वीरेन्द्रनगरको मेयरका लागि एमालेका पाँच नेताको तयारी, थाले लबिङ – Nepal Press

वीरेन्द्रनगरको मेयरका लागि एमालेका पाँच नेताको तयारी, थाले लबिङ

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरन्द्रनगर नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि स्थानीय नेताहरुले तयारी थालेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारका लागि नेताहरुले लबिङसमेत थालेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सुर्खेत सहइन्चार्ज तथा नगर उपप्रमुख मोहनमाया ढकालले आफू नगरप्रमुखमा उम्मेदवारी दिने बताइरहेकी छिन् । आफू अघिल्लोपटक उपप्रमुख भएको बताउँदै पार्टीले आवश्यक ठानेको खण्डमा नगरप्रमुखका लागि आफू तयार भएर बसेको उनले कार्यकर्तालाई बताउँदै आइरहेकी छिन् ।

नेकपा एमाले सुर्खेतका उपाध्यक्ष कुलमणि देवकोटाले पनि मेयर पदमा उठ्ने आकांक्षा व्यक्त गर्दै आइरहेका छन् । २०७४ सालको निर्वाचनमा आफूले पद त्याग गरेको भन्दै यो पटक पार्टीले आफूलाई नै उम्मेदवार बनाउने भन्दै उनले लबिङ गर्न थालेका छन् । उनी हाल सुर्खेत उपत्यका खानेपानी संस्थाको अध्यक्षसमेत छन् ।

यस्तै, अर्का नगरप्रमुखका आकांक्षीको रुपमा हरिहरनाथ योगी चर्चामा छन् । उनी सहकारी अभियान्तासमेत हुन् भने पार्टीले आफूलाई टिकट दिएको खण्डमा चुनाव सहजै जित्न सकिने भन्दै उनले लबिङ सुरु गरेका हुन् ।

यस्तै नेकपा माओवादीबाट एकता प्रक्रियामा आएका गंगाराम तिमिल्सेना हाल एमाले सुर्खेतको प्रचार विभाग प्रमुख समेत छन् । उनले पनि टिकट आफूले पाउनुपर्ने माग गर्दै आइरहेका छन् ।

हाल नेकपा एमाले वीरेन्द्रनगर नगर कमिटीका अध्यक्ष निलकण्ठ खनालले पनि नगरप्रमुखमा दाबी गर्ने तयारी गरेका छन् । हाल वीरेन्द्रनगर वडा नं. ४ को अध्यक्ष रहेको खनालले आफू नगर कमिटी अध्यक्ष भएका कारण स्वभाविक रुपमा नगरप्रमुखको दावेदार रहेको आफू निकटस्थसँग बताउँदै आएका छन् ।

२०७४ सालको चुनावमा कसले कति मत पाएका थिए ?

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट नगरप्रमुखको उम्मेदवार बनेका देवकुमार सुवेदीले १४ हजार चार सय पाँच मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्दी एमालेका बालाराम शर्माले १३ हजार ८९९ मत पाएका थिए ।

नेकपा माओवादीबाट उम्मेदवार बनेका रत्न गाहाले पाँच हजार दुई सय ३७ मत पाएका थिए ।

उपप्रमुखको नतिजामा भने फेरबदल भएको थियो । एमालेका मोहनमाया ढकाल १६ हजार ६८ मत ल्याएर विजयी बनेकी थिइन् भने कांग्रेका जानकी सिंहले १४ हजार २६ मत ल्याइन् । माओवादीबाट हरिमाया शर्मा गौतमले चार हजार ६८९ मत ल्याएकी थिइन् ।

वीरेन्द्रनगर नगरपालिकामा १६ वटा वडा रहेकोमा नेकपा माओवादीले एक वडा मात्रै जित्न सफल भएको थियो । १६ मध्ये माओवादीले वडा नं १४ मा मात्रै जित हासिल गरेको थियो । १६ वटा वडामध्ये एमालेले ९ वटा र काग्रेसले ६ वटा वडाध्यक्ष जितेका थिए ।

पछिल्लो समयमा एमालेमा आएको विभाजनको असर वीरेन्द्रनगरमा पनि देखिएको छ । एमालेका ९ वडाध्यक्षमध्ये तीनजना माधव नेपाल नेतृत्वको पार्टीमा लागेका छन् । यो स्थितिमा एमाले र का.ग्रेसका वडाध्यक्षहरु ६–६ जना कायम छन् । नेकपा एकीकृतका ३ र र माओवादीका एकजना वडाध्यक्ष छन् ।

एमालेबाट निर्वाचित नौ वडाध्यक्षमध्ये वडा नं.१२ का वडाअध्यक्ष लोकप्रसाद चालिसे, १० का अध्यक्ष रत्नबहादुर बुढा र ८ वडाका अध्यक्ष थमप्रसाद गौतम अहिले एकीकृत समाजवादीमा लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर