर अघि लागे, पछि लागें म । बैठक कोठाको भित्तामा पुराना तस्बिरहरू लहरै झुण्डिएका थिए ।
अघिल्लो लाइनका तीन तस्बिरमा माला पहिर्याइएको थियो । तस्बिरमा जीवन्त थिए, ‘लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम र लेखनाथ पौड्याल ।’
तारानाथ शर्मा तस्बिर हेर्दै बोले- जो छन्, मेरा ब्रम्हा, विष्णु अनि महेश्वर ।
रसिलो मिजासका शर्मा भावुक भए । अनि भित्तामा तस्वीर राखिनुको व्याख्या गर्दै गए, ‘उहाँहरूलाई भित्तामा मात्रै होइन, मनमा पनि राखेको छु । जब उहाँहरूलाई देख्छु, म केही गर्ने उत्साहले भरिन्छु । जब एक्लै हुन्छु अनि उहाँहरूकै स्मृतिमा डुबिरहन्छु ।’
देवकोटा, सम र पौड्यालसँग संगत गरेका डा. तारानाथ शर्माको बैठक कोठामा केहीबेर उनीहरूबारे कुरा गरेपछि उनले जिन्दगीमा आफूले गरेको एउटा अठोट सुनाए- देवकोटा, सम र पौड्यालबारे केही लेखेर मात्रै मर्ने । केही अठोट पूरा गरे उनले । तर जिन्दगीको अन्तिम दिनसम्म आइपुग्दा आफैंले गरेका केही वाचा पूरा भएनन् । वाचा, अठोट सबै पूरा भइदिए मानवले जीवनमा अपूर्णता अनि असफलताको अनुभव पनि कसरी गर्थे होला र !
उनले देवकोटाबारे पनि लेखे । समबारे लेखिएको कृतिले त साझा पुरस्कार नै पायो । तर, लेखनाथबारेको टिपोट हरायो । हरायो पनि के भन्नु ! तुरुन्तै फर्काइदिने वाचा गरेर लगेका पीएचडी शोधार्थीले उनको टिपोट ल्याइदिएनन् । त्यसै कारण उनले लेखनाथलाई खुसी पार्न गरेको वाचा हरायो, अब त तारानाथ शर्मा नै हराए ।
उनले कविशिरोमणि लेखनाथ पौड्यालसँग गरेको वाचाबारे अनि आफूले पूरा गर्न नसकेको कारणबारे नौ वर्षअघि यसरी सुनाएका थिए-
मैले २००९ सालमै कविशिरोमणि लेखनाथ पौड्यालको बारेमा पनि पुस्तक लेख्ने अठोट गरेको थिएँ । उनका छोरा अनन्त मेरा साथी थिए । उनलाई बुबासँग भेटाइमागेँ । तर, कविशिरोमणि बिरामी भएका कारण समय पाउन सकिनँ । एकदिन अनन्तलाई नभनी उनको घर गएँ ।
सुनेँ, लेखनाथ माथिल्लो तलामा खोकिरहेका । घरका अरुसँग आफ्नो परिचय दिएर कविजीको दर्शन गर्न आएको बताएँ । कविजीले मेरो कुरा माथिबाट सुनिरहेका रहेछन् । ‘को हो ?’ माथिबाटै भने उनले र माथि बोलाए । म गएँ । खाटमा सुतिरहेका कविजी नराम्रोसँग रोए ।
केदारमान व्यथितबारे लेखेर कृष्णचन्द्रसिंह प्रधानले मदन पुरस्कार पाएका थिए । कविजीलाई पनि आफू बेवास्तामा परेकोमा निकै चित्त दुखेको रहेछ । मैले भनेँ, ‘म लेख्छु कविज्यू ।’
उनका आँखा रसाए र भने, ‘म जन्मेको सार हुने भयो बाबु ।’ त्यसपछि लेखनाथका पुराना कृति लिएर म फर्कँे । तीन चार दिन लगाएर कविजीसँग मैले कुराकानी पनि सकें । मैले कुराकानी गरेको थाहा पाएर एकजना विद्यार्थीले पिएचडीका लागि सहयोग माग्न आए । फोटोकपी गर्छु भनेर लेखनाथका सबै दस्तावेज लगे । तर, आजसम्म फिर्ता गरेका छैनन् । कतिपट मागें, दिन्छु भन्छन्, तर, फिर्ता गरेनन् । अझै पनि मागिरहेकै छु । मैले कविशिरोमणि पौड्यालको जन्मको सार पूरा गर्ने ऋण अझै चुक्ता गरेको छैन ।
०००
देवकोटा, सम र लेखनाथ आजको पुस्ताका लागि किम्बदन्ती भइसकेका छन् । हुन त यथार्थ चरित्रका पात्रहरू इतिहासको परिधिभित्र मात्र सीमित हुन सक्दैनन् । किम्बदन्तीको सहारामा फैलिन्छन् । देवकोटा कोट फुकालेर माग्नेलाई दिन्थे रे । लेखनाथ रुखको फेदमा बसेर लेख्थे रे । यी आजको पुस्ताका लागि किम्बदन्ती हुन् ।
नेपाली साहित्यको आजको पुस्ता र किम्बदन्तीबीचको पातलो सीमारेखा थिए तारानाथ । उनले त्यसबेलाको समयलाई अनुभूतिको तीब्रतामा कति उतार्न सके बेग्लै कुरा हो । धरणीधर कोइरालाको आँगनमा बाटो पहिल्याउन उभिएका देवकोटा, सम र लेखनाथलाई बाटो देखाएका जीवित पात्र थिए तारानाथ, जुन आजको पुस्ताका लागि पनि उपलब्ध थिए । अब उनी उपलब्ध हुँदैनन् । किनकि उनको शरीर हामीसँग छैन अर्थात्, उनी अब रहेनन् ।
त्यो भेटको सुरूआतमै तारानाथले महाकवि लक्ष्मीप्रसाद देवकोटासँगको सामीप्यताको चर्चा गरेका थिए । जहाँ कक्षा पढ्ने किशोरको साहित्यप्रतिको मोह र नेपाली साहित्यका धु्रवताराबीचको मिठो संवादको प्रसंग थियो । सायद त्यही प्रेरणाले नेपाली साहित्यमा नयाँ आयामको बहस चलाउन सके तारानाथले ।
उनले महाकवि लक्ष्मीप्रसाद देवकोटासँगको पहिलो भेट अनि सामीप्यताको चर्चा सुनाएका थिए-
२००८ सालको सुरूतिर दार्जलिङमा नेपाली साहित्यको प्रभाव राम्रो थियो । समय समयमा साहित्यक सम्मेलन भइरहन्थ्यो । मैले पनि ‘इलाम’ निबन्ध साथी पत्रिकामा छपाइसकेको थिएँ । कविता, निवन्ध लेखनमा चासो बढ्न थालिसकेको थियो । हामी साहित्यिक भित्तेपत्रिका निकाल्ने गथ्र्यौँ । नेपाली भाषा प्रचारक संघले साहित्य सम्मेलनको आयोजना गरेको थियो । कार्यक्रमका अगुवा नरेन्द्रनाथ बास्तोला थिए ।
त्यो कार्यक्रममा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम र लेखनाथ पौडेल पनि आउने भन्ने थाहा पाएँ । म खर्साङको क्रिश्चियन स्कूलमा पढेको थिएँ । फादरले बिनाकारण होस्टलबाट निस्केको थाहा पायो भने कारबाही गर्थ्यो । मलाई भने देवकोटासँग कतिबेला भेटौँ भइरहेको थियो । होस्टलको रुम पार्टनरलाई फादरले सोध्यो भने इलामबाट आफन्त बिरामी भएर ल्याएकोले दार्जलिङ गयो भनिदिनू भनेर लगाएँ र बिहानै उठेर लागेँ दार्जिलिङ ।
छ आनाको टिकट काटेर बिहान छ बजे खर्साङबाट हिँडेको थिएँ, साढे छ बजे दार्जलिङ पुगेँ । सरासर, बास्तोलाको घरतिर गएँ, देवकोटा त्यही बसेको थाहा पाएको थिएँ । तर, आँगनमा कोही थिएनन् । सुनसान घर, मान्छे कोही नदेख्दा एकमनले म भूलमा परेछु झैं पनि भयो । आँगनमा पुगेर एकैछिन अडिएँ, यसो माथि हेरेको तलामा खासखुस गरेको सुनेँ । आँगनबाटै भर्याङ थियो । म विरालो चालमा लुसुलुसु भर्याङ चढेँ । माथि पुग्न नभ्याउँदै भिमबहादुर ओर्लिए । मलाई देखेर हप्काएको शैलीमा भने, ‘किन आ’को एकाबिहानै ?’ भनेँ, ‘महाकविको दर्शन गर्न ।’
‘महाकविलाई त्यसै कहाँ भेट्न पाइन्छ ?’ भीमबहादुरसँग मेरो कुरा नसकिँदै मेरा देवता ओर्लिए । ‘कसलाई खोजेको ?’ महाकविले नै सोधेपछि मलाई अलि शक्ति आयो । भनेँ, ‘महाकविलाई खोजेको, दर्शन गरुँ भनेर ।’ जवाफमा मैले प्रयोग गरेको दर्शन शब्दले म दार्जलिङको होइन भनेर महाकविले ठम्याए । भने, ‘ओहो बाबु, तिमी त यहाँका होइनौ ।’
काँधमा तौलिया राखेर हातमा ब्रस र एक लोटा पानी बोकेर ओर्लिएका थिए देवकोटा । उहाँको हातको लोटा समाउँदै इलाम घर बताएँ । कहाँ पढ्ने, अहिले कहाँ बस्दै गरेको सोध्न थाले । म बताउँदै थिएँ, भिमबहादुरले फेरी हकारे, ‘महाकवि ज्यू, सिन्चेल लेक जान ढिला भइसक्यो । आधा घण्टादेखि सबैजनाले हजुरलाई नै कुरिरहेका छन् ।’
ऊतिर फर्केर देवकोटाले भने- ‘ज्ञवाली जी, तपाईंलाई हतार छ भने जानुस्, म भोलिको नेपालसँग कुरा गर्छु ।’ मलाई अँगालो मार्दै पकेटमा भएको कागजतिर हेरेर देवकोटाले सोधे- ‘तपाईं पनि कविता लेख्नुहुन्छ हो ?’ मैले हो भनेर कापी निकालेँ, देवकोटाले मेरो कापी हातमा लिए अनि लेखे-
‘कविता सविता मेरी ल, विता ल, विता भनेँ
त्यसैको प्रेमले जल्दै आगो आँशु दुवै बनेँ ।’
लक्ष्मीप्रसाद देवकोटा, १२ मार्च १९५४ ।
लेखेपछि उनले हरफको व्याख्या गरे ‘नदीजस्तो छङछङ बग्ने कविताले मलाई डुबायो । त्यसको प्रेमले वेदना र पीडा पाएँ । त्यसैले बाबु कविता नलेख्नू ।’ मलाई अझै भन्न मन लागेको थियो भनेँ, ‘म कविता मात्रै होइन, तपाईंले लेख्नुभएको निन्द्राजस्तै निबन्ध पनि लेख्छु ।’
देवकोटा मलाई अर्कै बाटो देखाउन लागे, ‘ल ठिक छ त्यसो भए । तर, तिमी भोलि गएर इन्जिनियर बन्नुपर्छ, हेर, हाम्रो देशमा खोला छन्, साँघु कतै छैन । बर्खामा एक गाउँबाट अर्कोमा जान मिल्दैन । स्कूल बनेका छैनन् । तिमीले त इन्जिनियर बन्नुपर्छ ।’ यति भनेर उनी गए म लाटिएर देवकोटा गएको हेरिरहें ।
संयोगले महाकवि भएको साहित्य सम्मेलनमा म पनि स्वयंसेवकको रुपमा सहभागी हुने मौका पाएँ । तर, कार्यक्रममा व्यक्तिगत कुरा गर्ने मौका मिलेन । कार्यक्रम सकिएपछि भोलिपल्ट बिहान उनीहरू बसेको होटेल थाहा पाएर गएँ । खाना खाने बेला रहेछ । देवकोटा र सम भुइँमा राडी ओच्छ्याएर खाना खाइरहेका । लेखनाथ पौड्याल चाँही धोती फेरेर कसैलाई नछोइ कुर्सीमा बसेर खाँदै थिए । म हेरिरहेको थिएँ, महाकविको थालमा भात सकियो, तैपनि उनी थाल चाटिरहेका ।
उनको चाला देखेर समले भने ‘महाकविज्यू, खानेकुरा सकियो ।’ जवाफमा देवकोटा बोले, ‘यस्तो मिठो फेरि कहाँ पाइन्छ ।’ उनी अझै थाल चाटिरहेका थिए । म भने तीनजना साहित्यकारहरूको त्यो व्यवहारबाट प्रभावित भएँ । त्यतिबेला मनमनै अठोट गरेँ, ‘तीनैजनाको बारेमा एउटा-एउटा किताब लेखेर मात्रै मर्छु ।’
०००
आजको साहित्यको जीवन कण्ठस्थ (घाँटीमा मात्रै सीमित) मात्रै छ । एकपटक पढेपछि त्यसको गहिराइ भेटिन्छ । अथवा सतहभन्दा केही मात्रै भित्र छिरेका हुन्छन् । तर, हिजोको त्यो सिर्जनाकालमा साहित्यको जीवन हृदयस्थ ९मुटुमा गढ्ने खालको० हुन्थ्यो । त्यो हृदयको गहिराइमा प्रवेश गर्थ्यो, त्यसैले त्यसको प्रभाव आज पनि छ । त्यसले उत्पन्न गर्ने भावनात्मक उद्वेलन अझ पछिल्लो कालसम्म बाँच्ने छ । जुन गहिराइमा देवकोटा, सम अनि पौड्यालहरू बाँचे । उनीहरूका जिवन्त सिर्जनाले तारानाथहरूलाई साहित्यको पदचाप पछ्याउन प्रेरित गरिरह्यो ।
तिनै हृदयस्थ सिर्जनामध्ये सम र समका कृति पनि हुन् । जसले तारानाथ शर्मालाई साझा पुरस्कार दिलायो । अझ नजिक त समसँग बनायो । उनले बालकृष्ण समसँगको निकटता पनि बाँडेका थिए-
काठमाडौं आएपछि केही समालोचना लेख्न थालिसकेको थिएँ । त्यही बेला बालकृष्ण समको चिसो चुह्लोमाथि ‘चिसो चुह्लो, झुसिल डकार’ शीर्षकमा समालोचना लेखें । समले त्यसलाई प्रशंसा गरे, ‘तपाईँले एकदमै सही समालोचना गर्नुभयो । अब म पाठकको स्तर हेरेर मात्रै लेख्छु ।’ मैले उनको बारेमा पुस्तक निकाल्ने अठोट विद्यार्थी अवस्थामै गरेको पनि बताएँ । त्यसपछि समले घर बोलाए । लगातार चार महिनाजति उनको घर गएँ अनि ‘सम र समका कृति’लेखेँ । पछि त्यही कृतिले नै २०२९ सालमा साझा पुरस्कार पाएँ ।
०००
अस्तिसम्म तारानाथ शर्मा वर्तमान थिए । आज, केही पूरा र केही अधुरा वाचासहित विगत भइसके । तर, उनले ल्याएका झर्रो लेखन अभ्यास, उनले नेपाली समालोचनामा दिएका योगदान र साहित्यको दरिलो सिर्जनात्मक झंकारले अबको पुस्तालाई झक्झक्याइ रहने छन् ।
नेपाली समाजमा ‘एन्टीकरेन्ट’ भएर स्थापित हुन निकै कठिन छ । अझ साहित्य वाहीवाही गरिदिनेबाट स्थापित हुने ट्रेण्ड सेट भइसकेको छ ।
तारानाथ शर्माले आफ्नो समय आलोचनालाई सिर्जनाले चिर्दै नेपाली साहित्यमा नयाँ प्रयोग स्थापित गरिदिए । आज हामीमाझ छैनन् । तर, उनले दिएका यिनै फरक सिर्जनाका साथ सामीसँगै जनजीवनमा छन् ।