उपत्यकामा फेरि थुप्रियो फोहोर (तस्बिरहरू)
काठमाडौं । काठमाडौँ उपत्यकाको फोहोर ९ दिनसम्म उठ्न नसक्दा सहरका चोक दुर्गन्धित भएको छ । स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि उपत्यकाको फोहोर उठाउन सकिएको छैन ।
हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहोर उठाउन नसकिएको हो ।
९ दिनदेखि फोहर नउठ्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ । महानगरपालिकाले भने सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयवासीको अवरोध हटाइदिन माग गरेको छ ।
अठार स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालिन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ ।
काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । उक्त स्थान पनि भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो ।
हेर्नुस उपत्यकामा थुप्रिएका फोहोर (तस्बिरहरू)
तस्बिरहरु: गौरव पाडेलै